|

दमक : इलाम चुलाचुली गाउँपालिका–२ का ७५ वर्षीय साने कुमाललाई आफ्नो पुर्ख्यौंली पेसा माटाका सामग्री बनाउने भन्ने मात्र थाहा थियो। तर, उनले अहिलेसम्म माटोका सामग्री बनाउन जानेन्। आफ्नो पुर्ख्यौंली पेसाको संरक्षण गर्न अहिले आएर उनी वृद्ध अवस्थामा पुर्ख्यौंली सीप सिक्दै छन्।

उनी भन्छन्,‘हाम्रो पुर्ख्यौंली पेसा माटाका सामग्री बनाउनु हो, हाम्रा बाउ–बाजेले गरेको पेसा हामीले सिकेनौं अहिले पछुतो लागेर हामीले सीप सिक्न थालेका छौं’। उनी मात्र होइन झापाको सीमावर्ती इलामको दक्षिणी चुलाचुलीमा रहेका कुमाल जातिहरु आफ्नो पुर्ख्यौंली पेसाको संरक्षणमा लागेका छन्।

इलामको दक्षिणी चुलाचुली गाउँपालिका र माईनगरपालिका रहेका कुमाल जातिहरु आफ्नो लोप हुन लागेको माटाको सामग्री बनाउने पेसाको संरक्षणका लागि अहिले चुलाचुलीमा ३५ जनाको समूह मिलेर तालिम लिइरहेका छन्। स्थानीय ६० वर्षीय कृतिमान कुमाल भन्छन्, ‘हाम्रो क्षेत्रमा कसैले पनि पुर्ख्यौंली पेसा गरेनन्, हाम्रो यो पेसा संकटमा प¥यो, त्यसैले हामी आफैं अग्रसर भएर लागिपरेका छौं, हाम्रा कारणले युवा युवतीहरुले पनि सिकून् र हाम्रो पुर्ख्यौंली पेसा संरक्षण होस् भन्ने हाम्रो चाहना हो।’

आफ्नो पुर्ख्यौंली पेसाबारे यहाँ रहेका वृद्ध–वृद्धालाई नै थाहा नभएपछि नेपाल कुमाल समाज सुधार समिति इलामले १५ दिने तालिमको नै आयोजना गरेर पुर्ख्यौंली पेसाको संरक्षणमा जुटेका छन्। आफूहरुको पुर्ख्यौंली पेसा माटाका भाडासहित खुत्रुके, गमला, माटोबाट सुधारिएको चुलो, आफ्नो जातिले प्रयोग गर्ने रक्सी बनाउने नानी हाँडीलगायत माटाका सामग्री बनाउने उनीहरु सक्रिय रुपमा लागिपरेका हुन्।

पछिल्लो समय युवा पुस्ताले आफ्नो परम्परालाई बिर्संदै गएका बेला आपूmहरु आफ्नो परम्परालाई संरक्षण गर्न माटाको सामग्री बनाउने तालिममा सक्रियताका साथ लागिपरेको स्थानीय युवती छलिमाया कुमालले बताइन्।

उनी अहिले झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा विएड दोस्रो वर्षमा अध्ययनरत छिन्। उनी भन्छिन्, ‘पछिल्ला पुस्ताहरुले पढाइसँगै जागिर खान मात्र सोच राख्छन् तर, आफ्नो पुर्ख्यौंली पेसालाई निरन्तरता दिँदैनन्, हामी हाम्रो पुर्ख्यौंली पेसा सिकेपश्चात यो पेसालाई व्यावसायिक रुपमा अघि बढाउछौं।’आफ्नो पेसा नै बिर्सेका युवालाई तालिमका लागि इलामका सांसद नगेन्द्र कुमालको सांसद विकास कोषबाट १ लाख २५ हजार र कुमाल जातीय सुधार समाजको सहयोगमा तालिम आयोजना गरिएको हो।

आफ्ना पुर्खाहरुको पेसालाई पहिचानका रुपमा स्थापित गर्न आफ्नो पेशाको संरक्षणमा लागेको नेपाल कुमाल समाज सुधार समिति इलामका अध्यक्ष हेमकुमार कुमालले बताए। उनले भने, ‘अहिले पहिचानका विषयमा कुरा उठेका छन्, यो हाम्रो पहिचान हो, हाम्रो पहिचान स्थापित गर्न हामीले हाम्रो सीप जान्नै पर्छ भन्ने उद्देश्यले तालिमको आयोजना गरेका हौं।’ बजारमा माटाका सामग्रीको माग अत्याधिक रहेको उनले बताए।

उनले भने, ‘अहिले हामीले सिक्ने क्रममा बनाएका सामग्रीले गाउँको मागलाई नै धान्न सकेको छैन, यसको माग बजारमा पनि त्यतिकै छ, त्यसैले हामीले यही पेसाबाट जीविकोपार्जन गर्न सक्छौं।’ पुर्ख्यौंली पेसा सिकिसकेपछि आफूहरु यहीँबाट जीविकोपार्जन गर्ने नेपाल कुमाल समाज सुधार समिति इलामका सहसचिव जितबहादुर कुमाल बताउँछन्। उनी भन्छन्, ‘हाम्रा समुदायका युवाहरु सीप अवाभमा बिदेसिएका छन्, अब हामी हाम्रा पुस्तालाई सीप सिकाएर यहीँ जीविकोपार्जन गर्न सक्ने बनाउछौं।’

तालिमले आफ्नो पुर्ख्यौंली पेसा नदेखेका तथा देखेर पनि नजानेकालाई सहयोग मिलेको स्थानीय कुमाल जातिका अगुवाहरु बताउँछन्। आफूहरुले आफ्ना पुर्खाहरुको पेसालाई संरक्षण गर्न यो तालिममा सहभागी भएको उनीहरुको भनाइ छ।

पछिल्लो समय युवाहरुले आफ्नो पुर्ख्यौंली पेसा नै विर्सेको पोखराको लेखनाथ महानगरपालिकाबाट आएका लोकबाहदुर कुमाल बताउँछन्। उनी भन्छन्,‘अहिले त यो काम गर्ने पाउन गाह्रो छ, सबैले काम नगरेरै मैलेले पनि सिकेको हो, म अहिले ५६ वर्षको भएँ, मैले २८ वर्षको हुँदा बुबाबाट सिकेको थिएँ, कसैले यो पेसा गर्न छाडेपछि तीन वर्षदेखि फेरि मैले यो पेसालाई निरन्तरता दिएको हो, यहाँभन्दा अघि म विदेशमा थिएँ।’

आफ्नो पेसाबाटै सबै खर्च कटाएर मासिक ५० हजार सम्म कमाउन सकिने उनी बताउँछन्। २०६८ सालको जनगणनाअनुसार नेपालमा कुमालहरुको जनसंख्या १ लाख २१ हजार रहेको तथ्यांक छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.