|

काठमाडौं :  अविरल वर्षाले यो वर्ष हालसम्म ५ सय ५ निजी घर पूर्णरुपमा क्षति भएको सरकारले जनाएको छ। राष्ट्रियसभाको आइतबारको बैठकमा समसामयिक विषयमा गृहमन्त्री विष्णु पौडेलले १ सय १२ घरहरू आंशिक क्षति भएको बताए।

उनका अनुसार विभिन्न ३६ सरकारी कार्यालयहरू क्षतिग्रस्त भएका छन्। ९ विद्यालय तथा सामुदायिक भवन विद्यालय क्षति पुगेको छ। उनले यस वर्षको मनसुनजन्य विपद्का कारण विभिन्न जिल्लामा पुगेको क्षतिबारे सभालाई विस्तृत जानकारी गराएका थिए।

मनसुनजन्य कारणले हालसम्म ५ सय ५ निजी घर पूर्णरुपमा क्षति भएका छन्। भने सिन्धुपाल्चोक जिल्लाका ७ मनाङका २, चितवनमा २ , तनहुँमा १ मोरङमा १, उदयपुरमा एक र सिरहामा १ गरी जम्मा १५ वटा मोटरेबल पुलमा क्षति पुगेको छ। मनाङमा ५ वटा काठेपुलमा क्षति पुगेको छ। सिन्धुपाल्चोकमा १४ , मनाङमा ७ , मस्र्याङग्दि नदीको एक्ले फाँटमा १ गरी २३ वटा झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन्।

सिन्धुपाल्ञ्चोकको मेलम्ची आयोजनामा जाने पहुँचमार्ग र पुलहरूमा क्षति भएको हुनाले भौतिक पुर्वाधानर तथा यातायात मन्त्रालयबाट दुईवटा अविलम्व २ वटा बेलिब्रिज निर्माणको तयारी गरिएको छ। मेलम्ची आयोजनाको खानेपानीलगायत पूर्वाधार सम्बद्ध विशेषज्ञ टोलीबाट स्थलगत अनुगमन अवलोकन गरि तत्काल पहुँच मार्ग पुर्न निर्माणको साथै आयोजनामा पुगेको क्षतिको यकिन गरी मर्मत संभारको काम अगाडि बढाइने छ। देशभरका सानाठूला गरी ४३ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ। कास्की,लमजुङ, मनाङ लगायत जिल्लाका साना ठूला गरि २५ वटा जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको छ।'

मन्त्री पौडेलले पीडितको राहत तथा उद्धारका लागि प्रदेस्तरमा आवश्यक प्रबन्ध गरिएको भन्दै त्यसबारे भएका कामकारबाहीको पनि फेयरिस्त प्रस्तुत गरे। त्यसैगरी, जिल्ला विपद् व्यवस्थापन समितिहरूले स्थानीय तह र अन्य संघ संस्थासँग समन्वयन गरी  प्रभावितहरूलाई राहतको प्रबन्ध तथा खोज तथा उद्धारका लागि जोखिमयुक्त स्थानहरूमा सुरक्षाकर्मीहरूलाई तैनाथ राखिएको मन्त्री पौडेलले बताए।

उनले भने, 'पीडितहरूको राहत र उद्धारका लागि राज्यका सबै निकायबीच समन्वय गरि परिचालन गरिएको र सिन्धुपाल्चोक, मनाङ र गोर्खा जिल्लाका २ सय ७८ जनालाई नेपाली सेनाको  हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

सिन्धुपाल्चोक, मनाङ, दाङ, बारा , धनुषा, सुनसरी, पर्सा , चितवन लगायतका जिल्लाहरूका २ हजार भन्दा बढीलाई अन्य माध्यमबाट उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। मनसुनजन्य विपद्बाट अति प्रभावित सिन्धुपाल्चोक, मनाङलगायतका विभिन्न ८ जिल्लाहरूमा  ८ सय ३४ थान टेण्ड, २ हजार ५६ थान त्रिपाल, १ सय ९४ थान सिल्पिङ व्याग लगायतका राहत सामग्रीहरू मन्त्रालयको समन्वयनमा जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराई प्रभावित परिवारहरूलाई वितरण गरिएको छ।

