‘चुनावकाे विकल्प छैन, लोकतन्त्र र संविधानको रक्षा हामी गर्छाैँ’

|
फाइल फोटो

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व ठीक नभएकाले संसद असफल हुँदै गएको दावी गर्दै सभामुख अग्निप्रसाद सापकोटाप्रति पनि आक्रोश व्यक्त गरेका छन्। 

मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट देशभरका पार्टीको पालिका अधिवेशनको भर्चुअली उद्घाटन गर्दै ओलीले संसदको नेतृत्व नै ठीक नभएको दावी गरे। 

ओलीले भने, ‘सरकार त सम्पूर्ण रुपमा असफल भएको छ। अब राज्यका तीनै अंग व्यवस्थापिका संसद अशक्त भइराखेको छ, असफल भएको छ र त्यसको नेतृत्व यस्तो विवादास्पद छ। विवादमा परेकाले राजीनामा दिनुपर्छ भनेर भन्दै हिँडेका छन्, तीनै मान्छेहरु विवादमा परेको आफ्नै मान्छे उहाँहरुको किन आफ्नै मान्छे भन्नु पर्‍यो भने उहाँ निष्पक्ष त हुन सक्नु भएन।’

व्यवस्थापिका प्रभावकारी ढंगले अगाडि बढ्न नसकेको उनको भनाइ छ। अरुको निष्काशनको पत्र तुरुन्त ढोकाबाटै मागेर टाँस्ने, नेकपा एमालेका सांसदहरुको  निष्काशनको पत्र विचाराधीन राखेर निर्वाचन आयोगलाई एमाले विरुद्ध गतिविधि गर्नका लागि सजिलो बनाइदिने? ओलीले प्रश्न गरे। 

‘व्यवस्थापिका प्रभावकारी ढंगले अगाडि बढ्न सकेन,निष्प्रभावी भयो। पक्षपातपूर्ण भयो। त्यसको नेतृत्व नै ठीक भएन। यस्तो विडम्बनाको स्थिति छ। नेतृत्व ठीक भएन भने त्यसलाई फेर्ने त्यहाँको गणित यस्तो विवेक शुन्य तरिकाले चलिराखेको छ, त्यो गणितको दुरुपयोग भइराखेको छ’ ओलीको भनाइ छ। 

कार्यकर्तालाई निर्देशन 

ओलीले निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिएका छन्। लोकतन्त्र र संविधानको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउन एमालेले तीन वटै तहको निर्वाचनमा विजयी हुनुपर्ने अवस्था रहेको उल्लेख गर्दै तयारीमा जुट्न सिंगो पार्टी पङ्क्तिलाई निर्देश गरे। 

‘अब हामी चुनावतर्फ जाँदैछौं। तीनै तहको निर्वाचनतर्फ। मिति कुन-कुन हुने हो आफ्नो ठाउँमा छ, छोडिदिऊँ। जहिले होला चुनाव, हामी चुनावतर्फ जाँदैछौं’ ओलीले भने, ‘चुनावमा हामीले देश बिग्रन नदिने गरी, संविधानको रक्षा हुनेगरी, लोकतन्त्रको रक्षा हुनेगरी, विकास निर्माणको गति, जो अवरुद्ध गरिएको छ।’

लोकतान्त्रिक प्रक्रियालाई ठीक ठाउँमा ल्याउने गरी एमालेले आगामी निर्वाचनहरूमा परिणाम प्राप्त गर्नुपर्नेमा उनले जोड दिए। 

ओलीले भने, ‘हाम्रो पार्टीलाई कमजोर पार्न आन्तरिक घुसपैठदेखि आन्तरिक रुपमा अनेक प्रकरणका खेल हुनेदेखि यस्ता अनेक खेलहरु भए। आन्तरिक रुपमै पार्टी विरोधी विभिन्न प्रकारका व्यक्ति र तत्वहरु सृजना गर्ने र जो सुषुप्त भए, तिनलाई सक्रिय बनाउने र पार्टीलाई चोईट्याउनेसम्मका प्रयासहरु भए।’

एमालेको जमान सिद्धियो भनेर लाग्नेहरू असफल भएको उनको भनाइ छ। 

‘एमाले सिद्धियो भने। पहिले त उनीहरुले केपी ओलीविनाको एमाले भने। केपी ओली विनाको सरकार भने। केपी ओली विनाको सरकार त संसदीय गणितको कुरो हो। संसदको गणितमा सधैं विवेककै प्रयोग हुन्छ भन्ने होइन। दलीय व्यवस्थामा दलको ह्वीप प्रयोग हुन्छ। नहुने कुरा त हुँदो रहेछ’ उनले भने। 

