प्रतिव्यक्ति ३ देखि १० लाख ठगी
प्रतिव्यक्ति ३ देखि १० लाख ठगी
काठमाडौं : वैदेशिक रोजगार विभागको कार्यालय परिसरमा मंगलबार दिउँसोमा ठूलो भीड देखियो।
भिजिट भिसामा पोर्चुगल लैजाने भन्दै ठगिएको उजुरी दर्ता गर्न त्यो भीड विभागमा आएको थियो।
काठमाडौंको कोटेश्वरस्थित युनी वर्ल्ड टुर एन्ड ट्राभलले विदेश लैजाने भन्दै पैसा असुलेर भागेको उजुरी गर्न त्यो भीड विभागको कार्यालयमा आएका थिए।
सो भीडमा चितवन घर भएका आयुष पोखरेल भेटिए। उनले भिजिट भिसामा पोर्चुगल जान ६ लाख रूपैयाँ बुझाएका थिए।
उनलाई युनी वर्ल्ड टुर एन्ड ट्राभल प्रालिले भिजिट भिसामा लैजाने र १ महिनामा काम गर्न पाइने प्रलोभन देखाएको थियो।
स्वदेशमा रोजगारीको राम्रो अवसर नपाएको भन्दै उनी वैदेशिक रोजगारीमा जाने तयारीमा थिए।
पोर्चुगलमा राम्रो कमाइ हुने भन्दै नजिकका साथीले भिजिट भिसामा जान राम्रो हुने बताए। मासिक ३ लाख कमाई हुने बताएसँगै उनी पनि जान तयार भएका थिए।
मध्यमवर्गीय परिवारका पोखरेलले ६ लाख रकम आफैंले निकाल्न सक्ने अवस्था थिएन।
छिमेकी र आफन्तसँग ऋण गरेर ट्राभलका सञ्चालक अमृत शेर्पा भन्ने व्यक्तिलाई रकम बुझाए। २५ पुसमा जाने तयारी गर्नू भनेका सञ्चालक यतिवेला सम्पर्कविहीन बनेका छन्।
'श्रम स्वीकृति लिएर विदेश जान धेरै समय लाग्छ भन्ने सुनेको थिएँ। छोटो समयमा सहजै विदेश जान पाइन्छ र कमाई पनि राम्रो हुन्छ भन्ने आसले विदेश जान खोजेको थिएँ,' उनले भने।
छिटो जाने र कमाई राम्रो हुने आसले ऋण गरेको पैसा ठगिएको उनको भनाइ छ।
उनीसँगै बुटवलका अनिलबहादुर खत्री भेटिए। भिजिट भिसामा विदेश जानका लागि उनले शेर्पालाई ५ लाख बुझाएका थिए।
सञ्चालक फरार भएसँगै यतिवेला खत्री ठगिएको पैसा कसरी उठाउने भन्ने चिन्तामा छन्।
उनी पोखरेलसँगै कम्पनीले ठगेको भन्दै सामूहिक उजुरी दर्ता गर्न विभागमा आएका थिए।
पोर्चुगल लैजाने भन्दै ५५ जनालाई ठगेको पीडितहरूले बताएका छन्। पीडितहरूसँग प्रतिव्यक्ति ३ देखि १० लाखसम्म लिएको उनीहरूले बताएका छन्।
सञ्चालक फरार भएपछि ट्राभलको कार्यालयबाट पीडितले ट्राभलका कर्मचारीलाई विभागमा ल्याएका छन्।
समिर गुरुङ नामका कर्मचारीले कम्पनी सञ्चालक शेर्पाले आफूहरूलाई केही जानकारी नदिएकोे बताए।
३ महिनाअगाडि सो कम्पनीमा काम गर्न थालेका समिर कार्कीसहित ३ जना कर्मचारीलाई पीडितले विभागमा पुर्याएका छन्।
तर, सञ्चालक शेर्पा यतिवेला कहाँ गए आफूलाई जानकारी नभएको कार्कीले बताए।
सञ्चालक शेर्पाबाट विदेश जानका लागि पैसा बुझाउने मात्र नभइ आफूहरू पनि ठगिएको कर्मचारीहरूको भनाइ छ।
विभाग भन्छ ः हाम्रो कार्यक्षेत्र पर्दैन
