|

काठमाडौं :  नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा हुने भनिएको छ। पटक-पटक महाधिवेशनको मिति सार्दै आएको महाधिवेशन यो भदौमा गर्नैपर्ने बाध्यता कांग्रेसलाई छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पुन: सभापतिमा उम्मेदवार घोषणा गरिसकेका छन्। सभापतिमा उम्मेदवार घोषणा गरेसँगै देउवाले सक्रियता बढाएका छन्। महाधिवेशनलाई लक्ष्य गर्दै नेताहरूसँग उनले भेटघाट पनि तीव्र पारेका छन्। 

देउवाले आइतबार मात्र बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए। सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश नेतासँग छलफल गरेका थिए। 

देउवा पक्षकै मानिएका उपसभापति विमलेन्द्र निधि पनि सभापतिमा आकांक्षी देखिएका छन्। देउवाले आफूलाई सभापतिमा जिताउन केही दिनअघि निधिले बताएका थिए। 

महाधिवेशन नजिकिँदै गर्दा निधिले भेटघाट तीव्र पारेका छन्। शशांक कोइराला, प्रकाशमान सिंह र निधिबीच सोमबार भेटघाट भएको थियो। आगामी महाधिवेशनका लागि कोइराला, सिंह र निधि सभापतिमा दाबेदारी प्रस्तुत गरिसकेका छन्। निधिको उम्मेदवारीसँगै कांग्रेस संस्थापन पक्षमा साझा उम्मेदवार छनोट थप जटिल हुने देखिएको छ।

संस्थापन इतरमा सकस

संस्थापनमा जस्तै कांग्रेसमा अर्को समूहमा पनि सभापति आकांक्षीको संख्या कम छैन। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह शेखर कोइराला, सुजाता कोइरालालगायत नेता कांग्रेसको नेतृत्व आफ्नो हातमा पार्ने कोसिसमा लागेका छन्।

वरिष्ठ नेता पौडेल पौडेल अन्तिम समयसम्म देउवासँग टक्कर लिने मनसायमा छन्। नेपालको बद्लिँदो राजनीतिक अवस्था र पहिले कांग्रेसभित्रका केहि समस्या समाधान भएपछि आफूले उम्मेदवारी दिने पौडेलले बताए। 

देउवाको सक्रियता बढेपनि पौडेलले भने सक्रियता देखाइसकेका छैनन्। उनले  पहिले सक्रिय सदस्यताको काम सक्ने र कांग्रेसका कुनै पनि इमान्दार कार्यकर्ता अन्यायमा नपरून भन्ने पहिलो प्राथमिकता रहेको बताए। अहिले चुनावको सुनिश्चितता लगायत आन्तरिक समस्या समाधानमा आफू लागिरहेको पौडेलले जानकारी दिए।

'संक्रिय सदस्य सकिएपछि जब वडाबाट चुनाव सुरू हुन्छ। त्यसपछि अधिवेशनका लागि म संक्रिय हुन्छु। साउन १२ बाट बल्ल संक्रिय हुने मेरो योजना छ', पौडेलले भने।

यता कोइराला परिवारबाट शेखर तथा शशांकले पनि सभापतिका लागि तयारी गरिरहेका छन्। शेखर कोइरालाको देश दौडाहालाई पनि कतिपयले सभापतिको दौडका रूपमा लिएका छन्। अहिले नेपाली कांग्रेस खस्किनुमा नेतृत्व मुख्य कारक रहेको उनको बुझाइ छ।

उता कोइराला परिवारबाट सुजाता कोइरालाले सभापतिका लागि आफू सक्षम रहेको बताइसकेकी छन्। सभापतिका लागि आफूले पनि उम्मेदवारी दिने प्रकाशमान सिंहले पनि बताएका छन्। युवापुस्ताका नेता कल्याण गुरूङले परिवर्तनका लागि सभापति पदमा लड्न लागेको बताए। ​

सिटौला भने मौन

गत महाधिवेशनमा सभापतिका उठेका नेता कृष्ण सिटाैला अहिले भने मौन देखिएका छन्। १३ औं महाधिवेशनमा देउवा, पौडेल र सिटौला प्रमुख उम्मेदवारी दिए पनि पछि उनले देउवालाई साथ दिएका थिए। देउवाले १८ सय २२ मत प्राप्त गरेका थिए।  भने पौडेलले १२ सय ९६ मत ल्याएका थिए। मतदानमा देउवाले पौडेललाई ५ सय २६ मतले हराएका थिए।

'लडाइँ' दुई समूहको

गत फागुनमा हुने भनिएको महाधिवेशनमा करिब १४ जनाभन्दा नेता सभापतिका आकांक्षी देखिएका थिए। तर भदाैमा हुन लागेको महाधिवेशनमा भने सभापति आकांक्षी घटेका छन्।  महाधिवेशनमा भावी सभापतिका लागि सभापतिको आकांक्षीका रूपमा आधा दर्जन भन्दा बढी देखिएका छन्।

अहिले देखिएका सबै आकांक्षी अन्तिम समयसम्म उम्मेदवार हुने सम्भावना कम रहने विगतका घटनाले देखाएका छ। सभापतिका लागि उठ्ने कतिपय नेताको मनसाय नेतृत्व लिनेभन्दा पनि बार्गेनिङको लडाइँजस्तो देखिएको छ। कतिपयले अर्को महाधिवेशनमा आफ्नो उपस्थिति बलियो बनाउन पनि यो महाधिवेशनलाई हतियार बनाएका देखिन्छ।

अबको सभापति को भन्ने विषयमा दुई खेमाका नेताको लडाइँ भन्दा पनि अर्को पुस्तालाई सभापति हस्तान्तरण गर्दा किचलो कम हुनेमा पनि दुवै समूहबीच छलफल भइरहेको नेताहरूको दाबी छ।

'नेतृत्व हात पार्न समीकरणको खेल चलिरहेको छ, हामी चाहन्छौं। सभापति देउवा र वरिष्ठ नेता पौडेलले सभापतिको नेतृत्व हस्तान्तरण कुनै अर्को साझा उम्मेदवारलाई दिउन्', एक नेताले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.