विज्ञापनबाटै लाखौँ उठाउँछ कम्पनी, मर्मत र करको कुरै गर्दैन

|

काठमाडौं : रातको समयमा सवारी दुर्घटना न्यूनीकरण गर्न सडक बत्ती अपरिहार्य छ। त्यसो त काठमाडौं महानगरपालिका,ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले मुख्य सडकमा सोलार बत्ती राखेका छन्।

केही निजी कम्पनीले स्थानीय तहसँग साझेदारी गरेर आफ्नै लगानीमा पनि त्यस्ता बत्ती राखेका छन्। तर,अहिले ती अधिकांश बत्ती बल्दैनन्। बबरमहल,माइतीघर मण्डला,थापाथलीलगायत क्षेत्रमा जडान गरिएका बत्ती बल्न छाडिसकेका छन्। बलेका पनि मधुरो बल्छन्। यसको प्रमुख कारण हो–समयमा मर्मत सम्भार नहुनु।

०७३ मा काठमाडौं महानगरपालिका र बिके ट्रेडर्स एण्ड सप्लायर्ससँग सडकमा सोलार बत्ती राख्ने सम्झौता भयो। सम्झौतामा ती कम्पनीले आफैँ खर्चेर बत्ती राख्‍ने तर,साेलारकाे पाेलमा विज्ञापन राख्‍न पाउने सम्झौता भयो।

सोलार राखेपछि मर्मत सम्भार महानगरपालिकाले नभई त्यही कम्पनीले नै गर्नुपर्ने र कम्पनीले प्रत्येक एक–एक महिनामा सोलार प्यानल सफा गर्नुपर्ने पनि सम्झौता भएको थियो। तर,सोही सम्झौताअनुसार न प्यानल सफा भएको देखियो न मर्मत नै। 

                                                                                    बल्न छोडेका बबरमहल क्षेत्रका सोलार बत्ती

काठमाडौं महानगरपालिका राजश्व विभागका विभागीय प्रमुख डा.शिवराज अधिकारीका अनुसार त्रिपुरेश्वर चोक,थापाथली, माइतीघर,बबरमहल भद्रकाली भृकुटीमण्डपलगायत क्षेत्रमा एक हजार ४८ वटा सोलार बत्ती जडान गर्न बिके ट्रेडर्स एण्ड सप्लायर्स कम्पनीले स्वीकृति पाएको थियो। तर,कम्पनीले करिब ८ सय बत्ती मात्र जडान गरेको छ।

बिके ट्रेडर्सले वार्षिक रोयल्टी र कर गरी महानगरलाई आठ हजार बुझाउनुपर्छ। तर, कम्पनीले पोलबाट विज्ञापन राखी आम्दानी गरिरहे पनि बत्ती मर्मत गर्ने गरेको छैन। 'मर्मत सम्भारको काम हाम्रो होइन सम्बन्धित कम्पनीले नै गर्ने हो,’अधिकारीले भने।

बिग्रेका सोलार बत्ती मर्मत गर्न महानगरपालिकाले पटक-पटक ती कम्पनीलाई भनिरहेको र अब पुन: पनि मर्मत गर्न निर्देशन दिने उनको भनाइ छ। राजश्व विभागका अनुसार बिके ट्रेडर्सले  सबै कर पनि बुझाएको छैन।

                                                                                  बबरमहल क्षेत्रमा बल्न छोडेको सोलार बत्ती

पटक-पटक ताकेता गरेपछि २० लाख तिरेको र अझै ३० लाख बढी कर बुझाउन बाँकी रहेको कामपा राजश्व विभागका उप-निर्देशक विकास चित्रकारले बताए। उनले भने, ‘बाँकी कर बुझाउन धेरैपटक भनिसक्यौँ तर कम्पनीले अटेर गरिरहेको छ।'

 ललितपुरमा पनि उस्तै हालत, १४ सय सडक बत्ती थपिँदै

काठमाडौंभित्र मात्र नभई ललितपुर महानगरपालिकाभित्र पनि समस्या उस्तै छ। महानगरपालिकाले जडान गरेकाे कुपण्डाेल,लगनखेल,लगनखेलस्थित टंगाललगायत ठाउँका साेलार बत्ती बल्न छोडिसकेका छन्। महानगरपालिकाले फेरि १४ सय स्मार्ट स्ट्रेड लाइट’ (सडक बत्ती) जडान गर्न सेफ/स्टिल/बबुल/जेभीलाई ठेक्का दिएको छ।

महानगरपालिकाको इलेक्ट्रिकल इन्जिनियर सञ्जय खड्काका अनुसार यी बत्ती सातदोबाटो –सुनाकोठी,सातदोबाटो–धापाखेल,खोकनालगायत क्षेत्रमा जडान गरिनेछ। ‘हामीले ठेकेदार कम्पनीलाई बत्ती जडान गर्न भनिसकेका छौँ,अबको दुई/तीन महिनामा जडानको काम सकिन्छ,’उनले भने।

