|

काठमाडौं : पाँच दलीय सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नको लागि गठबन्धनको बैठक बसेको हो। 

गठबन्धनमा सामेल सबै दलका शीर्ष नेताको उपस्थितिमा बैठक जारी रहेको प्रधानमन्त्री देउवाको स्वकीय भानु देउवाले जानकारी दिए। 

बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरूको सहभागिता छ। 

प्रधानमन्त्री देउवा नेतृत्वमा गठबन्धनको सरकार बनेको आज ७५ दिन पूरा भइसक्यो। तर, अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। 

राजनीति दलसम्बन्धी अध्यादेश र मालदार मन्त्रालयमा नेताहरूबीच भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ। अध्यादेश निष्क्रिय नभएसम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने जसपा अध्यक्ष यादवको अडान छ। यता, सर्वोच्च अदालतमा माधव नेपालको पार्टीविरुद्धकाे मुद्दासमेत किनारा लागिसकेको छैन।

हालसम्म देउवाले गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन मन्त्रीमा ज्ञानेन्द्र कार्की, अर्थमन्त्रीमा जनार्दन शर्मा अर्थ, उर्जा मन्त्रीमा पम्फा भुसाल, परराष्ट्रमन्त्री नारायण खड्का र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका छन्। 

अर्थमन्त्री शर्मा र ऊर्जामन्त्री भुसालबाहेक सबै कांग्रेसकै हुन्। सरकारको नेतृत्व गरेको लामो समय बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर सरकारको आलोचना भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.