ओलीले विरोधीहरुलाई खुसी पार्ने खालका कुनै पनि गतिविधि नगर्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। एकतावद्ध एमाले मुलुकको आवश्यक्ता भएको र सोही आवश्यक्ता पूरा हुने गरी पार्टीका हरेक नेता, कार्यकर्ताहरूले काम गर्नुपर्ने निर्देश गरे। 

‘न्यायाधीशहरूले राजीनामा दिऊन्’

ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशहरूले राजीनामा दिनुपर्ने बताए। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने विषयमा बहस केन्द्रित भइरहँदा ओलीले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका न्यायाधीशहरु सबैले सामूहिक रुपमा राजीनामा दिन उपयुक्त हुने धारणा राखे। 

प्रधानन्यायाधीश जबराप्रति लक्षित गर्दै पाँचै जनाले परमादेश जारी गर्ने तर एक जनाले मात्रै किन राजीनामा दिनुपर्ने? भनि प्रश्न समेत गर्न भ्याए। 

ओलीले भने, ‘आज सर्वोच्च अदालतमा आफैं देखिएको छ तमासा । श्रीमान् न्यायाधीशहरु, उहाँहरु आफैं कसैले के गरेको थियो। उधिन्न थाल्नु भएको छ। उधिन्दै जाँदा निक्लिँदै जान थालेका छन् कुराहरु। परमादेश त एक जनाले होईन, पाँचै जनाले गर्नु भएको थियो होला। पाँचै जनाले परमादेश गर्नु भएको थियो भने एक जनासँग किन राजीनामा माग्नुहुन्छ? श्रीमानज्यूहरु। पाँचै जनाले परमादेश गरेर देशलाई यो हालतमा पुर्‍याउनु भएको छ त। पाँचै जनाले राजीनामा गरे उपयुक्त होईन र?’

कानुन व्यवसायीहरुले पनि कानुन र संविधान नबुझेको आरोप लगाए। संविधानमा हुँदै नभएको राष्ट्रपतिका अधिकारहरू धावा बोलेर २४ घण्टाभित्र परमादेश जारी गराउनेहरू अहिले पोल खोलाखोल गरिरहेको उनको भनाइ छ। 

‘हाम्रो न्याय प्रणालीप्रति, हाम्रो न्यायिक संस्थाप्रति, न्याय निरुपणप्रति, न्यायिक निकायहरूप्रति आम जनताको आशा, भरोसा, विश्वास हुनुपर्दछ कि अन्त पाइन न्याय भने अदालतमा गएपछि पाउँछु भन्ने कुराको विश्वास हुनुपर्दछ। आज के त्यो विश्वासको स्थिति छ’ ओलीले भने, ‘जनतालाई मर्का परेर मुद्दाहरु त यथावत पेन्डिङमै छन् वर्षौदेखि। तर, नक्कली मुद्दाहरु अनेक खडा गरेर राजनीतिको थलो बनाउने कुराहरु चाँहि बडो तदारुकताका साथ भइराखेको छ। यतापट्टि मैले अहिले किन सन्दर्भ उठ्यो भने हामीले लोकतन्त्रको रक्षा गर्नुछ। लोकतन्त्र यतिकै आएको होईन।’ 

अदालतलाई मर्यादित, निर्विवाद र जनताको विश्वासको केन्द्र बनाउन पनि ओलीले पटकपटक आग्रह गरे। सरकार सम्पूर्ण रुपमा असफल भएको उनको टिप्पणी छ। 

‘एमालेले लोकतन्त्रको रक्षा गर्छ’

ओलीले लोकतन्त्र र संविधानका रक्षा एमालेले गर्ने दाबी गरे। 

‘लोकतन्त्र कुनै फैसलाबाट आएको होइन। धेरै वर्ष लामो वलिदानीपूर्ण संघर्षबाट लोकतन्त्र आएको हो। लोकतन्त्रको सुरक्षा सर्वाधिक महत्वको विषय छ, यतिबेला’ उनले भने, ‘ लोकतन्त्र नै भएन भने त हामी, लोकतान्त्रिक प्रणाली नै भएन।’

लोकतन्त्र र संविधान आफूहरुले ल्याएका दाबी गर्दै त्यसको रक्षा गर्ने कार्यभार आफ्नै काँधमा आएको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.