जानकार भन्छन्, सरकारको विभेदकारी नीति

|

काठमाडौं : आज मार्च ८ अर्थात अन्तरराष्ट्रिय महिला (नारी) दिवस देशभरि विभिन्न कार्यक्रम गरी मनाइयो। महिलाको योगदानको प्रशंसा गर्दै ५ वटा नारी दिवस मनाइ सक्दा पनि वैदेशिक रोजगारीमा घरेलु कामदारका रुपमा जान महिलामाथि लगाएको प्रतिबन्ध फुकुवा भएको छैन। वैदेशिक रोजगारीमा घरेलु कामदारमा जान महिलालाई लगाएको प्रतिबन्ध हटाउन सरकारले पहल नगरेको सरोकारवालाले आरोप लगाउँदै आएका छन्।

घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा गएका महिला असुरक्षित भएकाले सरकारले ०७३ सालमा प्रतिबन्ध लगाएको थियो। संसदको अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्णयमा खाडी तथा मलेसिया जान लगाएको प्रतिबन्ध ५ वर्षपछि पनि नहटाएको हो। वैदेशिक रोजगारीमा घरेलु कामदारका रुपमा गएका अधिकांश महिलाको मानसिक, शारीरिक, आर्थिक शोषण भएकाले सरकारले रोक लगाएको थियो। प्रतिबन्ध लगाए पनि भारतको बाटो हुँदै विदेशिने नेपाली महिलाको संख्या बढेको छ।

सरकारले घरेलु कामदारका विषयमा विभेदकारी नीति लिएको वैदेशिक रोजगारविज्ञ सोम लुईँटेल बताउँछन्। लामो समयदेखि देखिएको समस्या समाधान गर्न सरकारले बेवास्ता गर्दा मानव तस्करी बढेको उनको भनाइ छ। सरकारले सो समस्या समाधान गर्नुपर्ने महिला अधिकारकर्मीहरूको समेत भनाइ छ। 

नेपाल आए फेरि फर्कन नपाउने डरले महिला श्रमिक स्वदेश आएका थिएनन्। एक पटक गएर फर्केकालाई भने फागुनको पहिलो साताबाट श्रम अनुमति खुला गरेको छ। त्यससँगै वैदेशिक रोजगारीबाट फर्कने महिलाको संख्या बढेको वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालले बताए। 

श्रम सम्झौतामा समेटिँदैनन् महिला कामदार

सरकारले विगत ३ दशकमा मलेसिया, ओमान, कतार, जोर्डन, इजरायल, युएई, बहराइन, जापान, साइप्रस, दक्षिण कोरिया र मरिसससँग सरकारी स्तरमा श्रम समझदारीपत्रमा हस्ताक्षर गरेको थियो। तर जोर्डन, साइप्रसबाहेक अन्य देशमा महिला कामदारको विषय समेटिएको छैन। 

घरेलु महिला कामदार वैदेशिक रोजगारीमा पठाउँदा उनीहरूको सुरक्षा तथा समस्या भएकाले रोजगारीसँगै अन्य सुरक्षाको ग्यारेन्टी भएमात्र सरकारले घरेलु कामदार पठाउन सहज हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए। महिला कामदार वैदेशिक रोजगारीमा पठाउने विषय संवेदनशील भएकोले अन्तरराष्ट्रिय मापदण्डअनुसार सम्झौता हुनुपर्ने उनको भनाइ छ। 

प्रतिबन्धका कारण मानव तस्करी 

चैत ०७३ मा संसदको अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडीका देश र मलेसियामा कार्यरत घरेलु महिला कामदार चरम आर्थिक, मानसिक र शारीरिक शोषण भएको भन्दै ती देशमा महिला कामदारलाई जान रोक लगाएको थियो। यसरी प्रतिबन्ध लगाएसँगै भारतको बाटो हुँदै वार्षिक १ हजारभन्दा बढी महिला खाडी तथा मलेसिया पुग्ने गरेको गैरसरकारी संघ संस्थाले जनाएका छन्। प्रतिबन्ध लगाएसँगै दलालमार्फत महिला कामदार मलेसिया, खाडी गइरहेको श्रम मन्त्रालयको अध्ययन प्रतिवेदनले देखाएको छ।

