|

काठमाडौं : पोखराको पर्यटकीय गन्तव्य फेवाताल किनारबाट सराङकोट डाँडासम्म शुक्रबारदेखि केबुलकार सञ्चालनमा आएको छ।

फेवाताल र सराङकोटडाँडा दुई पर्यटकीय गन्तव्यलाई जोड्न अन्नपूर्ण केबुलकार प्रालिले केबलकार निर्माण गरेको हो। केबुलकार पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २६५ मिटर लामो रहेको छ।

१३ वर्षअगाडि अध्ययन भएर २ अर्ब रूपैयाँभन्दा बढी लगानीमा निर्माण गरेर शुक्रबारदेखि व्यावसायिक सेवा सुरू गरिएको अन्नपूर्ण केबुलकार प्रालिका निर्देशक तीर्थ त्रिपाठीले बताए। उनले केबुलकारको क्षमता १ घण्टामा २ हजार मान्छे ओहोरदोहोर गराउने सक्ने जानकारी दिए। त्रिपाठीका अनुसार अहिले सञ्चालनमा आएको आधा क्षमताको मात्रै रहेको छ।​ अहिले १७ वटा केबल कार रहेको त्रिपाठीले जानकारी दिए। यसमा ३५ वटासम्म राख्न सकिने उनले बताए। 

प्रबन्ध निर्देशक दिनेश पौडेलले केबुलकार पोखराको गहना भएको बताए। उनले फेवातालबाट साङकोटसम्म केबुलकारबाट नौ मिनेटमा पुग्न सकिने जानकारी दिए।​

केबुकारले आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक सञ्चालन गर्ने तयारी गरेको छ।  स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने पोखरामा पर्यटनको एउटा नयाँ ‘ब्राण्ड’ थपिएको हो। अंग्रेजी नयाँ वर्षका दिनदेखि व्यावसायिक संचालनको योजना रहेपनि प्राविधिक समस्याका कारण ढिलाइ भएको हो। 

केबुलकारको तल्लो स्टेशन समुद्र सतहदेखि ८२४ मिटरमा रहेकामा माथिल्लो स्टेशन एक हजार ४६५ मिटर रहेको छ। केबुलकार सञ्चालनपछि सुन्दर फेवाको किनारबाट केबुलकारमा चढेर ताल र हिमाल र पोखरा शहर हेर्दै सराङकोट डाँडामा पुग्ने अवसर पर्यटकले पाएका छन। सराङकोट सूर्योदय र सूर्यास्तसहित हिमाल र तालको दृश्यावलोकनका लागि प्रख्यात छ।

जापानको ‘निप्पल केबुल’ कम्पनीबाट डिजाइन र विकसित प्रविधिलाई प्रयोगमा ल्याइएको छ। केबुलकारमा पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी छ।  कम्पनीले नेपालीका लागि ७०० , सार्क राष्ट्रका पर्यटकका लागि ८०० रूपैयाँ र तेस्रो मुलुकका नागरिकका लागि ९ डलर भाडादर तय गरिएको छ। ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था छ। स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत आयोजनामा लगानी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.