|

काठमाडौं : नेपालको महिला अधिकार र जहानियाँँ राणा शासनविरुद्ध लड्न स्वर्गीय मङ्‌गलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको छ।

नेपाल महिला संघकी संस्थापक अध्यक्षसमेत रहेकी स्व. सिंहले जहानियाँ राणा शासनको कठोर समयमा जोखिम उठाउँदै महिलाका हकहितका लागि देशभरका महिलालाई एकतावद्ध गर्न महत्वपूर्ण भूमिका खेलेकी थिइन्‌।

स्व. सिंहको जन्म वि.सं. १९८१ मा काठमाडौँमा भएको हो। वि.सं.१९९७ असारमा गणेशमान सिंहसँग विवाह भएपनि १९९७ कात्तिकमा गणेशमान सिंह प्रजापरिषद्मा लागेको भन्दै जन्मकैदको सजाय भएपछि उहाँ जहानियाँँ राणा शासन विरोधी आन्दोलनमा सक्रिय भएकी थिइन्‌। 

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला मङ्‌गलादेवी महिला आन्दोलनको क्रियाशील व्यक्तित्व भएको बताउँछन्‌। मङ्‌गलादेवीको योगदानका कारण अहिले सरकार र पार्टीभित्र महिलाको एकतिहाइ अधिकार सुनिश्चित भएको उनको भनाइ छ।

‘देशभर भएको सशस्त्र क्रान्तिमा मङ्‌गलादेवी, दिव्या कोइराला, सुष्मा कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, नोना कोइरालालगायत जेल पर्दा मैले उहाँलाई जेलमा भेटेको थिए, उहाँ साहसी महिला हुनुहुन्थ्यो’, उनी भन्छन्‌। 

मङ्‌गलादेवी वि.सं. २००४ मा भूमिगत सङ्गठनका रुपमा नेपाल महिला संघको स्थापना गरेर अध्यक्ष भएकी थिइन्‌। वि.सं. २००५ मा पद्मशमशेरले गरेको सुधारप्रति असन्तोष प्रकट गर्दै उहाँ जुलुस लिएर राणाको दरबार पुगेकी थिइन्‌।

​वि.सं. २००७ को सशस्त्र क्रान्तिमा उनले ठूलो भूमिका निर्वाह गरेकी थिइन्‌। नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी नेपालको प्रजातन्त्र स्थापनामा मङ्‌गलादेवीको ठूलो योगदान रहेको बताउँछिन्‌। ‘निर्वाचनमा महिलालाई भोट दिने अधिकार, महिलालाई शिक्षा दिने अधिकार उहाँकै योगदानबाट सम्भव भएको हो’, उनी भन्छिन्‌।

मङ्‌गलादेवीलाई वि.सं. २०१७ मा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी पाँच वर्ष कैद गरिएको थियो। उनी वि.सं. २०२५ पछि आठ वर्ष प्रवासमा रहेकी थिइन्‌।

​मङ्‌गलादेवी वि.सं. २०४२ मा सत्याग्रह र वि.सं. २०४६ को आन्दोलनमा पनि सक्रिय रहेकी थिइन्‌। वि.सं. २०४८ प्रतिनिधिसभा निर्वाचनमा उनी पराजित भइन्‌। उनले ‘नारी संघर्षका पाइलाहरू’ नामक संस्मरणात्मक पुस्तकसमेत प्रकाशन गरेकी छिन्‌। सिंहको निधन वि.सं. २०५३  भदौ १० गते भएको थियो।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह उनका छोरा हुन्‌। मङ्‌गलादेवीको स्मृति दिवसकै अवसर पारेर आज नेपाल महिला संघ केन्द्रीय समितिले धापासीस्थित केन्द्रीय कार्यालयमा रहेको प्रतिमामा माल्यार्पण गर्ने गरेको छ। यस्तै उनको स्मृति दिवसको अवसर पारेर देशभर नेपाल महिला संघले विभिन्न कार्यक्रम गर्ने अध्यक्ष रेग्मीले जानकारी दिए।

मङ्‌गलादेवीको शालिकमा माल्यार्पण 

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघका संस्थापक अध्यक्ष मङ्‌गलादेवीको २६ औँ स्मृति दिवसका अवसरमा उनको शोभाभगवतीस्थित शालिकमा माल्यापर्ण कार्यक्रम आयोजना गरिएको छ।

नेपाल महिला संघ काठमाडौँको आयोजनामा आज आयोजना गरिएको कार्यक्रममा कांग्रेस नेता प्रकाशमानलगायत नेताले शालिकमा माल्यार्पण गरे। 

माल्यार्पणपछि कांग्रेस नेता प्रकाशमानले नेपालको महिलामुक्ति आन्दोलन र महिला अधिकारका लागि आवाज उठाउने महिलानेत्री उनी भएको बताए। महिलालाई सङ्गठित बनाउन मङ्‌गलादेवीको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो।

‘नेपालमा एकतन्त्रीय राणाशासन फाल्ने कुरामा होस् या प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा होस् स्व. मङ्‌गलादेवीको महत्वपूर्ण योगदान रहेको छ’, उनले भने।

अर्को फरकप्रसंगमा उनले प्रजातान्त्रिक पार्टी कांग्रेसको महाधिवेशन समयमै निष्पक्ष र धाँधलीरहित तवरले हुनुपर्ने बताए। विधि, प्रक्रिया पूरा नगरेकाले अहिले कांग्रेसभित्रको क्रियाशील सदस्यतामा विवाद देखिएको उनको भनाइ थियो।

उनले संविधानमा नै महिलालाई ३३ प्रतिशत अधिकारको सुनिश्चित गरेकाले पार्टीले पनि ३३ प्रतिशत अधिकार सुनिश्चित गरेको उल्लेख गरे। पार्टीलाई संस्थागतरूपमा अगाडि बढाउनका लागि महिलाले विवेकसम्मत ढङ्गले मताधिकार प्रयोग गर्नुपर्ने उनको भनाइ थियो। 

कार्यक्रममा पूर्वमन्त्री एवं सांसद राजेन्द्रकुमार केसी, कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, नेपाल महिला संघ काठमाडौँका सभापति विष्णुदेवी पुडासैनीलगायत सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.