|
तस्बिर : युपि लामिछाने

काठमाडौं : नेपाली कांग्रेसमा महाधिवेशनको तयारी भइरहेको बेला सभापतिको दाबेदार मानिएका तीन नेताहरुबीच भेटवार्ता भएको छ। कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शंशाक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भएको हो। 

शनिबार दिउँसो चाक्सीबारीस्थित सिंह निवासमा तीन नेताबीच छलफल भएको सिंहका स्वकीय सचिव युपी लामिछाने बताए। तीन नेताबीचको राष्ट्रिय राजनीति र महाधिवेशनको बिषयमा केन्द्रित रहेर छलफल भएको उनको भनाइ छ। 

सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः उठ्ने घोषणा गरिसकेका छन्। तर, देउवा निकट मानिएका निधिसहित देउवा इतर समूहबाट कोइराला र सिंहले पनि सभापतिको दाबी गरिरहेका छन्।  

१३ औँ महाधिवेशनमा पराजित वरिष्ठ नेता रामचन्द्र पौडल, कृष्णप्रसाद सिटौलालगायत नेताहरुले पनि सभापतिको स्वभाविक उम्मेदवारको रुपमा दाबी प्रस्तुत गरिरहेका छन्।

सभापति देउवाले फेरि दोहोर्याउन अडान राखेपछि देउवाइतर समूहबाट एकजना मात्रै उम्मेदवार ल्याउनेबारे छलफल भइरहेको छ। 

महाधिवेशनको दौड चलिरहेको बेलामा तीन नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ। कांग्रेसले क्रियाशिल सदस्यतासमेत टुंग्याउन नसकेपछि पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको छ।

बिहीबार बसेको बैठकमा सदस्यता छानविन समितीले प्रतिवेदन बुझाएपछि शीर्ष नेताहरुले विवादित बिषयलाई टुंगो पुर्याउने निर्णय गरेको छ। 

साउन १२ मा हुनुपर्ने वडा अधिवेशन अझै अनिश्चित छ। क्रियाशील सदस्यताको विवादमा अल्झिएको कांग्रेसले तोकिएको समयमा महाधिवेशन गर्न नसक्ने निश्चित भइसकेको छ।  

भदौ १६ गते आउन ३५ दिन बाँकी रहँदा महाधिवेशन समयसीमा भित्र नहुने नेताहरुले बताउन थालेका छन्। कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन तोकेको छ। 

महाधिवेशन तोकिएको समयमा नहुने निश्चित भइसक्दा समेत सभापति देउवाले तोकिएको समयमा हुने दाबी गरिरहेका छन्। तर, देउवाइतर समूहले तोकिएको समयमा महाधिवेशन गर्न दबाव दिइरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.