बागमती प्रदेशको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी प्रदेशको नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेका मानवीय सहायतास्थलहरूमा खोज उद्धार र राहतका सामग्रीहरू भण्डारण गरिएको छ। त्यसैगरी  इनरुवा, हेटौडा, पोखरा र बुटवलमा पनि आवश्यक सामग्रीहरू भण्डारण गरिएको छ।

प्रादेशिक विपद् गोदाम घरहरूमा पनि राहत सामग्रीहरू भण्डारण गरि राखिएको छ। खोज उद्धार र राहतका लागि केन्द्रीय  विपद व्यवस्थापन कोष तथा जिल्ला विपद् व्यवस्थापन कोषहरूमा आवश्यक रकम मौजदात राखी परिचालनको व्यवस्था मिलाइएको छ।'

विषयगत निकायबाट तत्काल कार्ययोजना बनाई क्षति भएका संरचनाको पुनर्निर्माण कार्य पनि जारी रहेको मन्त्री पौडेलले जानकारी दिए। तर, ठूलो क्षति भएका कारण बेशीसहर मनाङ सडक, अरनिको राजमार्ग सडक, बाजुराको मार्तडी कोल्टी सडक र कुलेखानी हेटौडा लगायतका स्थानमा अवरुद्ध सडक अझै अवरुद्ध रहेकाले ती सडकखण्ड खोल्ने प्रयास जारी र सेती दोभान लगायत मुग्लिङ नारायणगढ सडकका विभिन्न स्थानमा झरेको पहिरो हटाई यातायात सञ्चालन गर्ने प्रयास भइरहेको उनले जानकारी दिए।

उनले सरोकारवाला निकाय र तीनका पदाधिकारीहरूलाई विपदबाट पुगेको क्षतिको समिक्षा गरि पुनर्निर्माण र पुन:स्थापनाका काम अघि बढाउन निर्देशन दिइएको पनि उनले जानकारी दिए।

उनले बाढी पहिरोका कारण मुलुकका विभिन्न स्थानमा अवरुद्ध बनेका राजमार्ग, खानेपानी, विद्युत्, सञ्चार लगायतका अन्य सेवाहरू सरोकालवाला निकायहरूको समन्वयनमा तत्काल सुचारु गर्न प्रबन्ध मिलाइएको जानकारी दिए।

उनले भने, 'विषयगत मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू तथा विभागिय प्रमुखहरूको उपस्थितिमा बैठक बसी मनसुन जन्य विपद्बाट भएको क्षतिको समिक्षा गरि क्षतिग्रस्त सार्वजनिक सम्पत्ति र पूर्वाधारहरूको पुनर्निर्माण र पुन:स्थापनाका लागि तत्काल एकीकृत कार्ययोजना बनाई कार्यान्वयन गर्न सम्बन्धित पदाधिकारीलाई निर्देशन दिइएको छ। अवरुद्ध राजमार्ग, खानेपानी, विद्युत्, सञ्चार लगायतका अन्य सेवाहरू सरोकालवाला निकायहरूको समन्वयनमा तत्काल सुचारु गर्न प्रबन्ध मिलाइएको छ।'

मन्त्री पौडेलले गतवर्षको पहिरोबाट क्षति भएका सिन्धुपाल्चोक, कालिकोट, पर्वत, म्याग्दी, संखुवासभा लगायत १३ जिल्लाका विभिन्न स्थानहरूको  भौगर्भिक अध्ययन गरि पुन:निमार्ण, पुन :स्थापना र जोखिममा रहेका बस्तीहरूको स्थानान्तरण गर्ने प्रक्रिया पनि थालनी भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.