सत्ता पक्ष र विपक्षी दलहरूको दूरी बढ्दै

|

धनकुटा : देशका अधिकांश स्थानीय तहले असार १० गते बजेट तथा त्योभन्दा अगाडि नीति तथा कार्यक्रम ल्याएका छन्। त्यसै क्रममा धनकुटाका स्थानीय तहले पनि नीति तथा कार्यक्रम र बजेट ल्याएका छन्। सो क्रममा धनकुटाका अधिकांश स्थानीय तहमा बहुमत र अल्पमतको खेल भएको छ।

बहुमतवालाले पेलेर जाने रणनीति बनाए भने अल्पमतमा रहेकाले बहिष्‍कार गरेका छन्। यसै क्रममा धनकुटाको पाख्रिवास नगरपालिकामा भने तोडफोडसम्म हुन पुगेको छ। तोडफोड भएपछि त्यसको जिम्मा एकले अर्को पक्षले लिनुपर्ने बताउँदै आएका छन्।

धनकुटाका ७ वटै स्थानीय तहमा एमालेको ओली पक्षको एक्लै बहुमत रहेको छ भने अझ पाख्रिबास नगरपालिकामा एमालेको ओली पक्षको ५१ जनप्रतिनिधि र माधव नेपाल पक्षका १ जना जनप्रतिनिधी रहेका छन। अरु दलका कुनै जनप्रतिनिधि छैनन्।

एमालेले ‘क्लिन स्विप’ गरेको पाख्रिबास नगरपालिकामा भएको विवादले भने उग्र रूप लिएको छ। नगरपालिकालको हलभित्र आठौं नगरसभा चलिरहँदा वडा नं. ४ का वडावासीहरूले आफ्नो वडाको बजेट कटौती गरी नगरप्रमुख वृषबहादुर राईले एकलौटी गर्न खोजेको भन्दै विरोध प्रदर्शनमा उत्रिएपछि भएको विवादले अहिले राजनीतिक दलहरूबीच निकै खटपट भएको छ।

दलहरूका ध्रुवीकरण बढ्दै, प्रतिकार गर्ने एमाले ओली पक्षको चेतावनी

पाख्रिबासमा भएको तोडफोडपछि राजनीतिक दलहरूबीच ध्रुवीकरण बढेको छ। नेकपा एमालेले सो घटनापछि राजनीतिक र कानुनी रुपमै प्रतिकार गर्ने चेतावनी दिएको छ भने नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतले एमालेले सरकारी निकाय र एमालेले प्रतिकारमा उत्रिएपछि नहट्ने चेतावनी दिएका छन्। यसले गर्दा धनकुटामा बजेटकै विषयलाई लिएर राजनीतिक दलहरूमा हुन थालेको टकरावले जिल्लामा विकास निर्माणको मात्रै होइन, सुरक्षाको चुनौती पनि थपिदिएको छ।

नगरपालिकामा भएको तोडफोडको विरोधमा शुक्रबार नेकपा एमालेले धनकुटामा पत्रकार सम्मेलन आयोजना गरी पाख्रिवास नगरपालिकाको नगरसभामा भएको हुलदंगा र तोडफोडको घटनालाई कानुनी र राजनीतिक हिसाबले प्रतिवाद गर्ने चेतावनी दियो।

पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईले गुण्डागर्दी शैली देखाउनेहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्न पनि प्रशासनलाई आग्रह गरे भने भने नेपाली कांग्रेसलगायत दलले गुण्डागर्दी शैलीमा हुलहुज्जतका साथ नगरसभा बिथोल्ने, सभाहल तोडफोड गर्ने, कुर्सी टेवल भाँच्ने, सिसा फुटाउने, जनप्रतिनिधिमाथि हातपात गर्ने जस्तो जघन्य अपराध गरेकाले प्रतिवाद गर्ने चेतावनी दिए।

