|

इलाम : नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले एमालेको सूर्य चिन्हको ट्रेडमार्क नोकिया फोन जस्तो भएकाले निर्वाचनसँगै हराएर जाने चेतावनी दिएकी छन्। उनले विचारविहीन एमाले निर्वाचनपछि पतनको बाटोतर्फ जाने बताइन्।

‘मोबाइल बनाउने लोकप्रिय कम्पनी नोकिया बजारबाट हराए जस्तै एमालेको सूर्य नोकिया फोनजस्तै हुनेछ’, झाँक्रीले भनिन्, ‘क्रान्तिकारी पार्टी ठूला तानाशाहको प्रतीमा र सालिकबाट चल्दैन। यदि हुन्थ्यो भने इराकमा अझै पनि सद्दाम हुसेनको शासन टिक्ने थियो।’

विश्वका डरलाग्दा तानाशाह मुसोलोनीको शासन र अग्ला सालिक समेत ढलेकाले केपी ओलीको तामझाम दुईचार दिनमात्रै रहने भन्दै उनले एमालेको विधान भेला पूर्वपञ्चको भेला जस्तै भएको बताइन्। उनले दक्षिणपन्थी भासमा पसेर संविधान मास्ने ओलीको गान गाउने र ठूला फोटामुनि फोटो खिच्ने विचारविहीन व्यक्तिहरू मात्रै भएको आरोप लगाइन्।

इलामको माईजोगमाईमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटनमा बोल्दै झाँक्रीले जनताको विचार र कम्युनिष्ट कार्यदिशा छोडेर हिँड्दा विश्वका अन्य तानशाह ढलेझैँ केपी ओली पनि बालुवाटारबाट बालकोट पुगेको बताइन् ।

‘बादशाह र तानाशाहले राज्यशक्ति दोहन गरेर आर्जन गरेको पैसाले ठूला कद निर्माण गर्ने भएकाले ओलीले पनि राज्यशक्तिको दोहन गरी भजनमण्डलीबाट आफ्ना अग्ला फोटा सहरका भित्तामा राख्ने गरेका छन्’, उनले भनिन्, ‘जब विचार राजनीति मूल्य, संस्कार र जनचाहना विपरीत तानाशाह हिँड्छन्, उनीहरू इतिहासबाट हराएका गएका छन् ।’

उनले कम्युनिष्ट पार्टी विचार र नीति सिद्धान्तबाट अघि बढ्नुपर्नेमा एमाले पार्टी विचारविहीन भएकाले विद्रोह गरी समाजवादी क्रान्तिमा लागेको बताइन्। 
एउटा सहरबाट अर्को सहर पुग्दा हजारौँ मोटरसाइकल र्‍याली गर्नुपर्ने, स्तुति र अबीरजात्रा गर्नुपर्ने ओलीको तमासा राज्यसत्ता दोहन गरेर जम्मा भएका पैसा हुन्जेल मात्र रहने उनले बताइन् ।

‘२०४५ सालतिर पञ्चले पनि अहिलेका ओलीको जस्तै र्‍याली गरे पनि पञ्चायती शासन टिकेन’, उनले भनिन्, ‘२०६२/६३ मा पनि राजा ज्ञानेन्द्रले प्रायोजित रूपमा गरिएका अभिनन्दनले उनले शासन, सत्ता मात्रै गुमाएनन्, राजतन्त्र नै ढलेकाले अब ओलीको तामझाम केही दिन मात्रै देखिन्छ ।’ नक्कली र प्रायोजित लोकप्रियताको बाटोमा खड्गप्रसाद ओली हिँडेकाले अब धेरै दिन टिक्न नसक्ने धारणा राखिन् ।

‘ओलीसँग अहिले उनका भजनमण्डली र चाकर मात्रै हिँड्दै छन्। खड्गप्रसाद ओलीका नजरमा कम्युनिष्ट पार्टीभित्र कमरेड होइन दुश्मन र चाकर छन् । उनका दुश्मनहरू हामी पार्टीबाट विद्रोह गरी नयाँ ढंगले आन्दोलन पुनर्गठन गर्ने संकल्पमा लागेका छौँ’, उनले भनिन्, ‘अब उनीसँग चाकर मात्रै छन् ।’

गोदावरीमा भएको विधान सम्मेलन चाकरको कुम्भ मेला मात्र भएको झाँक्रीको भनाइ छ। ‘एमाले दक्षिणपन्थीको बाटोमा मात्रै हैन, विघटनको बाटोमा छ, टोलटोलमा केन्द्रीय सदस्यको पद बाँडिदै छ।’

संविधान मास्नका लागि संसद् विघटन ओली एण्ड कम्पनीलाई सत्तामा बसेर लुटिएको पैसाबाट पानीका बोतलमा फोटो टाँसिएको भन्दै झाँक्रीले जुत्ता, मोजा, लुगामा पनि ओलीको फोटो टाँसेर हिँड्ने ओलीको भजनमण्डली धेरै नटिक्ने बताइन्।

व्यक्तिवादमा केन्द्रित, विचारविहीन व्यक्तिगत अहंकारबाट ग्रसित भएर दुई तिहाइको सरकारलाई गिराउने, संसद् विघटन गराउने, जनताबाट निर्माण गरिएको संविधान मात्रै नभएर जनक्रान्तिबाट संस्थागत भएका उपलब्धि सत्यानास गर्ने केपी ओलीको अन्त्य दुःखदायी भएर जाने उनले दाबी गरिन्।

कार्यक्रमा नेकपा एकीकृत समाजवादीकी नेतृ तथा प्रदेश सासंद खिनु लङ्वा लिम्बु, माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राई, समाजवादीका इलाम अध्यक्ष भक्त केसी, बुद्धिजीवी आरसी नेपाल, युवा संघका नेता महेश तिवारी लगायतले मन्तव्य राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.