उनले पोलमा कुनै विज्ञापन राख्‍न नपाइने र नराखिने पनि बताए। उनले भने,‘यो महानगरपालिका र विद्युत् प्राधिकरणको समन्वयमा करिब ९ करोड खर्चेर जडान गर्न लागेका हौँ,विज्ञापन हुँदैन।’ पाँच वर्षसम्म तिनै कम्पनीले मर्मत तथा सम्भार गर्नुपर्ने उनले बताए। उनका अनुसार यी बत्ती मोबाइलबाटै पनि बाल्न र निभाउन सकिनेछ।

                                                                       बल्न छाडेको लगनखेलस्थित टंगालको सोलार बत्ती 

साँझ ६ बजेदेखि ११ बजेसम्म सडकको सोलार बत्तीले शतप्रतिशत नै प्रकाश दिनेछ,त्यसपछि ४० प्रतिशत (सौर्य शक्ति) चार्ज घटेर प्रकाश दिने उनको भनाइ छ। यसअघि जडान गरिएको सोलार बत्ती बलिरहेको उनको दाबी छ।

इञ्‍जिनियर खड्काले भने, 'महानगरपालिकाले पहिला हिमालय होटल,जावलाखेल,पुल्चोक,ग्वार्कोलगायत क्षेत्रमा ६ सय ६९ वटा सोलार बत्ती जडान गरेको थियो। ‘अहिले सबै बत्ती बलेका छन्,केही समस्या देखिए मर्मत गरिहाल्छौँ।’

 बत्ती नहुँदा रातमा बढी दुर्घटना

महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी सन्तोष रोका सडकमा सवारीसाधन दुर्घटना हुनुको कारणमा बत्ती नहुनु पनि रहेको बताउँछन्। उनले भने,‘तीव्र गति,मादक पदार्थ सेवन,सडक संरचना राम्रो नहुनुले दुर्घटना बढाएको सहजै अनुमान गर्न सकिन्छ।’

सडक संरचनासँगै रातको समयमा सबै सडक क्षेत्रमा उज्यालो भएमा, सर्वसाधारणलाई पनि आवतजावत गर्न सहज हुने र रातमा हुने सडक दुर्घटनासमेत कमी हुने उनको विश्वास छ। ​

रातको समयमा बत्ती नहुँदा सवारी चालकसमेत जोखिम मोल्न बाध्य छन्। काठमाडौं गोकर्ण बस्‍ने मोटरसाइकल चालक दीपेन्द्र श्रेष्ठ भन्छन्,‘गोकर्ण,मेडिकल कलेजतिर त सोलार बत्ती नै छैन,बिजुली बत्ती पनि चिम बिग्रेर होला बलेको देख्दिनँ,सोलार भएको ठाउँमा पनि सबै बलेको छैन,यसले समस्या त हुन्छ।’

वर्षातका समयमा यहाँका सडकहरूमा अझ धेरै समस्या भोग्नुपर्ने उनले दुखेसो सुनाए। ‘यहाँका सडक खाल्डैखाल्डा छन्,पानी परेको बेला खाल्डामा पानी भरेर केही देखिँदैन,त्यहीबेला बिजुली बत्ती पनि गइरहेको हुन्छ,अँध्यारोमा खाल्डोतिर जाकिन्छ,’उनले समस्या सुनाए। महाशाखाको तथ्यांकमा २०७६ यता सवारीसाधनको ठक्करबाट अकालमै तीन सय ८१ जना पैदल यात्रुको मृत्यु भएको छ।

के भन्छ बिके ट्रेडर्स?

बिके ट्रेडर्सका कर्मचारी दीपेश खेताङ बिग्रिएका सोलार बत्ती मर्मत भइरहेको दाबी गर्छन्। ‘जहाँका सोलार बत्ती बिग्रिएका छन्,ती मर्मत गरिरहेका छौँ, हामी अरू पनि बिग्रिएको होला,त्यसको मर्मत गर्छौं,’उनले भने।

पोलमा विज्ञापन राखेबापत एउटा पोलबाट कति रकम उठाउनुहुन्छ? भनी प्रश्न गर्दा उनले यसबारे खुलाउन चाहेनन्।

महानगरलाई तिर्नुपर्ने कर सबै तिरिसकेको उनी दाबी गर्छन्। भक्तपुर नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालका अनुसार नगरपालिकाले पनि कमलबिनायक,अरनिको राजमार्गलगायत ठाउँमा सोलार बत्ती जडान गरिएको छ।

उनले पनि सबै बत्ती मर्मत गरिरहेको दाबी गरे। ‘हामीले बत्ती व्यवस्थापन गर्न टिम नै बनाएका छौँ,’उनले भने,‘वडा–वडाबाट पनि मर्मत गरिन्छ,थप केही त्यस्ता नबलेको बत्ती भएमा तुरुन्तै मर्मत गरिहाल्छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.