विभाग भन्छ- शौचालय अभाव छैन

|

काठमाडौं :  देशको संघीय राजधानी काठमाडौंको मुटुमा रहेको त्रिपुरेश्वरस्थित राहदानी विभागको अत्याधुनिक कार्यालय भवन निकै आकर्षक छ। बाहिरबाट हेर्दा जो कोहीलाई लाग्न सक्छ यो कार्यालय भवन सुविधासम्पन्न छ। तर यहाँको वास्तविकता सोचेजस्तो छैन। सो कार्यालयमा राहदानी बनाउन रातभरि लाइन बस्ने सर्वसाधारणले शौचालय, खानेपानी, पार्किङजस्ता सामान्य सुविधासमेत पाउन सकेका छैनन्। 

विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउन कार्यालयमा दैनिक ३ हजारको हाराहारीमा सर्वसाधारण आउने गरेका छन्। उनीहरूबाट विभागले दैनिक २ करोड रूपैयाँ बराबरको राजश्व प्राप्त गर्ने गरेको छ। सुन्दा सामान्य लाग्ने तर अत्यावश्यक शौचालयसमेत सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन्। जसका कारण पानी खाएर फ्याँकेका बोतलमा शौच गर्न बाध्य भएको उनीहरू गुनासो गर्छन्।

शौचालय छ तर पाइँदैन पालो

राहदानी विभाग परिसरमा बुधबार मध्यान्ह निकै ठूलो भीड लागेको थियो। अनलाइन भरेको फारम बुझाउने, राहदानी लिने, बायोमेट्रिक गर्नेको भीड थियो। सोही भीडमा नुवाकोट घर भएका अमरसिंह तामाङ हातमा कागजपत्रसहितको फाइल बोकेर विभागको कार्यालयमा कुरेको ९ घण्टा भइसक्दा पनि पासपोर्ट हात पार्न सकेका थिएनन्। 

यही ९ घण्टाको बीचमा ३ पटक शौच लाग्यो तर उनले शौचालय गएर हलुका हुन सकेनन्। लाइन छाडेर विभाग बाहिर होटलमा पैसा तिरेर शौच गरेको उनले सुनाए। विभागको सो कार्यालय भवनमा उनी पहिलो पटक आएका हुन्। उनले भने, ‘बाहिरबाट हेर्दा सरकारी कार्यालयजस्तो देखिएको थिएन। पहिलाजस्तो छैन र सबै सुविधा होला भन्ने लागेको थियो। भवन फेरिएछ तर अवस्था जस्ताको तस्तै रहेछ।’

विभागको परिसरमा पनि शौचालय छ। 'तर १० वटा शौचालय ३ हजार मानिसले कसरी प्रयोग गर्न सकिन्छ?,' उनले भने, ‘मलाई भीड देखेर असहज लागेर बाहिर गएँ। यहाँको अवस्था यतिसम्म छ कि पानी खाएको बोतलमा पिसाब गरेर फ्याँक्ने गरेका छन्।’

सेवाग्राहीलाई शौचालयको समस्या राहदानी विभागको पुरानै रोग हो। विभागको कार्यालय लैनचौरमा रहँदा सेवाग्राहीलाई शौचालय नभएको विषयले निकै चर्चा पाएको थियो। नयाँ भवनमा सो समस्या समाधान हुने अपेक्षा गरेका उनीहरूले समस्याबाट छुटकारा पाउन सकेका छैनन्। विभागको नयाँ भवन बन्यो। कर्मचारीको अवस्था फेरियो तर पर्याप्त शौचालय बन्न सकेनन्। 

