|

काठमाडौं :  सरकारले कोरोनाका कारण करिब २ वर्षदेखि रोकिएको दक्षिण कोरिया (इपिएस) रोजगारीका लागि भाषा परीक्षा लिने भएको छ। वैदेशिक रोजगार विभागले सोमबार सूचना निकालेर सन् २०२२ का लागि ९ हजार ६ सय ५४ जना छनोट गर्न भाषा परीक्षा सञ्चालन गर्न लागेको जानकारी दिएको छ।  

कोरियाले नेपाली कामदार माग गरेसँगै पुनः भाषा परीक्षा लिने तयारी गरेको जानकारी वैदेशिक रोजगार विभाग इपिएस शाखा प्रमुख पुष्पराज कटुवालले दिए। शाखाका अनुसार परीक्षा २६ वैशाखदेखि २१ असोजसम्म चरणबद्ध रुपमा हुनेछ।

कोरिया र नेपालबीच भएको श्रम समझदारी पत्र (एमओयू) अनुसार कोरियामा नेपाली युवालाई कामदारका रुपमा पठाउन पहिलो चरणको छनोटका लागि भाषा परीक्षा गर्न लागिएको कटुवालले जनाए। उनले भने, ‘उत्पादनमूलक क्षेत्रमा ६ हजार ९ सय १३ र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ७ सय ४१  जना नेपाली  लैजाने गरी भाषा परीक्षा हुनेछ।’ परीक्षाको आवेदन १४ चैतदेखि २१ गतेसम्म अनलाइनबाट लिने शाखाले जनाएको छ।

कसरी गरिन्छ परीक्षा?

कोरियाली भाषा परीक्षा युबिटी (युविक्युट्स बेस टेस्ट) प्रणालीबाट लिइने भएको छ। प्रत्येक परीक्षार्थीलाई कम्प्युटरको सट्टा ट्याब्लेटबाट परीक्षा लिइनेछ। यसअघि नयाँको लागि पिबिटी (पेपर बेस टेस्ट) र कोरिया गएर फर्केकाका लागि सिबिटी (कम्प्युटर बेस टेस्ट) गरिँदै आएको थियो। एक सिफ्टमा २ सय जनाले परीक्षा दिन सक्ने छन्। एक दिनमा ८ सय जनाले परीक्षा दिने व्यवस्था मिलाउने शाखाले जनाएको छ। 

इपिएसअन्तर्गत हालसम्म ७७ हजार नेपाली कोरियामा रोजगारीका लागि गएका छन्। त्यसमध्ये हाल ३५ हजार नेपाली कोरियाका विभिन्न  क्षेत्रमा काम गरिरहेको विभागले जनाएको छ। कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गर्दै आएको छ। नेपालीका लागि भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग गरेको छ।

७ हजार नेपाली कोरिया जाने पर्खाइमा

यसअघि कोरिया भाषा परीक्षा पास गरेका ७ हजार नेपाली कोरिया रोजगारीको प्रतीक्षामा छन्। रोकिएका कामदारलाई ६ महिनाभित्र कोरिया पठाइसक्ने शाखा प्रमुख कटुवालले जानकारी दिए। भाषा परीक्षा सञ्चालन गरे पनि पहिलो प्राथमिकतामा भाषा पास गरेर बसेकालाई दिइने वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए।  

पटकपटक गरी कोरिया रोजगारी खुलेसँगै हालसम्म १ हजार नेपाली कोरिया पुगेका छन्। कात्तिकदेखि हालसम्म २ सय जना नेपाली कोरिया रोजगारीमा पुगेको विभागले जनाएको छ। जसमा १ सय जना कमिटेड छन् भने १ सय जना नयाँ कामदार कोरिया पुगेको विभागको तथ्यांकले देखाएको छ।

कुन वर्ष कति नेपाली पुगे कोरिया?

सन् २००८ देखि इपिएस प्रणालीबाट नेपाली कामदार कोरिया पठाउन थालेसँगै यसमा युवाको आकर्षण बढेको हो। नेपालबाट सन् २०१९ मा ७ हजार १ सय ३६, सन् २०२० मा १ हजार २७ र सन् २०२१ मा ८ सय ३ जना नेपाली रोजगारीका लागि गएको विभागले जनाएको छ।

कति हुन्छ खर्च र आम्दानी?

कोरोना रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न देशले क्वारेन्टाइनको व्यवस्था गरेको थियो। सोहीअनुसार दक्षिण कोरियाले पनि क्वारेन्टाइनको व्यवस्था गरेको थियो। सो अवधिमा क्वारेन्टाइन बस्नका लागि १ लाख ५० हजार खर्च हुने थियो। विभागका अनुसार मासिक २ लाख कमाइ हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.