|

बझाङ : जिल्ला अस्पताल बझाङमा विद्युत आपूर्ति अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ। लगातारको बर्षाका कारण गएको बाढीपहिरोले बझाङ जोडने राष्ट्रिय प्रसारण लाईन अवरुद्ध भएको छ।

विधुत सेवा अवरुद्ध हुँदा अक्सिजन, नेवुलाइजर, शल्यक्रिया, एक्सरे, भिडियो एक्सरे जस्ता उपकरण सञ्चालन हुन नसक्दा स्वास्थ्य सेवा प्रभावित भएको हो।

विद्युत सेवा नभएपछि आकस्मिक सेवा पनि प्रभावित हुँदा बिरामीलाई झन समस्या भएको छ। विद्युत समस्याका कारणले अस्पतालमा आएका बिरामीहरूलाई तत्काल सेवा दिन अफ्ठेरो भएको अस्पतालले जनाएको छ।

दैनिक सयौंको संख्यामा विरामीहरू अस्पताल आउने गरेको र विद्युत नहुँदा बिरामीलाई दिनभर कुराउनु पर्ने अवस्था आएको जिल्ला अस्पताल बझाङका प्रमुख डा योगेन्द्र खातीले बताए।

उनले भने, ‘विद्युत सेवा अवरुद्ध भएको एक हप्ताभन्दा बढी भयो। एक हप्तादेखि अस्पतालमा भएको वैकल्पिक ऊर्जा जेनेरेटर चलाएर सेवा दिइरहेका छौँ। जेनेरेटर चलाउनका लागि डिजेल पनि सकियो। बाढीपहिरोले सडक अवरुद्ध हुँदा बजारमा डिजेल पाउने अवस्था छैन। शुक्रबारदेखि सबै सेवा ठप्प छ। अहिले त आकस्मिक सेवा पनि दिन सकिएको छैन।’

चैनपुर बजारमा विजुली बलिरहेको भए पनि संवेदनशील क्षेत्र अस्पतालमा विजुली नभएको र विधुत सेवा सुचारु गर्नका लागि विद्युत प्राधिकरण वितरण शाखा चैनपुरमा जानकारी गराएको उनले बताए।

नेपाल विधुत प्राधिकरणले दुई सय किलोवाटको जेउलीगाड जलविधुत आयोजनाबाट चैनपुरमा बिहीवार साँझदेखि विद्युत सेवा सुरु गरेको छ।

प्राधिकरण वितरण शाखा चैनपुरले विद्युतको खपत बढी र उत्पादन क्षमता कम हुँदा बजारमा पनि आलोपालो विद्युत आपुर्ति गरिरहेको छ। अस्पताल लाइनमा विद्युतका पोल ढलेको र केही स्थानमा मर्मत गर्नुपर्ने भएकाले समय लाग्ने वितरण शाखा प्रमुख हरेन्द्रराय यादवले बताए।

बैतडीको खोडपेदेखि चैनपुरसम्म ६० भन्दा बढी पोल ढलेका कारण राष्ट्रिय प्रसारणको लाइन मर्मत गर्न समय लाग्ने यादवले सुनाए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.