छैनन् पर्याप्त शौचालय, बोतलमा पिसाब गर्नुपर्ने बाध्यता

राहदानी विभागको कार्यालय गेट नम्बर ३ को नजिकै गत सोमबार बिहान पिसाबले भरिएका एक रास बोतलको फोटो सामाजिक सञ्जालमा भाइरल भयो। शौचालयको अभाव भएकाले बोतलमा नै पिसाब गर्नुपर्ने अवस्था आएको भन्दै सामाजिक सञ्जालमा राखिएको त्यो फोटोले विभागबारे नकारात्मक टिप्पणी भयो। त्यससँगै मंगलबार बिहान ती सबै बोतल हटाइएको विभागका एक कर्मचारी थाहाखबरलाई बताए। 

विभागमा सेवाग्राहीको भीड छ सीमित शौचालयका कारण पानी खाएर फ्याँकेको बोतलमा शौच गर्नुपर्ने अवस्था आएको सेवाग्राहीको गुनासो छ। एकातिर लाइन छोड्दा अरुले पाले मिचिदेलान् भन्ने डर हुन्छ, अर्कातिर शौचालयमा पालो पाइँदैन। सुर्खेतका अजय सुनुवारले भने, ‘अन्तिम विकल्प भनेको पानी खाएर फ्याँकेको बोतल नै हो।’

महिलालाई अझ धेरै समस्या 

विभागमा शौचालय छन् तर पर्याप्त नभएको सेवाग्राही काभ्रेपलाञ्चोक घर भएकी अनिता निरौलाले बताइन्। यति धरै भीड हुने ठाउँमा सीमित शौचालय हुँदा समस्या भएको हो। 

बिहान आउँदा पनि पिसाब गरेर राखेका बोतल देखिएको थियो। उनले भनिन्, ‘पुरुषका लागि त बोतलमा पिसाब गर्न पनि सहज हुन्छ। महिलाले के गर्ने?’ उनले थपिन्, ‘विभागको शौचालयमा पालै पाइँदैन बाहिर जाँदा लाइन छोडेर गयो भने आउँदा फेरि लाइनको अन्तिममा बस्नुपर्ने हुन्छ।’

पार्किङको समस्या पनि उस्तै

बाहिरबाट महलझैँ देखिने विभागको कार्यालयमा सर्वसाधारण (सेवा ग्राही) का लागि सवारी पार्किङको सुविधा छैन। सवारी पार्किङ गर्न धेरै पर पुग्नु परेको सेवाग्राहीको गुनासो छ। त्यसैगरी खानेपानीको पनि सुविधा छैन।  

विभाग भन्छ- शौचालयको समस्या छैन 

राहदानी विभागका निर्देशक शरदराज आरनले विभागमा शौचालयको अभाव नभएको दाबी गरे। 'विभागमा १० वटा शौचालय छन्,' निर्देशक आरनले भने, ‘सेवाग्राहीको चापले गर्दा अभाव देखिएको हो। सबै तलामा शौचालय छ।’ बोतलको नै प्रयोग गर्नुपर्ने अवस्था नभएको उनको भनाइ छ। 

विभागबाहिर पनि शौचालय बनाइरहेको विभागको भनाइ छ।  विभागमा चाप भएकाले शौचालय अभाव देखिएको हो। शौचालय प्रयोग गर्नेको तरिकामा भर पर्ने, शौच गरेर पानी नहाल्ने, गुट्खा खाएर प्यानमा थुक्नेजस्ता क्रियाकलापले गर्दा फोहोर देखिएको आरनको भनाइ छ। 

विद्युतीय पासपोर्ट जारी गरेको ४ महिनामा विभागले १ लाख पासपोर्ट जारी गरिसकेको जानकारी उनले दिए। विभागले मङ्सिर १ गतेबाट विद्युतीय राहदानी वितरण शुरु गरेको थियो। कर्मचारी अभावले सेवाग्राहीलाई छिटो सेवा दिन नसकिएको उनको भनाइ छ। कर्मचारी पर्याप्त भए दुई सिफ्ट काम गरेर भए पनि छिटोछरितो सेवा प्रदान गरिने उनले प्रस्ट पारे। हाल ५८ जिल्लाबाट विद्युतीय राहदानी वितरण शुरु भएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.