घटनाको कारक स्थानीय तह : विपक्षी दल

एमालेले प्रतिकार गर्ने चेतावनी दिएलगत्तै शुक्रबार नै पाख्रिबासमा भएको विपक्षी दलको पत्रकार सम्मेलनमा सरकारी तवरबाट प्रतिकार भए प्रतिवाद गर्ने बताएका थिए। नेपाली कांग्रेस धनकुटालगायत विपक्षी गठनबन्धनले पाख्रिवासका केही जनप्रतिनिधिहरूले गरेको स्थानीयलाई गरेको दुर्व्यवहार र हात हाल्नेसमेत गरी उत्तेजित बनाउन कार्यको सशक्त प्रतिरोध गर्ने बताएका थिए।

पाख्रिवासमा भएको सर्वदलीय भेलामा सत्ता पक्ष र प्रशासनले अन्याय र जबरस्ती गरे सशक्त प्रतिरोध गर्ने बताएका हुन्। उनीहरूले नगरप्रमुख वृषबहादुर राईसहितले ओली प्रवृत्ति देखाएका कारण सम्पूर्ण शक्ति लगाएर विरोधमा उत्रनेसमेत बताएका छन्।

नेपाली कांग्रेसका पाख्रिबास नगर सभापति प्रेम भण्डारी, नेकपा माओवादी केन्द्र पाख्रिबास नगर अध्यक्ष मुक्ति बजगाईं, नेकपा एमाले (नेपाल–खनाल) समूहका अध्यक्ष तथा वडा नं. ४ वडाध्यक्ष सोभित निरौला, जनता समाजवादी पार्टीका जितेन्द्र माङफुङलगायत नेताहरूले नगर प्रमुख वृषबहादुर राईले संघीयताको

मर्मविपरीत अलोकतान्त्रिक ढंगले वडाका बजेट व्यापक कटौती र चरम भ्रष्टाचार गरेको भण्डारफोर गर्दै जनतासमक्ष जाने बताएका थिए। पाख्रिवास नगरपालिकाका जनप्रतिनिधिहरूले नै गैरजिम्मेवार ढंगले हात हालेपछि स्वाभाविक रूपमा प्रतिकार भएको र अब फेरि त्यसलाई प्रतिशोध साँध्नेगरी सरकारी पक्षबाट कुनै कदम चालिए यसको कडा विरोध गर्दै सशक्त प्रतिरोध गर्ने उनीहरूले पत्रकार सम्मेलनमा बताएका थिए।

पाख्रिवास नगरपालिकामा भएको तोडफोडको जिम्मा स्वयं नगरपालिकाले लिनुपर्ने विपक्षी दलले बताएका छन्। नगरसभामा जनताका शान्तिपूर्ण मागलाई दबाउन खोज्दा सो परिस्थति आएको उनीहरूको भनाइ छ।

स्थानीय तहहरूले ल्याएका बजेटहरूमा पक्षपात पूर्ण योजनाहरू, विवादास्पद परियोजनाहरू, एकलौटी ढंगबाट गरिएका कार्यहरू तत्काल सच्याउनुपर्ने उनीहरूको भनाइ छ। जनताको भावनाविपरीत उठेका मागहरूलाई बुद्धिमतापूर्ण हिसाबले सम्बोधन गर्नुको सट्टा उल्टै गुण्डागर्दी धाकधम्की र छलछामको माध्यम अपनाउँदा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी पनि स्थानीय सरकारले लिनुपर्ने नेपाली कांग्रेस धनकुटाका सभापति अग्नि पौडेलले बताए।

बिहीबार नगरपालिकाको नगरसभा भइरहेका बेला वडाहरूमा जाने बजेट कटौती गरी नगरप्रमुखले एकलौटी गर्न खोजेको भन्दै स्थानीयले विरोध जनाएका थिए। सोही क्रममा हात हालाहालसमेत भएको थियो।

तोडफोड गर्नेलाई कारबाही र क्षतिपूर्ति माग

पाख्रिबास नगरपालिकाको आठौँ नगरसभामा आक्रमण गरी भौतिक सामग्री तोडफोड गर्नेहरूमाथि कारबाहीको माग गरिएको छ। शनिबार पाख्रिबास नगरपालिका र नेकपा एमाले पाख्रिबास नगर कमिटीले छुट्टाछुट्टै पत्रकार सम्मेलनमार्फत विज्ञप्ति जारी गरेर कारबाहीको माग गरेका छन्। नगरपालिकाले प्रमुख बृषबहादुर राईले पत्रकार सम्मेलन गरेर नगर सभा सदस्यहरूलाई हातपात गर्नेहरूलाई कारबाही र ५ लाखबराबर बढीको भौतिक क्षतिको परिपूर्ति गराउन सम्बन्धित प्रशासन र प्रहरीलाई अपिल गरेका छन्।

