|

यो सृष्टिमा, यो विश्वमा एकै अस्तित्वले जसरी हामीलाई सृष्टि गर्‍यो त्यो प्रकृतिलाई अर्थात् सृष्टिलाई जोगाएर, समुचित प्रयोग गर्नु र मानवीयतापूर्ण जीवनशैली बाँच्नु हाम्रो स्वभाव हो। यसलाई संस्कृत श्लोकमा यसरी समेटिएको छ-

ईशा वास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत्।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम्।।

जे भन्ने गरिए पनि अस्तित्वप्रति अहोभाव व्यक्त गर्न हामी भुलिरहेका हुन्छौं। हामी उसकै एक अंश हौँ भन्ने कुरा ख्याल नै हुँदैन। मानौं यो जीवनलाई यो ठाउँमा स्थापित गर्नका लागि मानव जातिकै भूमिका बढी छ जस्तो। 

जीवनशैली स्वतन्त्रता, सहजता, वाक स्वतन्त्रता र स्व–विचारको जीवनशैली बाँच्ने आधार र हैसियत निर्माण हुँदै गएका छन्। तर जब जीवन बाँच्ने तरिका र संस्कारमा परिवर्तन आउँछ, प्राकृतिक जीवनशैलीबाट कृत्रिम जीवनशैली अपनाउन थालिन्छ। त्यसपछि तनाव, अनेक किसिमका रोगहरू र मानसिक अस्थिरताले प्रभुत्व जमाउँदै जान्छ।हामी सजिलै भन्ने गर्छौं समयअनुसार सबै चिज, सबै परम्परा र संस्कार परिवर्तन हुँदै जान्छन्, जानु पनि पर्छ। यही मान्यता विकास र सभ्यताको मापन हो। हुन पनि थाहै नपाई हामी परिवर्तन भइरहेका छौँ, जीवनशैली परिवर्तन भइरहेको छ। परम्परागत मान्यता र धारणा तोडिँदै गएका छन्।

बाहिर जति सफल र सुखी देखिए पनि आन्तरिक शान्ति र आनन्द भेटिएको हुन्न। बाहिर जति पूर्णता देखिन्छ भित्रबाट खाली, खोक्रो र अपूर्णता महसुस हुँदै जान्छ।

खानपानको संस्कार

आज हामी दुईजना पाहुना थपिने स्थिति भयो भने महाभारत सम्झिन्छौँ। अल्छीपन, जसले बनाउने हो बनाओस् तर खान देओस् भन्ने भावले बुझाउँछ हामीमा प्रेमको अभाव, स्वास्थ्यप्रति हेलचेक्रयाइँ र प्राकृतिकपन हराउँदै गएको छ।

पहिले विवाहलगायत काममा भोजभतेर‚ पूजाआजा हुँदा घरका छोरीबुहारी मिलेर खाना बनाउने र नाचगान गर्ने, सांस्कृतिक टोली बाहिरबाट मगाइन्थ्यो। विवाह भोजमा महिलाले मात्र होइन पुरुषले पनि सहयोग गर्ने, खेतबारीको कुनामा चुलो बनाएर, सफा शुद्ध भई खाना बनाउने भान्से तोकिन्थ्यो। उसले सबैलाई खुवाउने जिम्मा पूरा नगरुन्जेल भान्सा छोड्न नमिल्ने संस्कार थियो।

पहिले-पहिले नुहाइधुवाइ, शुद्ध र सफा लुगा लगाएर खाना पकाउन घरको कुनै सदस्य भान्से तोकिएको हुन्थ्यो। चुलो चौका खण्डखण्ड, घरको मुली कहाँ बस्ने, बच्चाबच्ची/केटाकेटी कहाँ बस्ने तय गरिएको हुन्थ्यो। भान्सेले सबैलाई नखुवाई भान्साबाट निस्केर बाहिर जान मिल्दैनथ्यो। शुद्धता, प्रेम, पवित्रता, स्वस्थ खाना, खानामा फोहोर, किटाणु नपरोस् भनेर खाना बनाउनेको समर्पण र अनुशासन सहजै अनुमान गर्न सकिन्छ।

तातो पिरो, स्वस्थ, मिठो त्यो भतेर आज पनि धेरैलाई सम्झना हुनुपर्छ। जुन आधुनिक होटलको मेन्युभन्दा धेरै हितकारी र आनन्द मिल्ने खालको हुन्थ्यो। आजकल चाडपर्व, भोजभतेरमा घरका महिलाहरू नाचगानमा व्यस्त हुने र बाहिरबाट खाना बनाउने मान्छे भाडामा ल्याउने प्रचलन संस्कार बनेको छ। सानोतिनो भोजभतेर र पर्वमा समेत क्याटरिङ बोलाउने प्रचलन सभ्यताको प्रतीक मानिन्छ।

