जनतालाई झुक्याएर फेरि सत्तामा पुग्‍ने उपाय खोज्दै

|

दाङ : आउँदो वैशाख ३० गते देशमा स्थानीय तहको निर्वाचन हुन लागेको छ। निर्वाचनसँगै अहिले गाउँ- गाउँमा विभिन्न पार्टीका पार्टी प्रवेश कार्यक्रम चलिरहेका छन्।

देश संघीयतामा गएपछि पहिलोपटक स्थानीय तहमा जनप्रतिनिधिहरू आएका थिए। तर, उनीहरूले निर्वाचनको समयमा मतदातालाई धेरै आश्वासन दिएको भएय तापनि मतदाताको लागि नभई आफ्नो लागि गरेको भन्दै उनीहरू रुष्ट बनेका छन्।

पाँच वर्षमा पनि विकास शून्य

शान्तिनगर-४ एकलीका भीमबहादुर रोकाले आफ्नो वडामा ५ वर्षको अवधिमा खासै विकास नभएको बताए। उनले करिब ५ वर्षको अवधिमा आफ्ना वडाका जनप्रतिनिधिहरू आफूहरू समस्या बुझ्न नआएको गुनासो गरे।

त्यस्तै, उनले अब फेरि निर्वाचनको मिति तोकिएसँगै गाउँ-गाउँमा जनप्रतिनिधि तथा पार्टीका नेताहरू देखिन थालेको पनि बताए।

उनले भने,‘ एउटा कामले गाउँपालिकामा गएको थिएँ। तर, गाउँपालिका अध्यक्ष भेटिनुभएन। त्यसपछि अहिलेसम्म म गएको छैन। काम गर्नको लागि पनि कसैले कता पठाउँछ। कसले कता सिकाउने मात्र भयो।’

पार्टीभन्दा व्‍यक्ति हेर्छौँ

यसैगरी, उनले आफूहरूले पहिलोपटक पठाएका जनप्रतिनिधिहरू खासै राम्रो काम नगरेको भन्दै अबको निर्वाचनमा पार्टीभन्दा पनि व्‍यक्तिलाई भोट दिने बताए।

उनले भने, ‘अहिलेका जनप्रतिनिधिहरूलाई हामीले राम्रो गर्नु हुन्छ, भनेर जिताएका थियौँ। तर, उहाँहरूले हामीले सोचे जस्तो काम गर्नुभएन। अबको निर्वाचनमा पार्टीलाई होइन। जसले हाम्रो लागि काम गर्नसक्नु हुन्छ। त्यस्ता व्‍यक्तिलाई भोट दिन्छु।’

यस्तै, तुलसीपुर उपमहानगरपालिका १७ का डिल्ली बहादुर रावत पनि अहिलेका जनप्रतिनिधिहरूको कामप्रति सन्तुष्ट छैनन्। ५ वर्षसम्म गाउँघरमा नदेखिएका जनप्रतिनिधिहरूले पार्टी प्रवेश गराउने बहानामा गाउँघरमा देखिन थालेको बताए।

‘जनप्रतिनिधिहरू ५ वर्षसम्म कता लुके, कता बसे। अहिले गाउँ घरमा निर्वाचनको मिति घोषणा भएपछि आउन थालेका छन्। जनताको मन जितेरभन्दा पनि कसरी हुन्छ, जनतालाई भुलभुल्याइ सत्तामा पुग्न तयारी गर्दैछन्' उनले भने।

उनले निर्वाचनको बेला मात्र नभई जनप्रतिनिधिहरू जनताको बीचमा सधैँ आउनु पर्नेसमेत बताए। त्यस्तै उनले क्षणिक लोभ लालच देखाएर पार्टी प्रवेश गराउँदैमा राम्रो नहुने भन्दै जनताको मन जितेर राजनीति गर्नुपर्नेसमेत बताए।

काम देखेर जनाता रुष्ट

त्यस्तै, तुलसीपुर उपमहानगरपालिका १९ बिजौराका मुकेश वलीले पनि जनप्रतिनिधिहरूको काम देखेर नागरिकहरू रुष्ट भएको बताए। उनले अहिलेका जनप्रतिनिधिहरूले निर्वाचनको समयमा नागरिकलाई विभिन्न आश्वासन देखाएको भएयता पनि तीमध्ये केही पूरा भएयता पनि केही उस्तै हुँदा अहिलेका नागरिकहरू रुष्ट बनेको बताए।

उनले भने, ‘नागरिकहरूको चाहना थियो। घर-घरमा सेवा सुविधा पुगोस् र वडा सरकार घर घरमा पुगेर आफूहरूको समस्या बुझ्ने नागरिकहरूको आशा र अपेक्षा थियो। तर, जनप्रतिनिधिहरूले त्यो अनुरूप काम गरेनन्। जसले गर्दा नागरिकको मन पनि जित्न सकेनन्।’

यसैगरी, आफूहरू जनप्रतिनिधिहरूबाट सानासाना विकास निर्माणको अपेक्षा गरेको भएयता पनि उनीहरूले महत्वाकांक्षी योजनाहरू ल्याएर काम गर्न नसक्दा रुष्ट बनेको बताए। यस्‍तै, उनले आउँदा वैशाखमा निर्वाचन हुने भनेसँगै जनप्रतिनिधिहरू घर घरमा टोल-टोलमा आउन थालेको समेत बताए।

