|

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरण छानबिन गर्न गठित संसदीय समितिमा गृहमन्त्रीको नाम किटेरै उल्लेख गर्नुपर्ने आफ्नो अडान कायम रहेको बताएको छ।

आइतवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कार्यदल सदस्य समेत रहेका सांसद जीवन परियारले कार्यदल बैठक काँग्रेसले अघि सारेको प्रस्तावमा जहाँको त्यहीँ भएको बताए। उनले आफूहरू गृहमन्त्री लामिछानेको नाम तोकेरै कार्यादेश बनाउनुपर्ने अडानमा कायम रहेको उल्लेख गर्दै सत्तापक्ष सहमत नभएको बताए।

उनले सत्तापक्ष विभिन्न शब्दहरूमा खेलिरहेको आरोप पनि लगाए। उनले विभिन्न सहकारीको रकम अपचलन भएको गोर्खा मिडिया नेटवर्कसँग सम्बद्ध पदाधिकारीलाई छानबिनको दायरामा नल्याएसम्म काँग्रेस मान्नेवाला नरहेको स्पष्ट पारे। उनले कार्यादेशमा सहमति भएर संसदीय छानबिन समिति नबने बजेट प्रस्तुत हुँदा आफूहरूको आन्दोलन जारी रहने बताए।

परियारले भने, ‘कार्यदलको बैठकमा नेपाली काँग्रेसले उठाउँदै आएको विषयमा सत्तापक्षले रवि लामिछानेको नाम राखेर कार्यादेश बनाउन असमर्थ छौँ भनेको छ। नेपाली काँग्रेस गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको र त्यहाँ भएका पदाधिकारीहरूलाई छानबिनको दायरामा नल्याएसम्म नेपाली काँग्रेसले मान्नेवाला छैन। भोलिसम्म सहमति गरेर कार्यादेश बनेर छानबिन समिति बन्यो भने संसदबाट बजेट आउँछ। होइन भने हाम्रो विरोध जारी रहन्छ।’

नेपाली काँग्रेसकी सांसद जावेदा खातुन जागाले सहकारीबाट अपचलन भएको जनताको लाखौँ रुपैयाँ रकम फिर्ता नभएसम्म आफूहरू पछि नहट्ने बताइन्। उनले गृहमन्त्रीमाथि छानबिन समिति नबनेसम्म आन्दोलन जारी रहने बताइन्।

नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद स्वर्णिम वाग्लेलाई सहकारी ठगको मतियार भएको आरोप लगाइन्। वाग्लेले प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा बिपी कोइरालाको नाम लिएको भन्दै सहकारी ठगलाई बिपीको नाम लिने अधिकार नभएको बताइन्।

उनले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्ने गरी संसदीय छानबिन समिति नबनेसम्म काँग्रेसको आन्दोलन जारी रहने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.