|

जनकपुरधाम : महोत्तरीकी सुजिता ठाकुर हत्या प्रकरणमा सुजिताका देवर र बुवा जेल चलान भएका भएका छन् भने ५ जना धराैटीमा रिहा भएका छन्। 

मंगलबार महोत्तरी जिल्ला अदालतले घटनाका आरोपी सुजिताका देवर रूपेश ठाकुर र बुवा कामेश्वर पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

न्यायाधीश मुकेशकुमार उपाध्यायको इजलासले प्रहरीले अनुसन्धानमा सुजिताको शव ओसारपोसार, गाड्नेदेखि लुकाउनेसम्ममा संलग्न दाबी गरिएका चार जनालाई एक–एक लाख धरौटीमा रिहा गरेको हो। 

जनकपुरधाम उपमहानगरपालिका–१४ कुटीपोखरी बसहिया बस्ने ५५ वर्षीय प्रमोद  भनिने विनोद मण्डल, लोहरपट्टी–७ भ्रमरपुरा बस्ने ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भनिने आदम राइन र ३२ वर्षीय नथुनी मण्डल जनहरी एक/एक लाख धरौटीमा रिहा भएका हुन्।

घटना लुकाएको अभियोग लागेकी सुजिताकी नन्द अन्जु ठाकुरलाई १० हजार धरौटीमा रिहा गरिएको छ। घटनामा संलग्न भनिएका सुजिताका ससुरा पतिराम ठाकुर, सासू र देवरानी अझै फरार छन्।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार जेठ २० गते बिहानै करिब ८ बजे झैंझगडा हुँदा ससुरा पतिराम, देवर रुपेशलगायत परिवारका व्यक्तिले घाँटी थिचेर सुजिताको हत्या गरेका थिए। हत्यापछि दिनभरि घरमै उनको शव लुकाएर साँझमा  ट्याक्टरमा लगेर खेतमा गाडेको अनुसन्धानबाट खुलेको थियो।

शव गाडिएको सम्बन्धमा केही हल्ला बाहिरन थालेपछि पुनः खेतमा शव गाडिएको ठाउँबाट झिकेर उनीहरूले आफ्नो पेट्रोलपम्प नजिकै निर्माणाधीन शौचालयको सेफ्टिक ट्यांकीमा शव गाडेर माथिबाट ढलान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.