जनप्रतिनिधिको अनुभव भएन

शान्तिनगर गाउँपालिका-४ शालिकराम विक कार्यपालिका सदस्य हुन्। उनी नेकपा माओवादी केन्द्रबाट शान्तिनगर गाउँपालिकाको कार्यपालिका सस्दयमा मनोनीत भएका थिए।

अबको केही महिनापछि उनको कार्यकाल सकिन लागेको छ। तर, उनले आफूले जनप्रतिनिधिको महसुस गर्न नपाएको गुनासो गरे। आफ्नो वडामा एमालेबाट वडाध्यक्षमा जितेकाले आफूलाई कुनै पनि कुरा जानकारी नदिएर काम हुने गरेको बताए।

‘म कार्यपालिका सदस्य हुँ' उनले भने, ‘तर, मलाई हाम्रो वडाको विकास निर्माण गर्दा जानकारी गराइन्न। मैले आफ्नो पहलबाट विकास निर्माण गर्दा मलाई पूर्वाग्राही ढंगबाट हेरिन्थ्यो। यो सुगम वडा हो। तर, यहाँ निर्वाचनमा जुन बाचा गरिएको थियो। त्यो अनुसार काम भएको छैन। जसले गर्दा जनताहरू रिसाएका छन्।’

यता, अहिले स्थानीय तहका जनप्रतिनिधिहरू भने प्रदेश, संघको बजेटबाट निर्माण भएको विकासहरू पनि आफूहरूले नै गरेको भन्दै आएका छन्। उनीहरूले आफूहरूले मतदातालाई निर्वाचनमा गरेका बाचाहरू मध्य धेरै पूरा गरेको र थोरै मात्रामा बाँकी रहेको दाबी गर्छन्।

आफूहरूले धेरै विकास गरेको दाबी

त्यस्तै, तुलसीपुर उपमहानगरपालिका-१९ का वडाध्यक्ष माधव वलीले पनि आफूहरू आएपछि धेरै विकास निर्माणको काम गरेको बताए। उनले आफूहरूले जनताहरूको समस्या नजिकबाट बुझेको र त्यहीअनुरूप ५ वर्षको अवधिमा काम गर्दै आएको बताए।

त्यस्तै, उनले २० वर्षसम्म देशमा जनप्रतिनिधिविहीन हुँदा धेरै समस्या भोगेका जनताहरूले आफूहरू आइसकेपछि त्यसबाट मुक्त भएको समेत बताए।

उनले आफ्नो वडामा सडक, स्वास्थ्य, शिक्षा, सिञ्चाइ, खानेपानी जस्ता कुरामा धेरै काम गरेको समेत बताए। त्यस्तै, उनले कुनै न कुनै माध्यबाट जनतासँग जोडिँदै आएको पनि बताए।

जनताको घरदैलोमा नपुगेको भन्नु झुट

त्यस्तै, वडा अध्यक्ष ओलीले जनप्रतिनिधिहरू जनताको घरदैलोमा नपुगेको भन्ने कुरामा सत्यता नभएको दाबी गरे।

उनले भने, ‘अहिले जनताहरूले आफ्नो ठाउँमा जनप्रतिनिधि नआएको भन्ने गुनासो मलाई त्यति सत्यता लाग्दैन। हामी विकास निर्माणको क्रममा होस् वा अन्य कुनै काममा जनतासँग जोडिएर नै काम गरेका छौँ। तर, विकास निर्माणका कामले गर्दा हामीले आवश्यकताअनुसार काम गरेका छौँ। जसले गर्दा उनीहरूले अनुभव नगरेको पनि हुन सक्छ।’

बाँकी माग पूरा हुँदै जान्छन्

त्यस्तै, उनले जनप्रतिनिधिहरूले सानादेखि महत्वकाक्षी योजनाहरू ल्याउनुपर्ने बताए। उनले ५ वर्षभित्रमा सबै समस्याहरू पूरा गर्न नसकिएको भन्दै ती विस्तारै पूरा हुनेसमेत बताए।

यस्तै, महत्वाकांक्षी योजनाहरूले तत्काल नागरिकहरूले महसुस गर्न नपाएका कारण यस्तो गुनासो आएको उनको भनाइ थियो।

मतदाताको समस्या बुझिरहेको दाबी

त्यस्तै, बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले पनि आफू निर्वाचित भएपछि मतदाताको समस्या बुझ्न गइरहेको दाबी गरे।

उनले भने, ‘हामीहरू कुनै न कुनै हिसाबले जनतासँग गएका छौँ। विकास निर्माण गर्दा, टोलसमिति गठन गर्दा हामी पुगेका छौँ। गाउँपालिका अध्यक्ष नपुगे पनि उपाध्यक्ष, वडाअध्यक्ष, सदस्यहरू पुगेका छन्। हामी अहिले पनि जनताको माझमा नै छौँ।’

उनले निर्वाचनको समयमा आफूहरूले गरेका प्रतिबद्धता पत्र हेरेर आफूहरूले अहिलेसम्म गरेका काम र नभएका कामको बारेमा समीक्षा गर्न लागेको पनि बताए। त्यस्तै, उनले आफूहरूले प्रतिबद्धता गरेभन्दा पनि धेरै काम गरेका दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.