|

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाका महिला स्वास्थ्य कर्मचारी अस्मिता धामी मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयले दुईवटा टोली परिचालन गरेको छ।

शनिबार परशुराम नगरपालिका—८ जमरानी आधारभूत स्वास्थ्य इकाइ केन्द्रमा कार्यरत २६ वर्षीया धामी मृत भेटिएकी थिइन्।

घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाले जानकारी दिए।

‘घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी)को टोली खटाइएको हो। दुवै टोली डडेल्धुरातर्फ गएका छन्,’ थापाले भने।

उनले धामी मृत अवस्थामा भेटिएकोले हत्या भएको हो वा होइन भनेर अहिले नै भन्न नसकिने बताए। शव पोष्टमार्टम गरेपछि मृत्युको रहस्य बाहिर आउने उनको भनाइ छ। उनले भने, ‘शरिर बाहिर छोट–पटक देखिएको छैन। भित्र के छ भन्ने कुरा पोष्टमार्टम रिपोर्टपछि थाहा हुन्छ।’

धामी परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा मृत फेला परेकी थिइन्। उनको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले जिकिर गरेका छन्।

उनको शनिबार चार दिनपछि हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

अस्मिता असार २ मा कार्यालयबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल हिँडेकी थिइन्। उनको शरिरभरि ठूल–ठूला नीलडाम रहेको, नाक र बंगारा भाँचिएको वडा नम्बर ८ का अध्यक्ष गोविन्द बोहोराले बताए।

‘नाकको डाँडी पुरै भाँचिएको छ भने एकापट्टिको बांगारा भाँचिएको छ, घटनाको प्रकृति हेर्दा वीभत्स हत्या नै हो,’ बोहराले भने, ‘घटनाको सत्यतथ्य छानविन हुनुपर्छ।’

​उनको शव मुलबाटोदेखि ६० देखि ७० मिटरको दूरीमा फेला परेको छ। त्यसको केही तल उनले बोकेको कोभिड भ्याक्सिन बक्स र केही माथि चप्पल फेला परेको घटना स्थल पुगेका पत्रकार रमेश धामीले बताए। उनीसँग भएको मोबाइल भने भेटिएको छैन।

दुई छोरीकी आमा अस्मिता दिनहुँ घरबाटै कार्यालय आउने भए पनि कोभिडको खोप लगाउने अभियानका कारण एक दिन कार्यालय नजिकैको आफन्तको घरमा बस्ने र दोस्रो दिन छोरीका लागि भए पनि घर पुग्ने गर्थिन्।

सधैं दोस्रो दिन जसरी पनि घर पुग्ने अस्मिता दोस्रो दिनसम्म पनि घर नपुगेपछि घरपरिवारले खोजी गरेका थिए। सुरुमा कार्यालयमा फोन गर्दा कार्यालयका प्रमुखले अघिल्लो दिन जोगबुडा अस्पताल गएको र दोस्रो दिन कार्यालय नआएको बताएका थिए।

‘त्यसपछि जोगबुडा अस्पताल र आफन्तहरुकोमा खोजी भयो र त्यसै क्रममा मलाई पनि फोन आयो,’ वडा अध्यक्ष बोहराले भने, ‘दोस्रो दिनको कार्यालय समयपछि आफन्तहरूकोमा खोजी गरियो।’

तेस्रो दिन गाँउबाट टोली निर्माण गरी खोजी सुरु गरिएको र बाटोमा कहीं कतै नदेखेपछि चौथो दिन प्रहरीलाई समेत खोजीका लागि अनुरोध गरेर सीमाचौकी तातापानी र जोगबुडा ईलाका प्रहरी कार्यालयको टोली समेत खोजी गर्दै गर्दा स्थानीयको टोलीले हट्वानी सामुदायिक वनमा शव फेला पारेको अध्यक्ष बोहरा बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.