भिजिट भिसामा विदेश जान लागेको र ठगिएको केसमा वैदेशिक रोजगार विभागले उजुरी लिन नसकिने बताएको छ।
दर्ता भएको म्यानपावर कम्पनीले ठगी गरेको सवालमा मात्र विभागले उजुरी लिनसक्ने वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।
उनका अनुसार विभागमा दर्ता भएको म्यानपावरले ढलौटीबाट भए पनि पीडितलाई पैसा दिन सकिन्थ्यो।
उनले भने, ‘एकातिर भिजिट भिसामा जान लागेका रहेछन्, अर्कातिर म्यानपावर कम्पनी नभइ ट्राभल एन्ड टुर्स प्रालि भएकाले यसको अनुगमन विभागको कार्यक्षेत्र पर्दैन,’ उनले थपे, ‘यस्तो केसमा प्रहरीमा उजुरी गर्न सक्छन्।’
पछिल्लो समय सरकारी मापदण्ड पूरा गरी वैदेशिक रोजगारीमा जानेभन्दा चोरबाटोबाट भिजिट भिसामा जानेको संख्या बढी रहेको सरोकारवाला बताउँछन्।
रोजगारीका लागि जानेले भिजिट भिसाको प्रयोग गरी रोजगारीका लागि जाँदा समस्या भोग्ने गरेको वैदेशिक रोजगारविज्ञ डा.गणेश गुरुङ बताउँछन्।
भिजिट भिसामा जानेले काम पाउनै समस्या हुन्छ भने अर्कातिर तलब सेवासुविधा पनि न्यून हुन्छ।
गुरुङले भने, ‘महामारीको अवस्था सृजना भएको खण्डमा उद्धारमा पनि समस्या हुने गर्छ।’
पैसाको लोभले चोरबाटो अपनाउँदा ठगीमा पर्ने गरेको उनले बताए।
के हो भिजिट भिसा?
विदेशमा रहेका कुनै आफन्त या यात्रामा जानु परेको खण्डमा प्रयोग गरिने भिसा भिजिट भिसा हो।
देशअनुसार भिजिट भिसा फरक–फरक अवधिका लागि दिइने गरे पनि युएईले भने ३ महिनाका लागि दिन्छ।
भिजिट भिसाका लागि सबभन्दा महत्वपूर्ण दुईतर्फी हवाई टिकट र यात्रा गर्ने व्यक्तिसँग १ हजार अमेरिकी डलर अनिवार्य हुनुपर्छ।
कानुनअनुसार भिजिट भिसामा गएका कुनै पनि व्यक्तिले सम्बन्धित देशमा पुगेपछि आम्दानीमूलक काम गर्न पाउँदैनन्।
किन बढ्यो भिजिट भिसामा आकर्षण ?
पछिल्लो समय भिजिट भिसामा वर्किङ भिसाको रुपमा परिणत गरि रोजगारीमा बस्ने गरेको पाइएको छ।
वैदेशिक रोजगारीमा जान सरकारी प्रक्रिया पूरा गर्न लामो समय लाग्ने भन्दै भिजिट भिसाको आकर्षण बढेको सरोकारवाला बताउँछन्।
धेरै तलबको लोभले भिजिट भिसामा जानेको संख्या बढेको वैदेशिक रोजगारविज्ञ सोम लुईँटेल बताउँछन्।
युएई सरकारले कहिलेकाहीँ भिजिट भिसालाई वर्किङ भिसाको रूपमा परिणत गर्ने सुविधा दिने गरेकाले दलालले सोही प्रावधानको फाइदा उठाइरहेका छन्।
सेटिङ मिलाएर भिजिट भिसालाई वर्किङ भिसामा परिणत गर्न सफल भएको खण्डमा समस्या नआउने तर त्यसो हुन नसके समस्या बढ्ने गरेको छ।
पछिल्लो समयमा भिजिट भिसाबाट ठूलो संख्यामा नेपाली विदेश गइरहेका छन्।
तर, भिजिट भिसामा कति विदेशिए भन्ने एकिन तथ्यांक नभएको अध्यागमन विभाग बताउँछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।