|

काठमाडौं : बुधबार नक्कली पिसिआर रिपोर्ट बनाएको आरोपमा दुई अस्पतालका कर्मचारी र बिचौलिया पक्राउ परेका छन्।

पोजेटिभ व्यक्तिलाई नेगेटिभ रिपोर्ट दिएको भन्दै प्रहरीको अपराध महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले तीनकुनेस्थित कान्तिपुर अस्पताल र थिमिस्थित नागरिक कम्युनिटी टिचिङ अस्पतालका ल्याब छापा मारेको थियो।

ल्याब सञ्चालक र बिचौलियालाई नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा प्रहरीले पक्राउ समेत गरेको हो।

धेरैले अनुमति नै नलिई समेत परीक्षण गरिरहेका छन्

कोरोना संक्रमण महामारी सुरु भएपछि सरकारले देशभर कोरोना परीक्षण गर्न उपयुक्त भन्दै निजी र सरकारी गरी १०४ वटालाई प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति दिएको छ। तीमध्ये निजी क्षेत्रबाट चलेका ४५ वटा छन्।

ती बाहेकका अन्य केही प्रयोगशालाले अनुमति नै नलिई परीक्षण गर्ने गरेको गुनासो आउने गरेको बताउँछन्‚ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ता।

बुधबार छापा मारेका दुई तीनकुनेस्थित कान्तिपुर अस्पताल र थिमिस्थित नागरिक अस्पतालका ल्याब भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति नै लिएर परीक्षण गर्दै आएकाहरू रहेको गुप्ताले बताए।

‘अनुमति लिएर परीक्षण गर्नेहरूलाई हामीले वेला वेला अनुगमन गर्ने गरेका छौँ’‚ उनले भने। त्यही सिलसिलामा हामीलाई शंका लागेर प्रहरीको सहयोगमा अनुगमन गरेका थियौँ, जहाँ संक्रमितलाई पनि नेगेटिभ रिपोट दिएर अपराध गरिएको देखियो’‚ उनले भने।

अनुमति नै नलिई यसरी जथाभावी फेसबुकमा विज्ञापन गर्दै पिसिआर परीक्षणमा पनि जनता ठगिइरहेको जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

स्वाब संकलन र परीक्षण नै नगरी नेगेटिभ पिसिआर रिपोर्ट दिने गरेको समेत गुनासो आउने गरेको गुप्ताले बताए। ‘हामीले हाम्रा तर्फबाट हेर्दा शंका लाग्नेबित्तिकै अनुगमन गर्ने गरेका छौँ’‚ उनले भने।

नेपालका निजी प्रयोगशालाले पैसाका लागि परीक्षणबिना नेगेटिभ रिपोर्ट दिने र संक्रमित व्यक्तिलाई नेगेटिभ रिपोट दिने गर्दा संक्रमण फैलने समेत उनले बताए।

पछिल्लो समय निजी प्रयोगशालाले सरकारले तोकेभन्दा बढी शुल्क लिइरहेको गुनासो समेत आउने गरेको बताए। 

रिपोट हेर्दा सक्कली र नक्कली छुट्टिदैन

हाल विदेश जानेहरूका लागि ४८ घण्टाभित्रको परीक्षण गरेको रिपोट देखाउँदा हुने भए पनि दुवैका लागि भने विमानस्थलमै परीक्षण गरेको रिपोट देखाउनुपर्ने बताउँछन् त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हेल्थ डेक्स प्रमुख गोपाल पाण्डे। ‘अन्य देश जानेहरूले ४८ घण्टाभित्र परीक्षण गरेको रिपोट चाहिन्छ तर यहीँ गर्नुपर्ने भन्ने हुँदैन जहाँ परीक्षण गरे पनि हुन्छ जसले गर्दा बाहिर विभिन्न स्वास्थ्य संस्थामा परीक्षण गरेर आउनु जसले गर्दा सक्कली हो वा नक्कली छुट्याउन सकिदैन’‚ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.