|

काठमाडौं : सहिद स्मारक 'ए' डिभिजन लिगमा थ्री स्टारले संकटामाथि नाटकीय जित निकाल्दै लिग अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

नवौं चरणको खेलमा संकटामाथि थ्री स्टारले रोमाञ्चक रूपमा १-० ले विजयी भएसँगै संकटाको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

शनिबार दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा सात मिनेट थप गरिएको अतिरिक्त समयको अन्तिम मिनेटमा विजय भुजेलले गरेको गोल थ्री स्टारका लागि निर्णायक सावित भयो।​

संकटाका गोलरक्षक विट भएको अवस्थामा अशोक खवासको क्रसलाई राफायल रिमगागोले एसिस्ट गरेको बललाई विजय भुजेलले हेड गर्दै थ्री स्टारलाई महत्त्वपूर्ण अग्रता दिलाए। जुन अग्रता नै थ्रीस्टारलाई तीन अंकका लागि पर्याप्त भयो।

थ्री स्टार महत्त्वपूर्ण तीन खेलाडीबिना मैदानमा उत्रिएको थियो। आयुष घलान, अनन्त तामाङ र विक्रम लामा इन्जुरीका कारण टोलीमा नहुँदाको फाइदा उठाउन संकटा असफल भयो। थ्री स्टारको कप्तान अशोक खवासले सम्हालेका थिए।

उपाधि दाबेदारी कायमै राख्नका लागि तीन अंकको खोजीमा रहेको संकटा अन्तिम केही सेकेन्ड सम्हालिन नसक्दा पाँचौँ स्थानमा धकेलियो। जितसँगै थ्री स्टारले राहत महसुस गरेको छ।

शनिबार नै भएको खेलमा आर्मीले भने जित निकाल्दै संकटालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको थियो। थ्री स्टारसँग पराजित भएसँगै संकटाको अपराजित यात्रा समेत अन्त भएको छ।

हारपछि ९ खेलबाट संकटा १४ अंकका साथ पाँचौँ स्थानमा धकेलिँदा थ्री स्टार भने चौथो स्थानमा उक्लिएको छ। थ्रीस्टारको ९ खेलबाट १६ अंक भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.