|

काठमाडौं : कजाखस्तानमा सरकार विरोधी प्रदर्शनमा ठूलो रक्तपात भएको छ। हिजो दिउँसो चर्किएको विरोधमा कम्तीमा १८ जना सुरक्षाकर्मी मारिएका छन् भने ठूलो संख्यामा प्रदर्शनकारी मारिएको जनाइएको छ।

केही दिनयता जारी प्रदर्शनपछि हिजो देशको सबैभन्दा ठूलो सहर अलमातीमा हिंसा भड्किएको हो। उक्त हिंसामा १८ जना सुरक्षाकर्मी मारिएको झडपमा दर्जनौँ प्रदर्शनकारी मारिएको र १ हजारभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

अलमाती सहरमा हिजो दिनभरजसो मेसिन गन चलेको आवाज सुनिएको छ। कजाखस्तानमा तेलको मूल्य वृद्धिविरुद्ध प्रदर्शन सुरु भएको हो। तर पछिल्लो समय प्रदर्शनकारीले विभिन्न राजनीतिक मुद्दाहरु समेटेर विरोध जारी राखेका छन्। 

राष्ट्रपति कासिम–जोमार्ट तोकायेवले विदेशमा प्रशिक्षित आतंकवादी गिरोहले प्रदर्शन जारी राखेको भन्दै प्रदर्शन दबाउन रुसी सेनालाई भित्र्याएका छन्। प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको प्रहरीलाई सहयोग गर्न रुसी सेनासमेत कजाखस्तान पुगेको अधिकारीहरुले जनाएका छन्। 

रुसी आरआईए समाचार एजेन्सीका अनुसार कजाखस्तानको सहयोगका लागि २ हजार ५ सयभन्दा बढी सेना कजाक पुगिसकेको छ। अमेरिकाले भने कजाखस्तानमा सरकारविरोधी जारी प्रदर्शनमा बल प्रयोग नगर्न सरकारलाई आग्रह गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.