|

जाजरकोट : पाँच महिनाका लागि उपल्लो डोल्पा सुरक्षाविहीन हुने अवस्थामा पुगेको छ। चिसो बढेपछि उपल्लो डोल्पाका तीन वटा स्थानीय तहमा रहेका प्रहरी चौकी सदरमुकाम दुनैमा सारिएपछि उपल्लो डोल्पा सुरक्षाविहीन भएको हो।

सुरक्षा दिने प्रहरी नै हिमपातले असुरक्षित भएपछि दुनै झारिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। 'प्रहरी चौकी बसेका घर रित्ता भएका छन्। प्रहरीहरु सदरमुकाम दुनै आइसकेका छन्,' धोकी प्रेमा गुरुङले भनिन्।

शे-फोक्सुण्डो, डोल्पोबुद्ध र  छार्काताङसोङ गाउँपालिकामा रहेका प्रहरी चौकी सदरमुकाममा झारिएसँगै उपल्लो डोल्पा असुरक्षित बनेको छ। यी स्थानीय तहमा २१ वडा छन्। 

चोरीनिकासी तथा पैठारी हुने ठाउँमध्ये उपल्लो डोल्पा पनि पर्छ। बहुमूल्य जडीबुटी, जंगली जनावर तथा बुद्धका पुराना मूर्ति चोरी हुने क्रम रोकिएको छैन। जिल्ला प्रहरी कार्यालय प्रमुख नायव उपरीक्षक निरन्जन थापाका अनुसार छार्काताङसुङ गाउँपालिकाको कागकोट प्रहरी चौकी र शे-फोक्सुण्डो गाउँपालिकाको साल्दाङ प्रहरी चौकीको प्रहरी उपल्लो डोल्पामा रहेका छन्।

अहिले सदरमुकाम दुनैबाट नै उपल्लो डोल्पाको सुरक्षा दिने गरेको डिएसपी थापाले बताए। डोल्पो बुद्ध गाउँपालिकाको धो र टाक्सी, शे-फोक्सुण्डो गाउँपालिकाको निजालगुम्बा, भिजेर र रापको प्रहरी चौकीका प्रहरी जिल्लामा गाभिएका हुन्। 

डोल्पा सबैभन्दा ठूलो जिल्ला हो। स्थानीय तहको सहयोग पाएको भए प्रहरी चौकी उपल्लो डोल्पामै राख्ने सकिने डिएसपी थापाले बताए।

'अहिले पनि सहयोग त पाइएको छ, अझै योभन्दा बढी सहयोगको अपेक्षा हामीले गरेका थियौँ,' उनले भने।

उपल्लो डोल्पामा बस्नका लागि अहिलेको समयमा लत्ताकपडादेखि चश्मा, बुटहरु चाहिन्छ र ती प्रहरीसँग अहिले नभएको उनले बताए।

अहिले उपल्लो डोल्पामा बाक्लो हिमपातका कारण एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था नरहेको उनले बताए। 

हिमपातले रोकियो कोभिड र नियमित खोप

उपल्लो डोल्पामा बाक्लो हिमपात भएसँगै नियमित सञ्चालन हुने खोपदेखि कोभिडविरुद्धको खोपसमेत रोकिएको छ।

मंसिरदेखि चैतसम्म सबै खोप बन्द हुने स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए। 

त्यस्तै भगवानको भरोसामा सुत्केरी हुने गरेको पाइएको छ। ३ पालिकामा बर्थिङ सेन्टर समेत नरहेको उनले बताए।

सबै उपल्लो डोल्पाका महिलाहरु घरमै असुरक्षित तवरबाट सुत्केरी हुने गरेको जानकारी शाहीले दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.