|

जनकपुरधाम : नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) फुटेर बनेका दुई नयाँ पार्टीमा प्रवेश गरेका स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन आयोगको कार्यालय पुगेर आफू नयाँ वा पुरानो पार्टीमै रहेको जानकारी दिन थालेका छन्।

प्रदेश २ को धनुषा, महोत्तरी लगायतका जिल्लाका स्थानीय तहका जनप्रतिनिधि नयाँ पार्टी प्रवेश गरेको जानकारी दिन मंगलबार निर्वाचन कार्यालय पुगेका हुन्। जनप्रतिनिधिले पुरानो पार्टी छाडेर नयाँ पार्टीमा गएको जानकारी दिन सुरू गरेका हुन्।

२ भदौमा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको हो। त्यसअनुसार, निर्वाचन आयोगले दुवै दलका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई २२ भदौसम्म नयाँ पार्टीमा जान पाउन समय दिएको छ।

आयोगले नयाँ दलमा प्रवेश गरेको जानकारी दिन आफैं निर्वाचन कार्यालय पुगेर सनाखत गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसअनुसार, धनुषा, महोत्तरीका स्थानीय तहका जनप्रतिनिधि मंगलबार जिल्ला निर्वाचन कार्यालय पुगेका हुन्।

आज (मंगलबार) देखि नयाँ पार्टी प्रवेश गर्ने जनप्रतिनिधिको सनाखत हुन थालेको प्रदेश निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले बताइन्। प्रदेश निर्वाचन कार्यालय रहेको ठाउँमा स्थानीय तहका जनप्रतिनिधिको सनाखत पनि प्रदेश कार्यालयले नै गर्ने व्यवस्था मिलाइएको जानकारी उनले दिइन्।

जसपा छोडेर लोसपामा गएको जानकारी दिन स्थानीय तहका जनप्रतिनिधि निर्वाचन मंगलबार कार्यालय पुगेका छन्। स्थानीय तहका जनप्रतिनिधिले नयाँ पार्टीमा गएको जानकारी दिँदै सनाखत गर्न थालेपछि निर्वाचन कार्यालयको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

त्यस्तै, एमाले छाडेर एकीकृत समाजवादीमा गएका जनप्रतिनिधिले बुधबार निर्वाचन कार्यालय पुगेर सनाखत गर्ने तयारी गरेका छन्। एमाले छाडेर नयाँ पार्टीमा प्रवेश गरेका प्रदेशसभा सदस्यले बुधबार सनाखत गर्ने तयारी रहेको एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बताए। उनले भने, ‘भोलि निर्वाचन कार्यालय गएर सनाखत गर्छौं, पर्सी बैठक बसेर संसदीय दलको नेता चयन गर्छौं।’

लोसपामा गएका प्रदेश सांसदले भने एक–दुई दिनभित्रै सनाखत गर्ने बताएका छन्। त्यसका लागि बुधबार लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी जनकपुर आउँदै छन्।

त्यसपछि प्रदेश सांसदले नयाँ पार्टी प्रवेश गरेको जानकारी निर्वाचन आयोगलाई दिने तयारी रहेको लोसपा नेता वृषेशचन्द्र लालले बताए। उनले भने, ‘भोलि अध्यक्षसहित नेताहरू आउँदै हुनुहुन्छ। उहाँहरूसँग छलफल गरेर सनाखत गर्ने तयारीमा छौं। सबै जना एकै पटक आयोग पुगेर सनाखत गर्ने छौं।‘

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.