|

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत बन्द सत्रमा आज अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ। 

छलफलका लागि महाधिवेशन प्रतिनिधिलाई २५ वटा समूहमा विभाजित गरिएको छ। समूहमा आवद्ध प्रतिनिधिले पार्टी प्यालेस, पार्टी कार्यालय र प्रज्ञा भवनकै हलमा बसेर अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। १ नम्बरदेखि ९ नम्बर समूहसम्मका प्रतिनिधिले प्रज्ञा भवनकै विभिन्न हलमा समूहगत छलफल गर्नेछन्। 

समूह १० र ११ मा गण्डकी प्रदेशका प्रतिनिधि समेटिएका छन्। यो समूहको छलफल गर्ने स्थान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा तोकिएको छ। प्रवास प्रदेशका प्रतिनिधि रहेका समूह १२ ले पनि पार्टी कार्यालय पेरिस डाँडामै छलफल गर्नेछ। 

१३ देखि २५ नम्बर सम्मका समूहले काठमाडौँका विभिन्न पार्टी प्यालेसमा बसेर समूहगत छलफल गर्ने तय भएको छ। समूहगत छलफलको निष्कर्ष बुधबारको बन्द सत्रमा टोली नेताले प्रस्तुत गर्ने बताइएको छ। 

प्रचण्डले ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज हिजो प्रस्तुत गरेका थिए।  

महाधिवेशन प्रतिनिधिले स्थायी समिति सदस्य देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामा पनि छलफल गर्नेछन्। विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ। 

पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्ताव गरिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.