|

जनकपुरधाम : कार्यकाल उत्तरार्द्धमा आइपुगे पनि धनुषाका स्थानीय तहका जनप्रतिनिधिबीच विवाद साम्य हुन सकेको छैन।

एउटै पार्टीबाट निर्वाचित भए पनि जनप्रतिनिधिको अधिकांश समय विवादमा बित्दा पालिकाको विकास निर्माणदेखि धेरै कामकाज प्रभावित भएको छ।

जनप्रतिनिधिमध्ये कोही अहिले ज्यान मुद्दाका अभियुक्त भइ फरार भएका छन् भने कोही अनियमिततामा फसेका छन्।

धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख र वडाअध्यक्ष विरुद्ध धनुषा अदालतले पक्राउ पूर्जी जारी गरेको छ। पक्राउ पूर्जी जारी भएसँगै उनीहरू फरार भएका छन्।

धनुषा जिल्ला अदालतले नगरप्रमुख रामज्ञान मण्डल, नगर उपप्रमुख रेणु झा र वडा अध्यक्षहरू उदय सिंह र किशोरी यादवको नाममा पक्राउ पूर्जी जारी गरेको प्रहरीले जनाएको छ।

ती जनप्रतिनिधिलाई पक्राउ पूर्जी जारी गर्नुपूर्व हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउतलाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको थियो। उनी विरुद्ध समेत धनुषा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। उनलाई प्रहरीले करिब २ साता अघि नियन्त्रणमा लिएको थियो।

२०७६ साउन २१ गते हंसपुर नगरपालिका कार्यपालिकाको कार्यालय सार्ने विषयमा नगर प्रमुख रामज्ञान मण्डल र नगर उपप्रमुख रेणु झा पक्षबीच भएको विवादले उग्ररूप लिँदा झडप भएको थियो। झडपको क्रममा प्रहरी र अन्य पक्षको कुटाइबाट स्थानीय ५५ वर्षीय तपेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको थियो।

हंसपुर नगरपालिकाको कार्यालय नसार्ने पक्षमा नगर उपप्रमुख रेणु झा थिइन्। उनकै समर्थक रहेका तपेश्वर मण्डलको मृत्यु भएपछि छोरा राजकुमार मण्डलले नगरप्रमुख रामज्ञान मण्डल, उदय सिंह र श्याम राउत सहितका माथि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए।

त्यस्तै, नगर प्रमुख रामज्ञान मण्डल पक्षले समेत नगर उपप्रमुख रेणु झा लगायतका विरुद्ध धनुषा प्रहरीमा उजुरी दिएका थिए। दुवै पक्षले एक अर्काविरुद्ध उजुरी दिएको लामो समयपछि धनुषा प्रहरीले कानूनी प्रक्रिया अघि बढाएको हो।

सोही उजुरीको आधारमा करिब दुई वर्षपछि हंसपुर नगरपालिकाको कार्यपालिका सदस्य श्याम राउतलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

तपेश्वर मण्डलको मृत्यु प्रकरणका मुख्य आरोपी नगरप्रमुख रामज्ञान मण्डल, नगर उपप्रमुख रेणु झा र हंसपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उदय सिंह र नगर कार्यपालिका सदस्य राउतविरुद्ध पीडित पक्षले दिएको जाहेरीअनुसार धनुषा प्रहरीले कारबाही थालेको हो।

२०७६ साउन २१ मा हंसपुर नगरपालिकाको कार्यालय सार्ने र नसार्ने भन्ने विषयमा झडप हुँदा घाइते भएका तपेश्वर मण्डलको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार क्रममा भदौ १८ गते मृत्यु भएको थियो।

यस घटनामा अनुसन्धान जारी रहेको र फरार व्यक्तिहरूको खोजी भइरहेको धनुषाका प्रहरी उपरीक्षक रानाभाटले बताए।

नगरपालिकाको कामकाज नै प्रभावित

हंसपुर नगरपालिकाका नगर प्रमुख मण्डल र उपप्रमुख झा सहितलाई पक्राउ गर्न पूर्जी जारी भएपछि उनीहरू करिब एक महिनादेखि नगरपालिकामा उपस्थित हुन छाडेका छन्। जसकारण सेवा प्रवाहका सबै काम प्रभावित भएको छ।

