|

काठमाडाैं : गायक तथा मोडल दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले संस्थागत बहिष्कार गर्ने निर्णय गरेको छ।

दुर्गेशले केही दिनअघि 'आपत्तिजनक शब्द' राखिएको गीत सार्वजनिक गरेपछि प्रतिष्ठानले यस्तो निर्णय गर्ने बताएको हो। तर प्रतिष्ठानले निर्णय भने सार्वजनिक गरिसकेको छैन।

प्रतिष्ठानका एक पदाधिकारीका अनुसार निर्णयमा अझै छलफल भइरहेको र केही दिनमा सार्वजनिक गरिने छ। बैठकले अन्य केही निर्णय पनि गरेको ती पदाधिकारीले जानकारी दिएका छन्।

अबदेखि दुर्गेशलाई प्रतिष्ठानको आजीवन सदस्यबाट निलम्बन गर्ने, सेवा सुविधाबाट वन्चित गर्ने, प्रतिष्ठानको कुनै पनि कार्यक्रममा नबोलाउने, प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग गीतमा सहकार्य नगर्ने, मेला–महोत्सवमा नबोलाउने गरी प्रतिष्ठानका जिल्ला शाखा एवं आयोजकलाई आग्रह गर्ने निर्णय भएको हो।

प्रतिष्ठानले दुर्गेशले सार्वजनिक गरेको गीत तीजको मर्मविपरीत रहेको र गीतले कला संस्कृतिमाथि प्रहार गर्ने ठहर गर्दै आपत्तिजनक शब्दहरू फेरबदल गरी प्रस्तुत हुन आग्रह गर्दै पत्र नै काटेको थियो।

तर, प्रतिष्ठानको पत्रलाई बेवास्ता गर्दै दुर्गेशले गीत सार्वजनिक गरेका हुन्। यता प्रतिष्ठानले संस्थागत बहिस्कार गरेपछि दुर्गेशले आफ्नो प्रतिक्रिया जनाएका छन्। थाहाखबरसँग कुरा गर्दै उनले यस निर्णयप्रति आफ्नो कुनै चित्त दुखाई नरहेको बताए।

'संस्था अदालत होइन, घर हो। उनीहरू गर्छन गर्दै गरून्। उनीहरू आफू–आफू भित्र बसेर निर्णय गर्छन्। मलाई सोध्दैनन्। तर पनि मलाई ‘नो प्रबलम।’ म आफ्नो बाटो गरेर खाने हो। मैले कहिले दोहोरी गाएको छु र? म हिपहप टाइपको मान्छे हो। मैले मोर्डन टाइपको गीत गाउने हो,' थापाले भने। 

आफूलाई यस निर्णयप्रति केही चित्त दुखाई नभएको पनि उनले थाहाखबरसँग भने।

प्रतिष्ठानमा रहेका व्यक्तिहरूले आफ्नो सफलतामा डाहा गरेको उनको भनाइ थियो। भने, ‘यदि मलाई परिवारको सदस्य (प्रतिष्ठानको सदस्य) मान्नुहुन्थ्यो भने बोलाएर छलफल गर्नुहुन्थ्यो। उहाँहरूले आफै–आफै निर्णय गर्नुभएको छ। मेरो भन्नु केही छैन।’

थापाले आफूलाई यसअघि प्रतिष्ठानले पठाएको आग्रह पत्र नपुगेको दाबी गरे। 'पत्र भन्ने कुरा मेरो हातमा पुग्नुपर्‍यो। म्यासेन्जरमा पठाएर हुन्छ?' उनले प्रश्न गरे।आफूले ४ महिनाअघि गीतको पोष्टर सार्वजनिक गर्दा चुप बसेको प्रतिष्ठानले गीत सार्वजनिक हुने बेलामा आएर गीतका शब्दमा आपत्ति जनाएको भन्दै दुखेसो गरे। 

'अनि अहिले आएर गीत सार्वजनिक हुनुभन्दा एक दिन अगाडि लाखौं खर्च गरिसकेपछि पत्र पठाएर हुन्छ? दुर्गेशको प्रश्न छ।

आफूले ल्याएको गीतभन्दा अश्लील गीतहरू लोकदोहोरी कैयौं रहेका उनको दाबी छ। प्रतिष्ठानमा रहेका व्यक्तिले अश्लील शब्द राखेर गीत सार्वजनिक गर्दा केही आपत्ति नहुने तर आफ्नो गीतप्रति पनि डाहा गरेको उनको भनाइ थियो।

'म प्रतिष्ठानमाथि केही समयपछि बोल्छु, उहाँहरूले भित्रभित्रै कस्तो षड्यन्त्र गर्नुभएको छ। कति के गर्नु भएको छ भन्ने मलाई थाहा छ। मलाई केही फरक पर्दैन। ठिक छ। मलाई एक पटक छलफलमा बोलाएर यस्तो निर्णय गरेको पनि होइन। आफैं कानुन बनाएर गरेको हो। त्यसमा मलाई केही चित्त दुखाइ छैन। म दोहोरी गीतबाट आएको भनेर जुन गर्व गर्थें, तर अब त्यो रहेन,' थापाले थाहाखबरसँग भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.