|
उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा इलामकाे रोङ गाउँपालिका र काठमाडौं महानगरपालिकाबीच भएको खेल। तस्वीर : नमिन ढकाल

इलाम : उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा इलामकाे रोङ गाउँपालिकाले काठमाडौं महानगरपालिकासँग बराबरी खेलेको छ। एन्फा कम्प्लेक्समा भएकाे आफ्नाे पहिलाे खेलमा राेङले काठमाडौसँग गाेलरहित बराबरी खेलेकाे हाे।

दुवै टाेलीले केही राम्रा अवसरलाई गाेलमा परिणत गर्न नसक्दा १/१ अंक बाँडेका छन्।

राेङकाे टिम नेपाली राष्ट्रिय महिला टाेलीकी मिडफिल्डर दिपा राई र इन्दिरा राई, डिफेन्डर विमला बिक र गाेलरक्षक रूपा रानासहित मैदान उत्रिएकाे थियाे।

अखिल नेपाल फुटबल संघको आयोजनामा कात्तिक ४ गते सुरु प्रतियोगितामा राेङले अब ९ गते सिमीकाेट गाउँपालिकासँग खेल्ने छ। यसअघि गत ५ गते सिमीकाेट र काठमाडौंबीच प्रतिस्पर्धा हुने तय भए पनि खेल ११ गतेलाई सारिएकाे छ।

प्रतियोगितामा कुल ३१ पालिकाको सहभागिता रहेको छ। छनोट प्रतियोगिताबाट २ वटा टिमले राष्ट्रिय महिला लिग खेल्नेछन्।

एन्फाले राष्ट्रिय लिगमा यसअघि ३ विभागीय क्लब (त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लब) र मोफसलका वालिङ नगरपालिका स्याङ्जा, विराटनगर महानगरपालिका मोरङ, चन्द्रपुर नगरपालिका रौतहटलाई सीधै राष्ट्रिय लिगमा प्रवेश दिएको छ।

गत वर्ष राष्ट्रिय लिगमा खराब प्रदर्शन गरेको चौदण्डीगढी नगरपालिका उदयपुरले भने यसपटक छनोट खेल खेल्दैछ।

एउटा टिमले ४ जनासम्म विभागीय खेलाडीसमेत अनुबन्ध गरेर सहभागी हुन पाउने नियम एन्फाले बनाएपछि अहिले राेङ गाउँपालिकाले आर्मीबाट ३ जना र सशस्त्र प्रहरीकाे गाेलरक्षकलाई खेलाएकाे छ।

नियमअनुसार छनोट भएका दुई टिमका खेलाडीले राष्ट्रिय लिगमा सोही क्लबबाट खेल्नुपर्ने र विभागबाट आएका खेलाडीको हकमा भने विभागीय खेलाडी क्लबमा फर्कन पाउने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.