|

एउटा हातमा पुरानो सुटकेश। अर्कोमा भर्खर किनेको मास्कको बट्टा। जडीबुटीबाट चढ्न पाएको थिएन, गाडी उसलाई लडाउला झैँ गरी हुइँकियो।

‘के गरेको यो?’ ऊ भन्दै थियो। ‘के गर्नु दाजु ट्राफिकले देखे चिट काटिहाल्छ’, खलासीले जवाफ दियो, ‘यहाँ रोक्न दिँदैन।’

ऊ हत्तपत्त ड्राइभर नजिकै इञ्जिनमाथिको सिटमा बस्यो, सुटकेशलाई गोडाले अड्याउँदै। जडीबुटीको जामको के कुरा गर्नु, कोटेश्वर छिचोल्न नै १५ मिनेट लाग्यो।

मुखमात्र छोपिएको मास्क घरी माथि सार्थ्यो, घरी चिउँडोमा पुर्‍याउँथ्यो। कहिले घडीतिर हेर्थ्यो, कहिले अगाडिको सडक। उसका हाउभाउ र निधारको रातो टीकाले मलाई आकर्षित गरेको थियो। काला, चहकिला आँखा छिनछिनमै भाव बदलिरहेका थिए। एकै छिनमा चिन्ताग्रस्त देखिन्थे। एकै छिनमा अनेक सपना बुनिरहेको भाव दिन्थे।

गाडी तीनकुने, गैरीगाउँ, सिनामंगल हुँदै अघि बढिरहेको थियो। म उसका अनुहार पढिरहेको थिएँ। अनायास उसका र मेरा आँखा जुधे। लाज मानेझैँ गरेर ऊ तलतिर निहुरियो। मैले तत्काल दृष्टि अन्यत्र मोडें।

‘झर्नेजतिले भाडा हातमा लिएर अगाडि आउनुस् है’, खलासीको बोली खस्न नपाउँदै पैसा बुझायो। जुरुक्क उठ्यो। गाडी राम्ररी रोकिन नपाउँदै ओर्लियो। अगाडिको जेब्रा क्रसिङबाट उसले बाटो काटेको सिसाबाट हेरिरहेँ।

सुटकेश गुडाउँदै ऊ हतार–हतार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलद्वारतर्फ मोडियो। उसको टिसर्टको पृष्ठभागमा लेखिएको रहेछ, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा ठूला हुन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.