|

पाल्पा : लुम्बिनी प्रदेशकी नवनियुक्त मन्त्री पुरमती ढेंगा मगर राजनीतिमा परिचित नाम होइन। पाल्पाको निस्दी गाउँपालिका७ ज्यामिरेमा जन्मिएकी उनले राजनीतिमा पाइला टेकेको धेरै भएको छैन।

पाल्पाको विकट गाउँ ज्यामिरेमा जन्मिएकी पुरमतीको विवाह विकट गाउँ बहादुरपुरमा भयो। उनको अधिकांश समय घाँस दाउरा गरेर बित्थे। यस्तै क्रममा पुरमतीले सिलाइ कटाइ तालिम लिन पाइन्। सिप सिकेपछि छिमेकी पूर्वखोला गाउँपालिका२ जल्पामा २० हजार रुपैयाँ लगानीमा सिलाइ कटाइसहितको फेन्सी पसल खोलिन्। पाँच वर्ष फेन्सी पसल चलाइन्।

व्यापार राम्रै भयो। वैदेशिक रोजगारमा जाने योजनामा लागेका उनका श्रीमान् नेपाल नै बस्ने भए। उनका श्रीमान जुन म्यानपावरमार्फत विदेश जान खोजिरहेका थिए‚ त्यहीँ काम गर्न थाले। र‚ उनले श्रीमतीसहित छोरालाई काठमाडौं बोलाए। जल्पामा रहेको पसल बिक्री गरेर २०६१ सालमा पुरमती काठमाडौं लागिन्।

काठमाडौंमा उनीहरुले होटल व्यवसाय सुरु गरे। व्यवसाय विस्तार भयो। सानो होटेल अहिले लुम्बिनी लाङ्घाली गेष्ट हाउसको नाममा परिचित छ।

राजनीतिमा जोड्ने गेष्ट

२०५७/५८ तिर गाउँमा छँदा पुरमती तत्कालीन नेकपा माओवादीको केही कार्यक्रममा सहभागी भएकी थिइन्। सामाजिक कार्यमा सक्रिय उनी त्यो बेला शुभचिन्तकको हैसियतले कार्यक्रममा सहभागी भएकी थिइन्।

काठमाडौंमा गेष्ट हाउस सञ्चालन गरे पनि उनी आफ्नो टोलका विभिन्न संघसंस्थामा आवद्ध भएर काम गर्न थालिन्। होटलमा सर्वसाधारणदेखि नेतासम्म खानाखान आउँथे। त्यही क्रममा केही नेतासँग उनको चिनजान भयो। जसले राजनीतिमा उनलाई जोड्यो। एक दिन तत्कालीन संघीय समाजवादी पार्टीका नेता राजेन्द्र राईले राजनीति गर्न सुझाए। राईले नै पार्टीका तत्कालीन अध्यक्ष अशोक राईकी श्रीमती सुशीला श्रेष्ठसँग परिचित गराए। त्यसपछि पुरमतीको राजनीति यात्रा सुरु भयो। उनी समाजवादी पार्टीको महिला संगठनको केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा पुगिन्। अहिले जनता समाजवादी पार्टी बनेपछि पार्टीकै जनजाति महासंको केन्द्रीय उपाध्यक्षमा रहेर काम गर्दै आएकी छन्।

पुरमतीले २०७० सालको चुनावमा पाल्पा क्षेत्र नम्बर १ बाट संघीय समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा चुनाब लडिन्। जतिबेला ३०० मत पाइन्। त्यसपछि खासै राजनीतिक गतिविधिमा सक्रिय भइनन्। अर्को पटक अर्थात् २०७४ सालको निर्वाचनमा भने समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभा उम्मेदवार भइन्। यो चुनावमा पाल्पामा संघीय समाजवादी पार्टीलाई समानुपातिकतर्फ करिब १०० मत खसेको थियो। 

अशोक राईको त्यो फोन

पाल्पामा मत परिणाम थाहा पाएपछि उनी पुनः काठमाडौं फर्किइन्। र‚ व्यवसायमै सक्रिय भइन्। एक दिन काउन्टरमा बसिरहेकी थिइन्। एक्कासी पार्टी अध्यक्ष अशोक राईको फोन आयो। फोनमा राईले भने‚ ‘ल बधाई छ, तपाईंलाई। पार्टी कार्यालय आउनुस्।’ यो सुनेर उनी झसंग भएको उनले सुनाइन्।

मनमा विभिन्न कुरा खेलाउँदै उनी पार्टी कार्यालय पुगिन्। ‘साँच्चिकै लुम्बिनी प्रदेश समानुपातिक संसदमा मनोनित भएकी रहेछु‚’ पुरमतिले त्यो बेलाको घटना सम्झना गर्दै भनिन्‚ ‘जुन कुरा अझै पनि सपनाजस्तै लाग्छ। कहिल्यै नसोंचेको सांसद पद पाउँदा खुसी लाग्यो।’

सांसद बनेर जिम्मेवारी पूरा गर्न कठिन रहेको पुरमतीले अनुभव सुनाइन्। ‘सांसद भएपछि थप राजनीतिक ज्ञान प्राप्त भएको छ‚’ उनले भनिन्‚ ‘विकास निर्माणका काम र योजना तथा बजेटरबारे थाहा भयो। तर सोंचे जति जनताको काम गर्न सकेको छैन।’

मन्त्री बन्दा दङ्ग

समाजवादी पार्टी न त चुनावबाट प्रदेशसभामा ठूलो पार्टी भयो न त उनी ठूलो नेता नै थिइन्। उनी त नेताहरुको करकापले उम्मेदवार भएकी थिइन्। तर‚ चुनाव जितेर कहिल्यै सांसद बन्छु भन्ने आफूले आशा नगरेको उनले बताइन्।

समय क्रममा सबैभन्दा ठूलो पार्टी तत्कालीन नेकपा विभाजित भयो। नेकपा एमाले र नेकपा माओवादी पुरानै अवस्थामा फर्किए। एमालेभित्र मतभेदको अवस्था सिर्जना भयो। जसको फाइदा जनता समाजवादी पार्टीलाई मिल्यो। पार्टलाई पुगेको फाइदा पुरमतीलाई मिलेको छ।

केही महिनाअगाडि आफ्नै पार्टीका तीनजना सहयात्री मन्त्री बनेपछि उनको मनमा पनि मन्त्री बन्ने हुटहुटी चल्यो। र‚ मन्त्री बन्ने खेलमा लागिन्। तर राजनीतिक चलखेलभित्र उनले आशा मारेकी थिइन्।

गएको वर्षदेखि पार्टी परिवर्तन गरे मन्त्री बनाउने प्रस्ताव आफूलाई आएको उनले खुलासा गरिन्। ‘लाखौं पैसा लिएर आफ्नो पक्षमा लैजाने प्रयास पनि गरे। तर पार्टीको निर्देशनलाई पालना गरेरे बसें‚’ उनले भनिन्‚ ‘इमान्दारिताको फल‚ अहिले मन्त्री बन्न पाएँ। जुन कल्पना गरेकी थिइनँ।’

पुरमती अहिले लुम्बिनी प्रदेशको बिनाविभागिय मन्त्री छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.