|

कपिलवस्तु :  वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनको विषयलाई लिएर कपिलवस्तुका मतदाता र राजनीतिक दल दुवै अन्यौलमा परेका छन्। जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन हुनेमा तीन ठूला दल र उम्मेदवारका आकांक्षी समेत सशंकित बनेका छन्। सरकारले दुई चरणमा निर्वाचन गर्ने, संशोधन मार्फत स्थानीय तह थप हुन सक्ने र संसदमा दर्ता भएको संशोधन विधेयक मधेस केन्द्रित दलले नमान्ने परिस्थितिले चुनाव हुने या नहुनेमा सर्वसाधारणहरु दोधारमा परेका छन्।

पूर्व–पश्चिम राजमार्गसंग रहेका उत्तरी क्षेत्रका बाणगंगा, वुद्धभूमि र शिवराज नगरपालिका क्षेत्र बाहेक अन्य ७ वटा स्थानीय तहमा मधेस केन्द्रित दलको वर्चस्व छ। कपिलवस्तु नगरपालिका, महाराजगंज नगरपालिका र कृष्णनगर नगरपालिकामा यथास्थितिमा चुनाव हुने अनिश्चित देखिन्छ। विजयनगर, यशोधरा, मायादेवी र शुद्धोधन गाउँपालिकामा समेत यही अवस्था कायम रहे चुनाव हुन असहज हुने मधेस केन्द्रित दलको भनाइ छ। सरकारले बाणगंगा नगरपालिका बाहेक जिल्लाका कुनै पनि  स्थानीय तहमा चुनाव गराउन नसक्ने सदभावना पार्टीका केन्द्रीय सदस्य रविदत्त मिश्राले दावी गरे।

जिल्लाका तीन ठूला दलले पनि मधेस केन्द्रित दल सहमतिमा नआए कपिलवस्तुका ७ वटा स्थानीय तहमा निर्वाचन गराउन असम्भव हुने बताएका छन्। नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष शोहरत तेलीले सहमति विना निर्वाचन गराउन मधेसमा चुनौती भएको बताए। “बुथको सुरक्षा मात्रै होइन, मतदाताको सुरक्षाको विषय अहिले मधेसमा गम्भीर छ” उनले भने।

साझा सहमतिविना निर्वाचनमा समस्या देखिन सक्ने माओवादी केन्द्रका जिल्ला इन्चार्ज भानुप्रकाश श्रेष्ठ बताउँछन्। 'लामो समयपछि हुन लागेको स्थानीय तहको चुनाव सबैको साझा अधिकार हो, यसलाई सबैले अपनत्व लिएर सहमतिमा आएमात्र चुनाव हुन्छ” उनले भने।

नेकपा एमालेका जिल्ला उपाध्यक्ष बाबुराम खनालले मधेसकेन्द्रित दल सकेसम्म चुनाव हुन नदिने पक्षमा रहेको बताए। 'सरकारले चाहेमा चुनाव हुन्छ, मधेसका समुदाय चुनावको पक्षमा छन् डटेर लागे चुनाव सम्पन्न हुन्छ” उनले बताए। मधेस केन्द्रित दलको हैसियत खस्कदै गएकाले पनि उनीहरुले चुनावमा भाग लिन नखोजेको खनालले आरोप लगाए।

राप्रपाका जिल्ला नेता नारायणबहादुर सिंहले सरकारले चाहेमा कपिलवस्तुमा चुनाव हुन सक्ने बताए। “बाहिर चुनाव बहिस्कार गर्ने तथा विथोल्ने मोर्चाका कतिपय नेताले अहिले चुनावी तयारी गरेका छन्, त्यसैले चुनाव हुन्छ तर आँट गर्नुपर्छ” उनले भने। दोश्रो चरणमा गरेपनि कपिलवस्तुमा चुनाव हुने भएकाले सबै दलले चुनावी तयारी गरिरहेको उनको भनाइ छ।

भारतीय सीमानासंग जोडिएका तथा दक्षिणी भेगका नगरपालिका र गाउँपालिकामा चुनावी रौनक अझै देखिएको छैन। न त आन्दोलनको कुनै तरंग छ न चुनावको जोश। यसका बाबजुद पनि प्रमुख दलहरु चुनावको तयारीमा लागेका छन्। वैशाख पहिलो साताभित्र उम्मेदवारको टुंगो लगाउने केन्द्रीय निर्देशन अनुसार कांग्रेस, एमाले र माओवादी केन्द्रले छनौट प्रक्रियालाई तिब्रता दिएका हुन्।

दलहरुले बाणगंगा, बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिका क्षेत्रमा उम्मेदवार छनौट कार्य अन्तिम चरणमा पुगेको छ भने घरदैलो तथा भेटघाट अभियानलाई पनि तिब्रता दिइएको छ। सम्भावित उम्मेद्धवारले चुनावी खर्चको श्रोत जोहो गरिरहेका छन्। केही दलले सहकार्यमा चुनाव लड्ने रणनीति बनाइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.