प्रमुख राईले बजेट बिनियोजनमा नगरको वडा न.४ को असहमति भएकोले उनीहरूको असहमति नगरसभामा राखेर टुंग्याउने भनिए पनि आफूहरूमाथि आक्रमण भएको बताए।

तोकिएको समयमा वडाको बजेट तथा कार्यक्रम नआएपछि स्थानीय सरकार सञ्‍चालन ऐनअनुसार वडाका बहुमत सदस्यहरूले सिफारिस गरेको योजना समावेश गरिएको राईले जानकारी दिए।

यस सन्दर्भमा नगरले असार ३ गते बजेटको सिलिङ दिएर ६ गतेसम्म वडाको योजना तथा कार्यक्रम पेश गर्न परिपत्र गरेको जनाएको छ। तर, पटक–पटक आफूहरूले बैठक बस्न अनुरोध गरे पनि वडा नं.४ का वडा अध्यक्ष सोभित निरौलाले बेवास्ता गरेको वडा सदस्य कृष्ण माया खड्काले बताइन्।

अन्तिम समय ९ गतेसम्म पनि पटक–पटक बैठक बोलाउने अनुरोध गर्दा पनि बैठक नबसेपछि आफूहरूले बहुमत सदस्यहरूले निर्णय गरेर बाध्यात्मक परिस्थितिमा नगरमा योजना कार्यक्रम पेश गर्नुपरेको खड्काको भनाइ छ।

अध्यक्ष निरौलालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही : एमाले (ओली पक्ष)

घटनालाई लिएर उता नेकपा एमाले पाख्रिबास नगर कमिटीले वडा नं. ४ का वडा अध्यक्ष निरौलालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। नेकपा एमाले पाख्रिबास नगर कमिटीले नगर कमिटीले आयोजना पत्रकार सम्मेलनमा गरेको नगर अध्यक्ष शान्तिराम गौतमले पार्टीले निरौलालाई कारबाही गरेको जानकारी दिए।

विपक्षीहरूसँग साँठगाँठ गरी पार्टीविरुद्धमा लागेर सार्वजनिक सम्पत्ति तोडफोड गर्ने योजनाकार निरौलाको अध्यक्ष पदको खारेजीका लागिसमेत निर्वाचन कार्यालय जाने गौतमले बताए।

यता, वडाध्यक्ष निरौलाले भने कारबाहीको अर्थ नरहने बताएका छन्। उनले जनताको योजना माग गर्दा कोठामा बसेर कारबाही गर्ने एमाले पार्टी नै नभएको बताएका छन्। उनले एमालेको विधान, विधि, सिद्धान्तअनुसार पार्टीको काम गरेको र स्थानीय तह सञ्चालन ऐनअनुसार वडाध्यक्षको काम गरिएको बताएका छन्। कारबाही कसले र किन गर्‍यो भन्ने जानकारी नभएको निरौलाको भनाइ छ।

स्थानीय तहद्वारा तोडफोडको विरोध

धनकुटाका सातवटै स्थानीय तहहरूले पाख्रिबास नरपालिकामा नगरसभा सञ्‍चालन भइरहेको समयमा सभाहलभित्र भएको तोडफोडको विरोध जनाएका छन्।

असार १० गते बिहीबार पाख्रिबास नगरपालिकाको हलमा नगरसभा चलिरहेका बेला नगरपालिका तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पनि सातवटै स्थानीय तहले माग गरेका छन्। सातवटै स्थानीय तहले विज्ञप्ति जारी गर्दै यस्ता कार्यको घोर निन्दा एवं भर्त्र्सना गर्दै संलग्न जोसुकै भए पनि अविलम्ब कानुनी दायरामा ल्याउन माग गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.