स्थानीयहरूले जनप्रतिनिधिहरू नै उपस्थित हुन छाडेपछि कर्मचारीहरू समेत नगरपालिकामा आउन छाडेका बताए। स्थानीय सनील यादवले नगरपालिकामा कोही जनप्रतिनिधि नआउँदा सेवाग्राहीहरूको सम्पूर्ण कामहरू ठप्प भएको बताए।

कार्यकक्षमै मालिस गराउने मेयर

धनुषा विदेह नगरपालिकाका प्रमुख बेचन दासले कार्यकक्षमै कार्यालय सहयोगी संग खुट्टा मालिस गराइरहेको तस्वीरले पनि निकै चर्चा पायो। धेरैले नगर प्रमुख दासको व्यवहारको आलोचना गरे।

कार्यालय सहयोगीमा भतिजालाई नै नियुक्त गरेका दासले उक्त दिन कोरोना भाइरस विरुद्धको खोप लगाएको र जीउ दुखेको हुँदा  मालिस गर्न लगाएको स्वीकारे।

तर, नगरपालिकाका एक कर्मचारीका अनुसार आफ्नो कार्यकक्षमा उनले दैनिकजसो मालिस गराउँदै आएका छन्। यसबीच मेयर दासका भाइ लखन दास पनि अहिले चर्चामा छन्।

धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासका भाइ लखन दासले १० वटा बाख्रा वितरण गरी १०० बाख्राको भुक्तानी लिएको थाहा लागेपछि उनी पनि चर्चामा आएका हुन्।

मेयरको भाइ भएको हिसाबले फाइदा उठाउँदै नगरपालिकाका निमित्त्त प्रशासकीय अधिकृत संजीव साहको मिलेमतोमा बाख्रा वितरणको नाममा अनियमितता गरेको पाइएको हो।

लखनले १० वटामात्रै बाख्रा वितरण गरी ४ लाख ७० हजार रुपैयाँ भुक्तानी लिएको छन्। विदेह नगरपालिका-७ स्थित भगवती बाख्रा पालन कृषि समूह जोगियाबाट १०० वटा बाख्रा खरिद गरेको बिल नगरपालिकामा पेश गरी ४ लाख ७१ हजार रुपैयाँ भुक्तानी लिएको कार्यालय स्रोतले जानकारी दिएको छ।

दासले जम्मा १० वटामात्र बाख्रा वितरण गरी निमित्त्त प्रशासकीय अधिकृत साहसँग साँठगाँठ गरी १०० वटाको प्रमाण बनाएर नगरपालिकाबाट सो रकम निकासा गरेको स्थानीयको आरोप छ।

लखनले नगरपालिकाबाट बाख्रा वितरणको नाममा झिकेको ४ लाख ७० हजार रुपैयाँ बाख्रा खरिद गरेको भनिएको भगवती बाख्रा पालन कृषि समूहका सञ्चालक हरिशंकर यादवलाई मात्र ४५ हजार रुपैयाँ दिएका छन्। बाँकी सबै रकम ४ लाख २५ हजार आफैँले राखेको सुन्नमा आएको नगरपालिकाका कृषि तथा बाली विकास अधिकृत चन्देश्वर ठाकुरले बताए।

तर, नगरपालिकाले १०० वटा बाख्रा वितरण गरेको कागजी प्रमाण चाही चुस्त-दुरुस्त राखेको छ।

वडा नं. ४ का वडाध्यक्ष विनोद गोहितमानले मेयरका भाइ लखन दासले बाख्रा वितरणको नाममा नक्कली बिल भरपाई बनाएर भ्रष्टाचार गरेको आरोप लगाए। उनले बाख्रा वितरण अनियमिततामा निमित्त प्रशासकीय अधिकृत साह, मेयर दास र उनका भाइ लखनको संलग्नता रहेको दाबी गरे।

कृषि तथा बाली विकास अधिकृत ठाकुरले मेयरका भाइ लखनले १०० बाख्रा वितरण गरेको भन्दै असारको अन्तिम साता कार्यालयमा आएर आफूसँग जबरजस्ती भरपाई समेत गराएको प्रतिक्रिया दिए।