यो प्रचलनबाट घरका अवश्य पनि महिलाले सुख पाएका छन्। चुलो चौको र घरको चौघेरामा सीमित महिला भन्ने नारामा परिवर्तन आएको छ। क्याटरिङको बढ्दो प्रचलनले व्यापार, व्यवसाय र रोजगारी फस्टाएको छ। तर, यसले हाम्रो आन्तरिक स्वभाव, प्रेम, शुद्धता, स्वास्थ्य र सिर्जनात्मकतामा नकारात्मक असर पक्कै परेको छ।

आफ्नो परिवारका लागि,आफ्ना लागि र आफन्तका लागि आफैं प्रेमपूर्ण, स्वस्थकर, आफ्नो रुचिअनुसारको भोजन बनाउनु र खुवाउनुको आनन्द र खुसी नै बेग्लै हुन्छ। आफ्नोपन हराएको छ। आफ्नोपन नभेट्नुले पनि जीवनमा तनाव र कृत्रिम जीवनशैली विकसित हुँदै जानुका परिणाम हुन्।

मानिसको स्थानमा जनावर

हामीले देखेकै हो पहिले ठूला घरको प्रवेशद्वारमा एकजना चौकीदार हुन्थे। जसले कुकुर, बिरालालगायतका जंगली जनावर र पहिचानविनाका मानिस घरभित्र नाछिरून् भनेर घर र परिवारको सुरक्षामा ध्यान दिइन्थ्यो। अहिले गेटमा कुकुर पालिन्छ र बोर्डमा लेखिन्छ कुकुरसँग सावधान रहनुहोला। काम विशेषले आफन्तकहाँ जाँदा पनि डर लाग्छ। 

मानिस विश्वसनीय नभएर कुकुरले ठाउँ पाए कि? या हामी विकसित हुँदै गएर घरमा कुकुर पाल्नु सोख बनेको? या जीवन नै मानिससँग असुरक्षित महसुस भएर कुकुरबाट सुरक्षा लिएको? कुकुर चाहिँ घर भान्सा र कोठामा मानिसलाई भने छेकबार हुनु कोबाट विश्वास हराउँदै गएको हो? आफैंबाट या अरूबाट? यस्ता कुराबाट अड्कल गर्न सकिन्छ हाम्रो जीवनशैलीमा आएको रूपान्तरण र मानवीय प्रेमको अभाव पनि।

साइकल गरिबीको परिचय या धनाढ्यको?

पहिले साइकल सहजताका लागि एउटा साधनको रूपमा लिइन्थ्यो। जसरी अहिले घरघरमा गाडी हुन्छ। बिस्तारै गाडीले साइकलको स्थान लिन थालेपछि अब साइकल प्रयोग गर्नेले गरिबीको संज्ञा पाए।

फेरि जीवनशैली विकास हुँदै गयो गाडी चढेर जिम या क्लब जान्छौं त्यही साइकल चलाउनको निम्ति। त्यही साइकल क्लबमा गएर पेल्दा, जिममा गएर पेल्दा या घरको एउटा कोठानै शारीरिक व्यायामका लागि छुट्याएर त्यहाँ एउटा साइकल राख्दा धनी र सम्पन्नताको परिचय मिल्छ। साइकल बाटोमा चलाएर हिँड्ने या साइक्लिङ गर्नेले पनि प्रमाणित गर्न खोज्छन् यो मेरो स्वास्थ्यका लागि सोखपूर्वक चलाएको हो अर्थात् साइकल मेरो फेशन हो।

विवाहमा बेहुला बेहुलीपछि हुन्छन्, नाचगान उत्सव टोली अघिअघि हुन्छ। मृत्युमा लाश अघिअघि मान्छेको भिड पछि हुन्छ। सुखमा अघि दुःख पर्दा पछि लाग्ने स्वभाव त परम्परा नै बनेको छ। सही मार्ग र सत्संगमा मानिसलाई आमन्त्रण गर्न धेरै मिहिनेत गर्नुपर्छ तर क्षणिक सुख महसुस हुने ठाउँमा मानिस आफैँ खोज्दै पुग्छ।

परिवर्तनसँगै हाम्रो अभिव्यक्ति शैलीले प्रदर्शन गरेको अहंकारले भित्रभित्रै रोग सिर्जना गरिसकेको हुन्छ। हामी भने बाहिर राम्रो र सम्पन्न देखाउनमै आफ्नोपन भुलिसकेका छौं।

फेरिएको प्रचलन र भुलेको मानवता

मृत्यु भएको मानिसको लाश छुँदा नुहाउँछन् पवित्र हुनका लागि। जनावरको लाश खाँदा पोषण र मिठासको अनुभूति हुने कस्तो मानवता होला?

