|

काठमाडौं : नेपालमा गत वर्षको माघ १४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको हो। सरकारले खोप अभियानलाई सहज बनाउन विभिन्न स्थानबाट खोप लगाइरहेको छ।

सरकारले चैत मसान्तसम्म लक्षित जनसंख्यालाई खोप लगाइसक्ने लक्ष्य लिएको छ। उक्त लक्ष्यअनुसार हालसम्म ७६ प्रतिशतले पूर्ण खोप लगाएका छन्। 

दैनिक एक लाखभन्दा बढीलाई खोप लगाइरहँदा धेरै मात्रामा खोपको सुई र सिसीको फोहोर निस्किरहेको छ। स्वास्थ्य संक्रमणको जोखिमले अत्यन्त जोखिम मानिने सुई र सिसीको व्यवस्थापन हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको वातावरणीय स्वास्थ्य एवं स्वास्थ्यजन्य फोहोर व्यवस्थापन शाखाले गरिरहेको छ।

अहिले सिसी र सुईको व्यवस्थापन कसरी गरिरहेको छ भन्ने विषयमा वातावरणीय स्वास्थ्य एवं स्वास्थ्यजन्य फोहोर व्यवस्थापन शाखा प्रमुख उपेन्द्र ढुङ्गानासँग गरिएको कुराकानी :-

कोरोनाविरुद्धको खोप लगाउँदा निस्केका फोहोर विशेष गरी सुई र सिसीको व्यवस्थापन कसरी भइरहेको छ?

कोरोनाविरुद्धको खोप अभियानमा पक्कै पनि फोहोर जम्मा भएको छ। यस्ता फोहोरलाई दुई तरिकाले हेर्न सकिन्छ।

एउटा खोप ल्याउँदा खोपलाई प्याक गरेर ल्याइएका ठूला कार्टुन र अन्य बक्सहरू छन्। जुन खोप झिकेपछि फोहोरमा नै लिने गरिन्छ भने अर्को भनेको खोप लगाइसकेपछि निस्केका सिसी‚ सिरिन्ज र भाइलहरू हुन्। ठूला कार्टुनहरू र अन्य बक्सहरूलाई पुनः प्रयोग गर्न मिल्छ।

हाल खोप लगाइरहेका ठूला अस्पतालहरूले त्यस्तो फोहोर आफैँ व्यवस्थापन गर्ने गरेका छन्। हाम्रोमा आएको रिपोर्टअनुसार खोप प्याक गरेर ल्याइएका कार्टुन र अन्य बक्सहरू प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्ने हुँदा सम्बन्धित स्थानमा पठाउने गरिएको छ। खोप लगाइसकिएका सिसी‚ सिरिन्जभाइल भने माइक्रोओभनबाट नष्ट गरिएको छ। पुनः प्रयोग गर्न मिल्ने खालकालाई निर्मलीकरण गरेर प्रयोग गर्न पठाइरहनुभएको छ।

खोप लगाइसकेपछि खोपले गर्दा केही अवाञ्छित घटना भयो भने अनुसन्धान गर्न कुन ब्याजको खोप लगाएको छ के छ भनेर हेर्नका लागि खोपको भाइल एक महिनासम्म सुरक्षित राख्नु पर्ने हुन्छ। त्यस्ता भाइललाई एक महिनापछि मात्रै व्यवस्थापन गर्ने गरिन्छ।

हालसम्म कति फोहोर निस्कियो र कति व्यवस्थापन गरियो?

अहिलेसम्म तीन करोड ५० लाखभन्दा बढीलाई खोप लगाइसकिएको छ। यसरी हेर्दा जति संख्यामा खोप लगाइएको छ‚ त्यति नै संख्यामा फोहोरको रूपमा सिरिन्ज निस्केका छन्।

१० मात्रा बराबरको हिसाबमा भाइल पनि फोहोरको रूपमा निस्केका छन्। संख्याको हिसाबले हालसम्म कति फोहोर व्यवस्थापन भयो भन्ने यकिन संख्या छैन। किनभने अहिले खोप गाउँगाउँ पुगेको छ। त्यहाँ कति फोहोर निस्कियो र कसरी व्यवस्थापन भयो भन्ने विवरण हामीकहाँ आइपुगेको छैन।

सबैभन्दा धेरै खोप लगाइएको काठमाडौं उपत्यकामा लगाइएको छ। यहाँ निस्केको फोहोर कसरी व्यवस्थापन गरिएको छ?