ठाकुरले भने, ‘१०० बाख्रा वितरण भयो भनेर मेयरका भाइले मसँग जबरजस्ती भरपाई गराउनुभयो। वितरण भयो कि भएन, मलाई थाहा भएन। पछि चेक भगवती फारमको नाममा बन्यो,’ अधिकृत ठाकुरले भने, ‘४ लाख ७० हजारबाट ४५ हजार काटेर बाँकी रकमको चेक फारमबाट काटेर लखनले लिनुभभो। यो कुरा फारमका सञ्चालक हरिशंकरले नै मलाई सुनाए।’

यता बाख्रा फारमका सञ्चालक हरिशंकरले नगरपालिकाले आफूसँग बाख्रा किनेको बताएपनि कति बाख्रा दिएको र कतिको बिल दिएको सम्बन्धमा नगरपालिकालाई काटेर दिएको बिलको प्रतिलिपि समेत आफूसँग नभएकाले नगरपालिकामै बुझ्न आग्रह गरे।

नगरप्रमुख बेचन दास र निमित्त प्रमुख प्रशासकीय अधिकृत संजीव साहले भने बाख्रा वितरण भएको दाबी गरेका छन्। साहले बाख्रा वितरण भएको सबै प्रमाण नगरपालिकासँग रहेको बताए।

नगरप्रमुख दासले १०० वटा नै बाख्रा वितरण भएको दाबी गर्दै गाउँमा गएर बुझ्न आग्रह गरे।

उनले भने १०० बाख्रा नै वितरण गरेको तर विपक्षीहरूले कम बाँडेको भनेर राजनीतिक प्रतिशोध लिइरहेको दाबी गरे।

कार्यकक्षमै वडा सचिव कुटिए

धनुषाको नगराइन नगरपालिका-५ का वडासचिव सुबोध झालाई कार्यकक्षभित्रै प्रवेश गरी हातपात गर्ने स्थानीय राधेश्याम झासहित तीनजना साउन ११ गतेदेखि फरार छन्। नगरपालिकाका कर्मचारीहरू दुई सातादेखि कार्यालय बन्द गरी धर्नामा बसेका छन्।

साउन ११ गते वडाध्यक्ष विष्णुदेव झा र स्वास्थ्य कर्मचारी रितेशलाल कर्णसहित कार्यालयमा काम गरिरहेका नगराइन-५ का सचिव सुबोधमाथि सोही वडाका ३० वर्षीय राधेश्याम झाले हातपात गरे। सचिव झाका अनुसार राधेश्यामसँगै सोही वडाका ३६ वर्षीय आलोककुमार झा तथा ३२ वर्षीय भवन झा पनि थिए।

घटना छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीसहित १३ वटै वडाका सचिवले हस्ताक्षर गरेर जिल्ला प्रशासनमा निवेदन दिएका थिए। प्रशासनले कारबाहीका लागि जिल्ला प्रहरीलाई पत्राचार समेत गरेको छ।

‘राष्ट्रसेवकमाथि हातपात गर्दा पनि प्रशासन मौन बस्नुको अर्थ बुझिनसक्नु छ। हामीले न्याय नपाएसम्म कार्यालय सुचारु गर्दैनौँ,’ सचिव धर्वेन्द्र झाले भने। जिल्ला सरकारी वकिल कार्यालय मार्फत उजुरी दर्ता गराउने प्रक्रिया थालेको उनले जानकारी दिए।

जिल्ला समन्वय समिति धनुषाका संयोजक रामदेव बनरैत यादवले पालिकाहरूलाई नियन्त्रण गर्ने निकायको अभावमा यस्तो किसिमको अवस्था सृजना भएको बताए। उनले भने, ‘पालिकाहरूलाई संविधानले स्वायत्त र सरकारसरह मान्यता दिएको छ। कानूनसमेत निर्माण गर्ने अधिकार दिएको छ। तर, पालिकाका जनप्रतिनिधिहरू मनपरी गरिरहेका छन्‌।’

यी माथिका केही उदाहरण मात्र हुन्। यसरी खोतल्दै जाँदा प्रायजसो स्थानीय तहका जनप्रतिनिधिहरूको हालत यस्तै छ।

अधिकांश पालिकामा प्रमुख र उपप्रमुखबीच विवाद छ। उपप्रमुखले आफूले गर्ने काम, कर्तव्य र अधिकारको क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्नुभन्दा पनि उनीहरूले सेवा सुविधामा भागबण्डा खोज्दा अधिकांश ठाउँमा विवाद अहिले कार्यकालको अन्तिम वर्षमा समेत देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.