धनी व्यक्ति मन्दिर गएर प्रसाद चढाएर लाख बत्ती बाल्दा अनि पूजारीलाई मनग्ये दक्षिणा दिएर खुसी पार्दै भगवानसँग भिख माग्दा सभ्य कहलाउँछ, धार्मिक कहलाउँछ। गरिव, दुःखी मन्दिरको बाहिर बसेर भिख माग्दा पापीको संज्ञा मिल्छ। टन्न दक्षिणा, फलफूल र प्रसाद बोकेर मन्दिरभित्र मूर्ति पूजा गर्न हिँडेको व्यक्तिले मन्दिरको ढोकामै हात थाप्दै प्राण रक्षाका निम्ति अनुरोध गरिरहेको परमात्माको मूर्तिलाई उपेक्षा गरेर मन्दिरभित्र लम्किन्छ।

विवाहमा बेहुला बेहुलीपछि हुन्छन्, नाचगान उत्सव टोली अघिअघि हुन्छ। मृत्युमा लाश अघिअघि मान्छेको भिड पछि हुन्छ। सुखमा अघि दुःख पर्दा पछि लाग्ने स्वभाव त परम्परा नै बनेको छ। सही मार्ग र सत्संगमा मानिसलाई आमन्त्रण गर्न धेरै मिहिनेत गर्नुपर्छ तर क्षणिक सुख महसुस हुने ठाउँमा मानिस आफैँ खोज्दै पुग्छ।

त्यसैको परिणाम त हो धूमपान र मद्यपान बेच्न घर घर जानु पर्दैन व्यक्ति आफैं पसल आइपुग्छ। दुध र साग बेच्न बिहानैबिहानै सबैको ढोकामा पुगेर अनुरोध गर्नुपर्दछ। दुधवालालाई सोधिन्छ– पानी मिसाएको त छैन नि? ब्रान्डेड मद्यपानमा आफैँले पानी मिसाएर पिउने चलन छ।

जनावरको नाम जोडेर बोलायो भने मन पर्दैन। मानिसलाई उसलाई क्रोध उत्पन्न हुन्छ। तर, तिमी त शेर हौ शेर अर्थात् सिंह हौ, राजा हौं भनिदियो र तारिफ गरिदियो भने दंग पर्दछ। घरको पुस्तक दराजमा गीता, कुरान र बाइबलसँगै हुन्छन्। जसलाई स्वस्फुर्त पढ्छन्, कुरा बुझ्छन् र बोध गर्छन्।

घरबाहिर जसले गीता पढ्ने हिन्दू, कुरान पढ्ने इश्लाम र बाइबल पढ्ने इसाईलाई पढेकै हुँदैन, उसको आचरण, व्यवहार र उनीहरूमा भएका मानवीय गुणवत्तालाई थाहा पाएकै हुँदैन। फरक विचारधाराको व्यक्ति भनेर लडाईं झगडामा सरिक हुन्छ।

प्रविधि निकट प्रकृति विकट

आजकल मोबाइल, ट्याब, ल्यापटप आदि प्रविधिको प्रयोग जीवनको अभिन्न अंग बनेको छ। आधुनिक दुनियाँमा कसैले यस्ता प्रविधिसँग अपरिचित छु भन्यो भने त्यो आश्चर्यको विषय बन्न थालेको छ।

मानिसहरु हातमा दुई तीनवटा मोबाइल, साइडमा ट्याब, ल्यापटप बोकेका देखिन्छन्। जसमा उनीहरु घण्टौंसम्म कुरा गर्छन्, स्क्रिनमा हेर्छन्। ती प्रविधिले व्यक्तिलाई कब्जामा लिइसकेको हुन्छ।

घरका सदस्य हराउन् चिन्ता के होला जति मोबाइल हराउँदा हुन्छ। आफ्नो लागि योग, विश्राम, ध्यानको खोजी हुँदैन। ती प्रविधिलाई रिचार्ज गर्न होसपूर्ण बन्छौं। आफ्नो भावदशा, प्रकृतिसँगको सामीप्यता, परिवारजनसँग बसेर भलाकुसारी, वृद्ध बाआमासँग बसेर पुराना कुराको याद, आफन्तजनको स्मरण र रमाइला पलको याद गर्ने फुर्सदसम्म छैन। अब यस्ता कुरा फाल्तु लाग्न थालेका छ्न्।

सबै विद्युतीय उपकरणबाट उत्पन्न इलेक्ट्रोम्याग्नेटिक विकिरणले शारीरिक र मानसिक रुपमै असर पुर्‍याउने तथ्य अनुसन्धानले बताइरहेको छ। दिनमा कम्तीमा एक घण्टा प्रविधिबाट टाढा रहेर प्रकृतिमा रमण गर्ने, गार्डेनिङलगायतका कार्यमा सरिक हुन सकिएला त?

बाहिर प्रकृतिमा रमण गर्दा पनि कानमा वायरलेस कोचेर न त चराचुरुंगीको आवाज सुन्नु छ न त स्वच्छ हावाको सर्सराहट आवाज र कलकल बगेको पानीको आवाज नै सुन्नु छ। प्रकृतिलाई पर्दा लगाइदिएर भित्रको अन्धकारमा रमाउने चेष्टा गरेपछि मानसिक शान्ति र आन्तरिक आनन्द कहाँबाट पाउने?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.