|

काभ्रे : काभ्रेको पनौती नगरपालिका–७ स्थित त्रिवेणीघाट क्षेत्र सिँगारिएको छ। ऐतिहासिक र पुरातात्त्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एकपटक लाग्ने मकर मेलाको तयारी तीव्र रूपमा भएको छ।

भोलि अर्थात् माघ १ गतेबाट पनौतीको त्रिवेणीघाटमा हर्षोल्लासका साथ एक महिना विशेष रूपमा मनाइने मकर मेलाका लागि भौतिक पूर्वाधारदेखि मठमन्दिरको जीर्णोद्धार तथा रङरोगनले चिटिक्क देखिएको छ।

मकर मेला नजिकिएसँगै पनौतीमा चहलपहल बढेको छ भने पनौतीको रूप पनि फेरिएको छ। त्यस्तै यतिवेला त्रिवेणीघाट क्षेत्रका मन्दिर र परिसर तरण, फूल आदिले बेहुलीझैं सिँगारिएको छ।

पनौतीका मौलिक बाजागाजा र झाँकीसहित शुक्रबार मकर मेला (स्नान)को शुभारम्भ समेत गरिएको छ। पनौती आसपासका सर्वसाधारण त्रिवेणीघाटको फेरिएको रूप हेर्न आउन थालेका छन्।

जिल्ला प्रशासन कार्यालय र पनौती नगरपालिकाले कोरोना संक्रमणलाई मद्देनजर गर्दै स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिकस्थलमा भीडभाड नगर्न आग्रह गरेको छ।

नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै एकपटकमा २५ जनाभन्दा बढीले स्नान गर्न नपाउने गरी व्यवस्था मिलाएको जनाएको छ। यद्यपि त्रिवेणीघाट क्षेत्रको अहिलेको अवस्था हेर्दा भीडभाड कम नहुने अनुमान सहजै गर्न सकिन्छ।

नगरपालिकाका नगरप्रमुख भीम न्यौपानेले मकर स्नानका लागि लीलावती र पुण्यमाता खोलाको पानी कुलोमार्फत बाहिर फालेर पिउन योग्य तथा स्नान गर्न मिल्ने बनाएको जानकारी दिए।​

त्रिवेणीघाटमा नुहाएर त्यहाँको जल अञ्जुलिमा राखेर उत्तरपट्टि रहेको कुञ्जगिरि पर्वत अर्थात् गोरखनाथडाँडास्थित गोरखनाथलाई चढाउँदा पुण्य मिल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास छ।

त्रिवेणीघाटमा मेला भर्न छिमेकी देश भारतबाट समेत साधुसन्त आइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.