|

काठमाडौं : शुक्रबार विश्व ट्रान्सफर बजार एकपछि अर्को समाचारले तरंगित बन्यो। विशेष गरेर पोर्चुगलका विश्व चर्चित स्टार रोनाल्डो युभेन्टस छाडेर इङ्‌ग्लिस क्लब म्यानचेस्टर सिटी जाने चर्चा सर्वाधिक रह्यो।

तर, दिनको अन्तमा अवस्थामात्र फेरिएन, रोनाल्डोलाई अनुबन्ध गर्ने क्लबसमेत फेरियो। म्यानचेस्टर युनाइटेडले रोनाल्डो भित्र्याउने जानकारी नै दियो। विकसित घटनाक्रमले सिटी पछि हट्दा युनाइटेड आफ्ना पुराना युवा खेलाडीलाई ३६ वर्षको उमेरमा क्लबमा पुनः अनुबन्धन गर्न सफल भयो।

युनाइटेडको रोनाल्डो क्लबमा भित्र्याउनुको पछाडिको कारण उपाधि खडेरी टार्ने विश्वास नै हो। करिब १३ वर्षपछि रोनाल्डो इङ्‌ग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किने निश्चित हुँदा स्वभाविक दबाब रोनाल्डोलाई हुनेछ।

३६ वर्षीय रोनाल्डोका लागि युनाइटेडले १२.८ मिलियन पाउण्ड तिर्ने भएको छ। सम्झौताका लागि व्यक्तिगत शर्तहरू, प्रवेशाज्ञा तथा मेडिकलका कामहरू भइरहेको पनि क्लबले जनाएको छ।

सन् २००९ मा रियल मड्रिड जानुपूर्व रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि २९२ गोलमा ११८ गोल गरेका थिए। सन् २०१८ मा रियल मड्रिडबाट उनी इटालियन क्लब युभेन्टस गएका थिए। युभेन्टस सँगको सम्झौता एक वर्षा बाँकी रहँदै उनी क्लब छोड्ने निर्णयमा पुगेका हुन्‌।

​म्यानचेस्टर युनाइटेडले एक वक्तव्य जारी गर्दै रोनाल्डोलाई स्वागत गर्न क्लब निकै आतुर रहेको उल्लेख गरेको छ। म्यानचेस्टर सिटी र रोनाल्डोबीच अनुबन्ध सम्बन्धमा व्यक्तिगत शर्तहरू सहमति भइसकेको भन्दै उनी सो क्लबमा अनुबन्धित हुने दाबीलाई युनाइटेडले पछि पार्न सफल भयो।

यसअघि ६ वर्ष युनाइटेडमा बिताउँदा तीनपटक तीनपटक प्रिमियर लिग, एकपटक च्याम्पियन्स लिग, दुईपटक लिग कप र एकपटक एफए कपको उपाधि जितेका थिए। त्यस्तै, फिफा क्लब वर्ल्ड कप तथा कम्युनिटी शील्ड पनि जितेका थिए।

अब दोस्रो इनिङमा युनाइटेडलाई सोही सफलता दिलाउनु रोनाल्डोको मुख्य चुनौती हो। २०१२/१३ को सिजन सर एलेक्स फर्गुसनले उपाधि दिलाएयता युनाइटेड प्रिमियर लिगविहीन छ। त्यसैले पनि रोनाल्डोका लागि युनाइटेडको उपाधि भोक मेटाउने चुनौती सर्वाधिक अघि रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.