|
फाइल तस्वीर

खोटाङ : खोटाङमा ४ दिनमा प्रसव व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेका ४ गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

गएको सोमबार एकै दिन ३ जनाको उद्धार गरिएकोमा आज (बिहीबार) थप एक जना गर्भवतीको उद्धार गरिएसँगै यो संख्या ४ पुगेको हो।

प्रसव व्यथाले स्वास्थ्यमा गम्भीर समस्या देखिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २३ वर्षीया दीपा आचार्य, सोही ठाउँकी २४ वर्षीया मेनुका खड्का र साकेला गाउँपालिका–५ मात्तिमकी २४ वर्षीया सुनिता राईको सोमबार उद्धार गरिएको थियो।

यस्तै बिहीबार जिल्लाको जन्तेढुंगा गाउँपालिका–५, चिसापानीकी १९ वर्षीया हीरा राया खड्कालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको निःशुल्क हवाई सेवाबाट उद्धार गरिएको छ।

पारिवारिक स्रोतका अनुसार खड्कालाई हिजोदेखि प्रसव व्यथा लागेको थियो। अवस्था गम्भीर बन्दै गएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पुगेकी उनको गर्भमा शिशु खेल्ने पानीको मात्रा घटेको देखिएको केन्द्रले जनाएको छ।

केन्द्रले त्यहाँ उपचार सम्भव नभएपछि उद्धारको पहलका लागि जिल्ला प्रशासन कार्यालय खोटाङलाई पत्र पठाएको थियो।

केन्द्रको पत्रका आधारमा प्रशासनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, समन्वय इकाइ, सिंहदरबारलाई हेलिकोप्टरको व्यवस्थाका लागि सिफारिश गरेको थियो।

मन्त्रालयले हेलिकोप्टरको व्यवस्था गरेपछि खड्कालाई बिहीबार दिउँसो चिसापानीबाट उद्धार गरी प्रसूतिगृह थापाथली काठमाडौं पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.