रुकुम (पूर्व) : भूमे गाउँपालिका–५ स्थित बालुवामा उत्तरगङ्गा नदी र रुकुमगाड खोलाले रातदिन जमिन कटान गरिरहेको छ। नदी किनारका बस्ती उच्च जोखिममा परिसकेका छन्। तर, सरोकारवाला निकायले नागरिकको जीउधन बचाउनेतर्फ ध्यान दिइरहेको छैन।
बर्खा शुरू भएदेखि नै बालुवामा रहेको खेतीयोग्य जमिनलाई दुई तिरबाटै नदी र खोलाले रातदिन कटान गरिरहँदा अहिले बस्ती नै उच्च जोखिममा परेको हो।
मकैबाली रहेको खेतीयोग्य जमिनलाई एक तिरबाट उत्तरगङ्गा नदी र अर्काे पट्टिबाट रुकुमगाड खोलाले कटान गरिराखेको स्थानीय विश्व केसीले जानकारी दिए।
नदी र खोलाले दिनरात खेतीयोग्य जमिन कटान गरिरहेकोले बस्ती अहिले उच्च जोखिममा परेको केसीले बताए। उनका अनुसार मकै रोपिएको अनुमानित ४०० क्षेत्रफल जमिन कटान गरी बगाइसकेको छ।
‘गत वर्षदेखि नै खेतीयोग्य जमिन कटान हुन थालेको हो, सुरक्षाका लागि तटबन्ध गरिदिन सरोकारवाला निकायलाई ध्यानाकर्षण गरिँदै आएको हो,’ केसीले भने, ‘तर जिल्लास्थित सरोकारवाला निकाय मौन भए।’
सरोकारवालाले समयमै वास्ता नगरेकाले अहिले एकतिर बर्खे बाली सहितको खेतीयोग्य जग्गा क्षति भएको र अर्कातिर कटानबाट बस्ती नै उच्च जोखिममा परेको केसीको भनाइ छ।
बालुवामा १५ घरधुरी रहेका छन्। बालुवाको बस्ती भूमेको भूभाग पर्छ भने बासिन्दा सिस्ने गाउँपालिकाका रहेका छन्। साँझ, बिहान घरमा खाना पकाएर खाने गरिरहेका भने राति सुरक्षित ठाउँमा गएर सुत्ने गरेका छन्। बस्ती छुन उत्तरगङ्गा नदीबाट अनुमानित २० मिटर र रुकुमगाड खोलाबाट २५ मिटरको मात्र जमिन बाँकी रहेको बताइएको छ।
हाल नदी र खोलाको बहाव उर्लिरहेकोले बस्ती सुरक्षाका लागि तटबन्ध गर्न सम्भव नरहेको सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोवर्द्धन बुढा मगरले बताए। नदी र खोलाको बहाव कम भए मात्र तटबन्ध लगायत बस्ती सुरक्षाका लागि अन्य उपाय अपनाएर नियन्त्रण गर्न सकिने बुढा मगरको भनाइ छ।
‘हाल उर्लिएर रहेको भेलमा नदी र खोला नियन्त्रणको कुनै उपाय छैन,’ बुढा मगरले भने, ‘अहिलेलाई त्यहाँका नागरिक सुरक्षित बस्तीमा सार्नुको विकल्प छैन।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।