|

जनकपुरधाम : जनकपुधामस्थित प्रादेशिक अस्पतालले एमआरआई खरिदको लागि आह्वान गरेको टेन्डर प्रक्रिया विवादमा परेको छ।

अस्पतालले जेठ ७ गते आह्वान गरेको बोलपत्रमा राखिएको स्पेसिफिकेसन एउटा कम्पनीलाई मात्र मिल्ने गरि प्रकाशित गरिएपछि विवादित बनेको हो। एक सप्लायर्सले आर्थिक चलखेल गरी अस्पताल प्रशासनले प्रकाशन गरेको बोलपत्र आह्वानमा एक मात्र कम्पनी क्वालिफाइड हुने गरि स्पेसिफिकेसन राखिएको आरोप लगाए।

उनले भने,‘अस्पतालले देखावटी रूपमा बोलपत्र आह्वान गरेको छ। सबै सेटिङ पहिले नै मिलाई सकिएको छ।’ अस्पताल र सामाजिक विकास मन्त्रालयले प्रकाशित बोलपत्र अनुसार फिलिप्सको इन्डिपिन्डेन्ट इन्जिनियाएम्बिसन खरिद गर्न मिल्ने गरी सर्त राखिएको छ। अस्पतालले बोलपत्रमा न्यूनतम् आरएफ च्यानल ४० वाइन्डिपिडेन्ट सर्त राखेको छ ।

यस्तो सर्त राखेर खरिद प्रतिस्पर्धामा अन्य कम्पनीलाई सहभागी नै गर्न नदिने चलखेल भएको सप्लायर्सहरूको आरोप छ । एउटा कम्पनीसँग मेल खाने शब्द च्यानेल इन्डेपेन्डेन्ट टर्म फिलिप्स कम्पनीको हो । च्यानेल ३२ र यसभन्दा बढी राखेको भए सिमेन्स कम्पनी र जिई कम्पनीले प्रतिस्पर्धा गर्ने पाउँथे ।

सिमेन्सको ३२ च्यानल र जिइको ३६ च्यानल उपलब्ध हुन सक्ने एमआरआई उपकरणलाई छनोटको प्रक्रियामा सहभागी नगराउन आरएफ च्यानल ४० वाइन्डिपिडेन्ट सर्त राखिएको आरेप सप्लायर्सहरुको छन्। एमआरआई खरिदका लागि करिब १७ करोडमा बोलपत्र आह्वान गरिएको छ।

बोलपत्रमा उल्लेख भएको सर्तअनुसार खरिद हुने फिलिप्सको इन्डिपिडेन्ट इन्जिनियाएम्बिसन करिब १४ करोड रुपैयाँ सम्म उपलब्ध हुन सक्ने प्राविधिकको दाबी छ । १७ करोड बजेटमध्ये अन्य रकम बाँडफाँट गर्ने तयारी भएको अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले बताए ।

स्रोतका अनुसार सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा सुमित साहले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मिलाएर फिलिप्स कम्पनिको रिफर्मिस (प्रयोगमा आएको पुरानालाई नयाँ बनाएर) एमआरआई खरिद गर्न सेटिङ मिलाएका छन् ।

नयाँ उपकरणलाई पर्ने मूल्यको ७० प्रतिशतमात्रै दिएर अन्य रकम मन्त्रीका छोरा साहले गोलमाल गर्ने प्राविधिकलाई प्रलोभनमा पारेर एमआरआई खरिद गर्न लागेको आरोप स्रोतको छ । सुमित साहले यसमा आफ्नो कुनै किसिमको संलग्नता रहेको दाबी गरेका छन्। उनले भने,‘खरिद प्रक्रियामा मेरो कुनै संलग्नता छैन, ममाथि लगाइएको आरोप निराधार र गलत हो।’

उनले एमआरआई उपकरण खरिद हुने कुरा आफूलाई थाहा भएको  तर अन्य विस्तृत विवरण अस्पतालबाट बुझ्नु पर्ने बताए।  उनले खरिद प्रक्रियाबारे र बोलपत्रको सर्तबारे त्यस्तो खासै केहि जानकारी नभएको बताउँदै उनले भने,‘खरिद प्रक्रियामा मेरो नाम जोडेर बदनामी गराउन खोजिएको हो। यस मेरो कुनै संलग्नता छैन।’

जेठ २४ गते बोलपत्रको प्रिविड बैठकमा सप्लायर्सले उठाएको प्रश्नको जवाफै नदिई अस्पताल प्रशासनले खरिद प्रक्रिया अगाडि बढाएको हो । खरिद प्रक्रिया विवादास्पद भएको भन्दै सप्लायर्सहरूले प्रक्रिया सच्याएर बोलपत्रको म्याद थप गर्न माग गरेका छन्।

सप्लायर्सहरूले उठाएको प्रश्नमाथि छलफल गर्न बायोमेडिकल इन्जिनियरलाई जिम्मेवारी दिइएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.प्रमोद यादवले बताए । उनले भने,‘तीन कम्पनी फिलिप्स, सिमेन्स र जिईसँग छलफल गरी आवश्यक मापदण्ड अनुसारको उपकरण खरिद गर्ने तयारी भइरहेको छ ।’ 

मन्त्रालयका उपसचिव ठूलोबाबु दाहालले प्रादेशिक अस्पताललाई एमआरआई खरिद गर्न अनुमति दिएको बताएका छन्। उनले गत आर्थिक वर्षकै बजेटमा लागत स्टिमेटसहित अस्पतालले मन्त्रालयलाई जानकारी गराएपछि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको राय, सुझाव माग गरेर खरिद प्रक्रिया अघि बढाएको बताए।

उनले भने,‘खरिदको सम्पूर्ण जिम्मेवारी अस्पताललाई दिएको र प्राविधिक कुरा मन्त्रालयलाई जानकारी पनि हुँदैन, यसमा प्राविधिकहरूले पनि सहमति जनाएको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.