पैसा भएकालाई मिर्गौला दिने छैनन्, कसैसँग पैसै छैन
पैसा भएकालाई मिर्गौला दिने छैनन्, कसैसँग पैसै छैन
सुर्खेत : बराहताल गाउँपालिका-१० सुर्खेतका युवराज गौतम उमेरले २४ वर्षका मात्र भए।
मिर्गौलाका बिरामी उनी डेढ वर्षको छोरा, पत्नी र बुढा भइसकेका आमाबुवासहित वीरेन्द्रनगरमा भाडामा बस्दै आएका छन्।
उनी आफू मिर्गौलाको बिरामी भएको पीडाभन्दा पनि कोठाभाडा जुटाउन र कसरी छाक टार्ने नसक्दाको पीडाले बढी पिरोलिइरहेका हुन्छन्।
भारतको बैंगलोरस्थित एक डिपार्टमेन्ट स्टोरमा सुरक्षा गार्डको काम गर्थे उनी। उनले त्यसबाटै परिवारको खर्च चलाइरहेका थिए।
तर, गएको भदौमा एक्कासी बिरामी परेपछि उनी जँचाउन गए। स्वास्थ्य परीक्षणबाट उनका दुवै मिर्गौला फेल भएको (काम नगर्ने) देखियो।
उपचारका क्रममा गाउँमा रहेको सानो घरसमेत बेचेर सपरिवार विस्थापित भएका गौतम हाल सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा नियमित डाइलासिस गराउँछन्।
‘मिर्गौला प्रत्यारोपण गर्न लाखौं खर्च लाग्छ। कमाइको कुनै स्रोत छैन। प्रत्यारोपणका लागि मिर्गौला दिने मान्छे पनि छैनन्,’ उनले भने, ‘मलाई जीवनदेखि निराश भइसकेको छु तर, परिवारको खर्च नचल्दाको पीडा र डेढ वर्षको छोराको अनुहार हेर्दा मन सम्हाल्न गाह्रो हुन्छ।’
गौतमजस्तै सुर्खेतस्थित प्रदेश अस्पतालबाट डाइलासिस गराइरहेका भविन्द्र गुरुङको पनि व्यथा थोरै छैन।
‘मलाई अस्पताल पुर्याउने र ल्याउने मान्छेसमेत छैनन्। घरमा बुढीआमा र भाइ छन्। आमाले सघाउन सक्नु हुन्न। भाइ आफ्नै काममा हुन्छ। सकिनसकी आफैं लतारिँदै अटोरिक्सा खोजेर अस्पताल पुग्छु,' दिक्क मान्दै उनी भन्छन्, 'डाइलासिसले धानेको जिन्दगी यसरी कति दिन चल्ला र?’
भर्खर ३० वर्ष मात्र पुगेका उनी थला परेको ८ वर्ष भइसकेको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका-९, स्थायी घर भएका गुरुङलाई अचेल रोगभन्दा एक्लोपनको अनुभूतिले भने धेरै पीडा दिएको छ।
‘अरु बिरामीका पत्नी र परिवारले साथ दिएको देख्छु, मेरो कोही छैन,’ उनले थपे, ‘उपचार गर्दागर्दै १५ लाख जति खर्च भइसक्यो। अब न पैसा छ न कसैको साथ। बाँच्ने आशा पनि कमै छ।’
उनी विदेश जाने तयारीमा रहेका वेला एक्कासी बिरामी परेका थिए। पछि स्वास्थ्य परीक्षण गर्दा मिर्गौला फेल भएको देखियो।
उनले भने, ‘प्रत्यारोपण गर्न आमाले मिर्गौला दिनु भयो। त्यो मिर्गौलाले पनि ५ वर्षमात्र काम गर्यो।’
गौतम र गुरुङ जस्तै सुर्खेतस्थित प्रदेश अस्पतालबाट डाइलासिस गराइरहेका मिर्गौलाका २९ जना बिरामीका पीडा लगभग उस्तै-उस्तै छन्।
कसैसँग पैसा छ, तर प्रत्यारोपणका लागि मिर्गौला दिने मान्छे छैनन् भने कसैसँग मान्छे छन् तर रकम छैन। सबै पीडितका आ-आफ्नै कथा व्यथा भएपनि पीडा सबैका उस्तै-उस्तै छन्।
'मर्न मन छैन, बाँच्ने आधार छैन'
थाहाकर्मीसँग कुराकानी गर्दा उनीहरू सबैको एउटै भनाइ थियो- मर्ने रहर छैन, तर अब त बाँच्ने आधार पनि छैन।’
मधुमेह र उच्च रक्तचापका कारण दुवै मिर्गौला फेल भएकी वीरेन्द्रनगर-११ कि ६४ वर्षीया विस्ना थापा मगर र जुम्ला कनकासुन्दरीका ६८ वर्षीय प्रेमसिंह रोकायालाई पनि अझै केही वर्ष संसार हेर्ने रहर छ।
तर वृद्धावस्थामा मिर्गौलाको बिरामी हुनुपर्दा उनीहरूलाई अब भने डाइलासिसले मात्र बाँचिएलाजस्तो लागेको छैन।
‘भाडाको कोठामा बसेर उपचार गराइरहेको छु। खर्च बढ्दै छ,’ उनले भने, ‘जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान त छ, तर त्यहाँ डाइलासिस नहुँदा मजस्ता बिरामीले सुर्खेत, काठमाडौं धाउनुपर्दा धेरै दुःख पाएका छन्। मलाई समस्या भएपनि जुम्लामै यो सेवा भए अरुलाई सहज हुन्थ्यो होला।’
१ सय १४ जनाले लिए डाइलासिस सेवा
कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट १ सय १४ जनाले डाइलासिस सेवा लिएका छन्।
डाइलासिस सेवा सुरु भएयता १ सय १४ जनाले सेवा लिएको अस्पतालले जानकारी दिएको छ।
प्रदेश अस्पतालमा ०७४ मंसिरबाटै डाइलासिस सेवा दिन थालेको भएको थियो।
विभिन्न कारणले दुवै मिर्गौला फेल भएका बिरामीहरूले सातामा दुई पटकसम्म निःशुल्क डाइलासिस गराइरहेको अस्पतालकी नर्सिङ निरीक्षक तथा डाइलासिस विभाग प्रमुख विन्दु कँडेलले बताइन्।
उनका अनुसार हाल २९ जना बिरामीले नियमित डाइलासिस गराइरहेका छन्।
‘सरकारले डाइलासिस सेवा निःशुल्क गरेको छ। सोहीअनुसार हामीले सेवा दिइरहेका छौं। तर बिरामीका लागि अन्य औषधि आवश्यक परे बिरामी आफैंले किन्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘औषधि किन्नका लागि स्वास्थ्य बिमा गरेका बिरामीले छुट पाउने हुँदा केही सहज भएको छ। तर स्वास्थ बिमा नगरेका बिरामीलाई कतिपय औषधि किन्नुपर्ने बाध्यता छ। त्यसका लागि हामीले सबैलाई स्वास्थ्य बिमा अनिवार्य गर्न अनुरोध गरिरहेका छौं।’
डाइलासिस गराइरहेका बिरामीले अस्पतालको सेवाप्रति सन्तुष्टि जनाएका छन्।
अस्पताल स्रोतका अनुसार हाल उपचाररत २९ जना मिर्गौलाका बिरामी कर्णाली प्रदेशका विभिन्न जिल्लाका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।