सरकारले प्रतिबन्ध लगाउँदा बेचबिखनमा पर्ने समस्या देखिएको वैदेशिक रोजगारविज्ञले बताउँदै आएका छन्। श्रम सम्झौतामा घरेलु महिला कामदारको विषय उल्लेख नगरी सरकारले महिलामाथि विभेद गरेको सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले  जनाएको छ। 

मानव तस्करी रोक्ने नीति ल्याउनु पर्छ : विज्ञ लुईँटेल

महिलालाई घरेलु कामदारका रुपमा विदेश जान रोक लगाएपछि मानव तस्करी बढेको वैदेशिक रोजगारविज्ञ सोम लुईँटेल बताउँछन्। यति वेला वैदेशिक रोजगारीमा नीतिगत विभेद देखिएको छ, जसलाई रोक्न नीति परिमार्जन गर्नुपर्ने हुन्छ। 

हालसम्म वैदेशिक रोजगारीसम्बन्धी कानुन बेचबिखनको कानुन छ तर मानव तस्करी नियन्त्रण गर्ने कानुन हालसम्म छैन। यसैले पनि तस्करी बढेको विज्ञ लुईँटेल बताउँछन्। सरकारले प्रतिबन्ध नभएर प्रभावकारी अनुगमन गरी रोजगारीको बाटो खोल्नुपर्ने उनको भनाइ छ। हाल विभिन्न देशमा करिब ११ लाख महिला कामदार रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ। जसमा ४-५ लाख महिला घरेलु कामदार छन्। 

कुन वर्षमा कति महिला कामदार विदेशिए?

चालू आवमा ३ लाख ५१ हजार ५ सय नेपाली वैदेशिक रोजगारीमा गएका छन्। जसमा ३४ हजार ८ सय ३९ जना महिला रोजगारीको खोजीमा विदेश गएको वैदेशिक रोजगार कार्यालयको तथ्यांकले देखाएको छ। 

रोजगारीको खोजीमा श्रम स्वीकृति लिएर विदेश जानेमा सबैभन्दा बढी युएई ११ हजार ४ सय ३९ जना पुगेका छन्। कतारमा ३ हजार ६ सय २२, साइप्रसमा २ हजार कुवेतमा १ हजार ४ सय ५ जना पुगेका छन्। त्यसैगरी बहराइनमा ४ सय ५१ जना नेपाली महिला रोजगारीको खोजीमा गएका छन्। अन्य देशमा रोजगारीको खोजीमा जानेको संख्या कम रहेको वैदेशिक रोजगार कार्यालयका प्रमुख अर्यालले बताए।

गएका दुई वर्षमा कोरोनाको प्रभावका कारण वैदेशिक रोजगारीमा जानेको संख्या कम थियो। १ लाख ६६ हजार ६ सय ५८ जना नेपाली रोजगारीमा विदेश गएका थिए। जसमा ११ हजार ४ सय ५६ जना महिला रोजगारीका लागि विदेशिएका थिए। त्यसैगरी आव ०७६/७७ मा ३ लाख  ६८ हजार ४ सय ३३ वैदेशिक रोजगारी गएका थिए, जसमा २८ हजार ४ सय ३३ जना महिला रोजगारीको खोजीमा विदेश गएका छन्। 

त्यस्तै ०७५/७६ मा ५ लाख ८ हजार ८ सय २५  रोजगारीको खोजीमा विदेश गएका थिए, जसमा ३२ हजार १ सय २३ महिला थिए।  ०७४/०७५ मा  ६ लाख १२ हजार ६ सय ८५ जना रोजगारीको खोजीमा विदेश गएका थिए, जसमा ३२ हजार ९ सय ६४ जना महिला रहेको वैदेशिक रोजगार कार्यालयको तथ्यांकले देखाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.