सबैभन्दा धेरै खोप लगाइएको काठमाडौं उपत्यकामा खोप केन्द्र बनाइएका ठूला अस्पतालले यसअघि आफ्ना अस्पतालमा निस्केको यस्तै प्रकृतिको फोहोर जसरी व्यवस्थापन गर्थे‚ त्यसरी नै आफ्नै तरिकाले व्यवस्थापन गरेका छन्। नगरपालिका र वडा स्तरीय खोप केन्द्रबाट निस्केका खोपजन्य फोहोर भने एकपटक जम्मा गरेर मीनभवनस्थित सिभिल अस्पतालसँग सहकार्य गरेर विश्व स्वास्थ्य संघ सहयोगमा खोप लगाउँदा निस्केको सिरिन्ज माइक्रोओभनबाट विसर्जन गरेका थियौँ भने केही सिरिन्ज थापाथलीस्थित प्रसूति गृहमा रहेको अटोकिलिप मेसिनको माध्यमबाट निर्मलीकरण गरेर पुनः प्रयोग गर्न पठाएका छौँ।

कोरोनाविरुद्धको खोप अभियान सुरु भएदेखि काठमाडौंमा मात्रै हामीले फोहोरको रूपमा निस्केको ४ लाख जति सिरिन्जलाई व्यवस्थापन गरिसकेका छौँ। अहिले पनि हामीलाई काठमाडौं उपत्यकाभित्रका केही स्थानीय तहले खोप लगाएर निस्केका सिरिन्ज धेरै जम्मा भयो व्यवस्थापन गरिदिनु पर्‍यो भनेर अनुरोध आइरहेको छ। त्यसलाई पनि हामीले पहिलेको जस्तै तरिकाले व्यवस्थापन गर्ने तयारी गरिरहेका छौँ। योपटक हामीले उपत्यकाभित्रका केही स्थानीय तह र उपत्यका बाहिरका केही स्थानको फोहोर व्यवस्थापन गर्ने काम अघि बढाएका छौँ। उपत्यका बाहिर खोप लगाएर निस्केका सिरिन्ज हामीले नजिकैका ठूला अस्पतालमा भएका माइक्रोओभनमा लगेर व्यवस्थापन गर्छौँ।

दैनिक कति फोहोर निस्कन्छ?  

जति संख्यामा खोप लगाइन्छ त्यति नै सिरिन्ज र खोप राखिएका सिसी हुन्छन् भने अलि कम संख्यामा खोप लगाउँदा प्रयोग गरिएको पन्जापिपीसेटहरू हुन्छन्। अहिले विभिन्न प्रदेशहरूमा ठूलो स्तरमा फोहोर नष्ट गर्ने क्षमता विकास गर्न हामी लागिरहेका छौँ।

खोप लगाउँदा निस्केको फोहोरको राम्ररी व्यवस्थापन नगरे कस्तो असर गर्छ?

हामीले यसरी खोप लगाउँदा निस्केको फोहोर राम्ररी व्यवस्थापन गरिएन भने स्वास्थ्य र वातावरणीय तरिकाले असर गर्छ। खोप अभियानबाट निस्कने धेरै फोहोर धारिलो खालका सिरिन्ज हुने र त्यसमा रगत समेत हुने हुँदा, शरीरबाट निस्कने तरल पदार्थ, सूक्ष्म आनुवंशिक सामग्री वा रसायन मिसिएको हुनसक्ने हुँदा यस्तो फोहोरलाई राम्ररी व्यवस्थापन गर्न सकिएन भने विभिन्न खालका संक्रमणको जोखिम हुन्छ। त्यसैले हामीले यस्तो फोहोरलाई अति संवेदनशील फोहोरको रूपमा लिने गरेका छौँ।

यसरी एकैपटक निस्केको यति धेरै फोहोर व्यवस्थापन गर्न के के चुनौती छन्?

एकैपटक धेरै फोहोर त्यो पनि स्वास्थ्यको दृष्टिकोणले अति संवेदनशील मानिएको फोहोर व्यवस्थापन गर्न चुनौती छ। अहिले गाउँगाउँमा रहेका खोप केन्द्रहरूबाट निस्केको फोहोर व्यवस्थापन गर्न अहिले हामीलाई अलि समस्या भइरहेको छ।

मुख्य गरी खोप लगाएर निस्केका सिरिन्ज र सिसीहरू व्यवस्थापनमा चुनौती भइरहेको छ। केही स्थानमा त फोहोरको रूपमा धेरै सिरिन्ज र सिसी जम्मा भइरहेको भन्ने खबर आउँछ। त्यसलाई अब ल्याएर व्यवस्थापन गर्न पनि जटिल छ।

यता हामीले स्वास्थ्यजन्य फोहोरको व्यवस्थापनसम्बन्धी नयाँ मापदण्ड तर्जुमा गरेर प्रधानमन्त्री कार्यालयमा पठाइएका छौँ‚ त्यो अनुमोदन भएपछि अलि सहज हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.