|

काठमाडौं : कोरोना संक्रमणको दोस्रो लहरसँगै कम हुँदै गएको संक्रमणदर पछिल्लो केही दिनयता पुनः उकालो लाग्दै गएको छ। यसरी संक्रमण पुनः बढ्न थालेपछि अस्पतालमा भर्ना हुने संक्रमितको संख्या समेत बढ्दै गएको छ।

केही समय स्थिर रहेको संक्रमणदर साउन लागेसँगै बढेको हो। असारको दोस्रो हप्तापछि दैनिक संक्रमणदर २० सम्म रहेको थियो भने साउन लागेसँगै बढेर २४ प्रतिशतसम्म पुगेको छ।

केही दिनयता कोरोनाका उपचार गरिने अस्पतालहरूमा उपचार निम्ति आउने संक्रमित संख्या समेत बढ्दै गएको चिकित्सकहरूले बताएका छन्‌। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि अहिले गम्भीर संक्रमितहरू उपचार गर्न आउने संख्या बढ्दै गएको छ। अस्पतालका अनुसार साउन १ देखि बिरामी बढ्न थालेका हुन्।

अस्पतालका इमर्जेन्सी विभाग प्रमुख लीलानाथ भण्डारीका अनुसार हाल अस्पतालका सबै शय्या भरिएका छन्‌। ‘पछिल्लो केही दिनदेखि उपचार लागि अस्पताल आउने संक्रमितको संख्या बढ्दै गएको छ, अहिले हामीकहाँ भएका बेड लगभग भरिएका छन्‌,’ उनले भने।

निषेधाज्ञा खुकुलो गराइएसँगै बजारमा चहलपहल बढेको हुँदा पनि संक्रमण पुनः फैलिएको हुनसक्ने उनको भनाइ छ। उनले भने, ‘यो शुरूवाती अवस्थामात्रै हो, अब एक/दुई हप्तामा संक्रमण झनै बढ्छ, स्थिति यस्तै रहे तेस्रो लहर असोज १५ भन्दा अघि नै आउँछ, अबको एक दुई हप्तामा महामारीको नयाँ लहर नआउला भन्न सकिन्न।’

अहिलेको अवस्था गत कोरोनाको दोस्रो लहर शुरू भएर उच्च तहमा पुग्नु एक साता अघिको अर्थात गत बैशाख १५ गते तिरको जस्तै रहेको भण्डारीले बताए।

हाल दैनिक २०/२५ जनासम्म गम्भीर संक्रमितहरू उपचारको लागि आउने गरेको र उनीहरूको अवस्था आईसीयू र भेन्टिलेटरमा नै राख्नुपर्ने खालको रहेको भण्डारीले जानकारी दिएका छन्‌। ‘हाल दैनिक उपचारको लागि आउने संक्रमित बढ्दै गएर बेडहरू भरिन थालेको छ, जसले गर्दा पहिले जस्तै बरन्डामा उपचार गर्नुपर्ने अवस्था आइसकेको छ,’ उनले थपे।

हाल उपचार निम्ति आउने संक्रमित बढ्दै गएपछि अस्पतालले सम्भावित जोखिम हेरेर ३० जना स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम दिएको छ।

भण्डारीले आकस्मिक कक्षमा आवश्यक शय्या, जनशक्ति र मनिटरको व्यवस्था मिलाएका छन्। विगतमा ३० जना बिरामी बरण्डामा राखेर उपचार सेवा दिएका भण्डारीले यस पटक त्यस्तो अवस्था निम्तिन नदिन प्रयास गरिरहेका छन्। उनले ४० वटा आकस्मिक शय्या बनाउने तयारी गरेका छन्।

साउन १ गते ९ जना संक्रमित भएको अस्पतालमा अहिले १९ जना पुगेका छन्। टेकु अस्पतालले हालसम्म कोरोनाको उपचारको लागि पुगेका कुनै पनि बिरामीलाई अक्सिजन अभावमा फिर्ता पठाएको छैन। अब पनि संक्रमण बढ्दै जाँदा आएका बिरामी फिर्ता पठाउन नपरोस्‌ भनेर तयारी अझै बढाएको छ।

यस्तै, हाल कोरोनाको उपचार गर्ने केन्द्रीय अस्पतालमा रूपान्तरण गरिएको वीर युनिफाइड केन्द्रीय अस्पतालमा पनि पछिल्लो समयमा उपचार गर्न आउने संक्रमित बढ्दै गएका छन्‌।

हाल १०० जना संक्रमितको उपचार भइरहेको र उपचार निम्ति आउने संक्रमित ह्वात्तै बढेको अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमले बताए। ‘सिरियस भएर उपचारको लागि आउने संक्रमित केही दिनयता ह्वात्तै बढेको छ।‘

तेस्रो लहरको शुरूवाती अवस्था भनी अहिले नै एकीन गर्न नसकिए पनि संक्रमित यसरी नै आउन थालेपछि समुदायमा पुनः संक्रमण बढ्दै गएको बुझ्न सकिने उनले बताए।

टिचिङमा पनि उस्तै

कोरोना संक्रमितको उपचार हुने त्रिवि शिक्षण अस्पतालमा पनि पछिल्लो केही दिन यता संक्रमितको चाप बढ्दै गएको थाहा भएको छ।

अस्पतालका कोभिड चिकित्सक डा. सन्तकुमार दासका अनुसार संक्रमितमा लक्षण दोस्रो लहरसँग मिल्ने भएकाले अहिले बढेको संक्रमण पनि त्यसकै निरन्तरता हो।

डा. दासले बताएअनुसार पछिल्लो एक सातायता कोरोना संक्रमितको संख्या क्रमशः बढिरहेको छ।

डा. दासका अनुसार शिक्षण अस्पतालमा साउन १ गतेबाट बिरामी बढेका हुन्। पछिल्लो समय ७० जना बिरामी भर्ना भएकोमा १० दिनमै यो संख्या बढेर १३९ जना पुगेको छ। आईसीयू खाली छैन।

‘बिरामीका सबै लक्षण हेर्दा दोस्रो लहर नै फैलिएको देखिन्छ, संक्रमणदर दैनिक २० देखि २५ प्रतिशत वरिपरि छ,’ उनले भने।

एक हप्ताअघि दैनिक उपचारमा आउने संक्रमित ८/९ मा झरे पनि हाल दैनिक सरदर ४० जना संक्रमित उपचारमा आउने गरेका र ती मध्ये २५/३० जनालाई अक्सिजन आवश्यक र निमोनिया देखिएपछि भर्ना नै गर्नुपर्ने अवस्था रहेको उनले बताए।

तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने अनुमान गरिए पनि हाल आउने संक्रमितहरू बालबालिका नभएको हुँदा तेस्रो लहरभन्दा पनि निषेधाज्ञा खुलेपछि भएका आन्दोलन र भीडभाडले गर्दा संक्रमण बढेको हुनसक्ने डा. दासले बताए।

उनका अनुसार हाल उपचार निम्ति आएका संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाकै हुन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.