|

काठमाडौं : नेकपा विप्लव नेतृत्व सहित ५ राजनीतिक दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर मिश्रित रूपमा परेको छ।

सरकारले अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पास गर्न लागेको भन्दै विभिन्न राजनीतिक दलले आज (बुधबार) नेपाल बन्द आह्वान गरेका हुन्।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कर्णजित नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले नेपालले बन्द गराएका हुन्। ​
 

बुटवलमा जनजीवन प्रभावित‚ ९ जना पक्राउ

एमसिसीको विरोध गर्दै गरेको आजको नेपाल बन्दमा बुटवलमा बन्द गराउँदै हिँडेका ९ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नेकपा रूपन्देहीका जिल्ला सदस्य नवीन थारू (नाथु) र युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं रूपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदीसहित ९ जना कार्यकर्ता पक्राउ परेका छन्।

माधव न्यौपाने, रामबहादुर थारू‚ नेकपा क्रान्तिकारी माओवादीका प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शशि विक, तुलराज विकलगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लामा सार्वजनिक सवारीसाधन चलेका छैनन्। फाट्टफुट्ट रूपमा केही निजी सवारीसाधन भने गुडेका छन्। 

सवारी साधन चल्न नसक्दा यात्रु गन्तव्यमा पुग्न पाएका छैनन्। बन्दमा अप्रिय घटना हुन नदिन मुख्य मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

लुम्बिनी प्रदेशका मुख्य मुख्य शहर बुटवल, भैरहवा, भालुवाङ, लमही, घोराही, नेपालगन्ज लगायतका क्षेत्रमा बन्दको प्रत्यक्ष प्रभाव परेको छ।​

बन्द आह्वानकर्ताले साँझ ५ बजेसम्म बन्द जारी रहने बताएका छन्।

सुदूरपश्चिममा जनजीवन प्रभावित
बन्दले सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ। प्रदेशका सबै जिल्लामा सवारीसाधन चल्न सकेका छैनन्।

साथै बजार तथा शैक्षिक संस्था पनि बन्द रहेका छन्। सवारीसाधन नचलेपछि काम विशेषले गन्तव्य जाने यात्रु समस्यामा परेका छन्।​

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार नागरिकलाई सुरक्षा प्रदान गर्न र कुनै अप्रिय घटना नघटोस् भन्ने उद्देश्यले सुरक्षाकर्मी परिचालन गरिएको छ।

सल्यान

जिल्लाका मुख्य बजार श्रीनगर, खलंगा, थारमारे, सल्लीबजार, कपुरकोट बजार पूरै बन्द छन् भने सवारीसाधन पनि चल्न सकेका छैनन्। 

यस्तै शैक्षिक संस्था र उद्योगहरू बन्द छन्। बन्दमा कुनै पनि अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

-पविता पौडेल (बुटवल)‚ दीपक शर्मा (सल्यान)‚ विनोदसिंह विष्ट (बैतडी)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.