|

म्याग्दी : धवलागिरि गाउँपालिकामा सञ्चालित विभिन्न शीर्षकका पाँचवटा विकास योजनाको गण्डकी प्रदेश सरकारले बजेट कटौती गरिदिएपछि पुनः बजेट व्यवस्थापन गरिदिन अनुरोधसहित ध्यानाकर्षण गराइएको छ।

गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएसँगै धवलागिरि गाउँपालिकामा सञ्चालित योजना तथा कार्यक्रममा बजेट कटौती भएको हो। दुई वर्षदेखि निरन्तर बजेट व्यवस्थापन भई सञ्चालनमा रहेका योजनाहरुलाई प्रदेश सरकारले यसपटकको बजेटमा कटौती गरेको हो।

अघिल्लो सरकारले निरन्तरता दिएको सडक, शिक्षा, खानेपानीलगायतका योजना तथा कार्यक्रमलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले कटौती गरेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन्। दुई वर्षदेखि निरन्तररुपमा बजेट विनियोजन भएका ती योजनाहरु कटौती भएपछि गाउँपालिकाले प्रदेश सरकार समक्ष बजेट व्यवस्थापन गरिदिन अनुरोध गरेको छ।

मुख्यमन्त्री पोखरेललाई अध्यक्ष पुनसहितको टोलीले भेटेर बजेटलाई निरन्तरता दिन अनुरोध गरेको छ। प्रदेश सरकारको सहयोगमा दुई गाउँपालिका जोड्ने महत्त्वको सडक दरबाङ–बिम–मराङ–मल्कबाङ, कुइने हुँदै पाखापानी जोड्ने कृषि सडक (अघिल्लो वर्ष १ करोड २५ लाख विनियोजन), मुना लुलाङ, गुर्जा सडक (अघिल्लो वर्ष एककरोड २५ लाख विनियोजन) र हेम मावि सिवाङलाई सामाजिक विकास मन्त्रालयबाट नमुना आवासीय विद्यालय सञ्चालनका लागि गत वर्ष दुई करोड रुपैयाँ विनियोजन भएको थियो।

यसैगरी वडा नम्बर ४ मुदीको वृहत खानेपानी योजना पनि कटौती गरिएको छ। मुदीवासीका प्रत्येक घरमा खानेपानी उपलब्ध गराउन करिब एक करोड २५ लाख रूपैयाँ बराबरको बजेट अनुमान गरि कार्यक्रम सञ्चालन हुँदै आएको थियो। प्रदेश सरकारले यसपटकको बजेटमा उक्त योजनाहरु समावेश नगरेपछि योजनाहरु अलपत्र पर्ने उनले बताइन्। राजनीतिक प्रभावका कारण बजेट कटौती गरिएको हुनसक्ने स्थानीयवासीहरु बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.