|

काठमाडौं : गत चैत ८ गते सिन्धुपाल्चोकका ५३ वर्षीय दासाङ शेर्पा काम विशेषले जोरपाटी चोकदेखि नारायणटार जाँदै थिए।

हतारमा रहेका उनी भिडले भरिएको गाडीमा आफ्नो झोला भुले। झोला सामान्य थिएन्, कालो झोलामा करिब ३ लाख ५० हजार नगद थियो। न त उनलाई गाडी नम्बर नै याद थियो।

जब शेर्पा नारायणटार पुगे। उनले आफ्नो पैसासहितको झोला गाडीमै भुलेको चेत पाए। उनको होस हवास उड्यो।  हतार हतार उनले महानगरीय प्रहरी वृत्त बौद्धमा खबर गरे। वृत्तले आफ्नो मातहत इकाईका प्रहरीहरूलाई उक्त सूचना प्रवाह गर्‍यो।

त्यसपछि प्रहरीले उक्त रुटमा कडा चेक जाँच सुरु गर्‍यो। एकातिर कडाचेक अर्कोतर्फ ती रुटमा पर्ने सबै प्रहरी युनिट सक्रिय भयो।

यसैक्रममा महानगरीय प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरी टोलीद्वारा यात्रुबाहक बसहरू चेकजाँच गर्ने क्रममा रत्नपार्कबाट जहरसिंह पौवासम्म चल्ने  बा४ख ६४३३ नम्बरको यात्रुबाहक बसबाट शेर्पाको हराएको झोला भेटियो।

भेटिएको उक्त झोला र पैसा हराएको केही समयमै भेट्टाएर प्रहरीले शेर्पालाई हस्तान्तरण गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

'सार्वजनिक यातायातका सवारी साधनहरूमा यात्रुका सामानहरू यदाकदा छुट्ने गरेको घटना घटिरहेका हुन्छन्। त्यसबेला सवारी साधनका चालक सह-चालकहरूले उक्त सामानहरु प्रहरीमार्फत सम्बन्धित धनीलाई बुझाउन सहयोग गरेका हुन्छन्।  शेर्पाको नगद र झोलालाई पनि सुरक्षित रुपमा राखेर प्रहरीलाई अनुसन्धान गर्न मद्दत गर्नेप्रति हाम्रो सम्मान छ', एसपी मैनालीले भने, 'उहाँहरू (चालक र सहचालक)ले  प्रदर्शन गरेको सकारात्मक कामको महानगरीय प्रहरी परिसर टेकु उच्च सम्मान प्रकट गर्दछ।'

एसपी मैनालीले गलत नियतले कोही कसैले सवारी साधनमा छुटेका उक्त सामानहरु नबुझाई आफूले नै लुकाई छिपाई लिने र खाने काम नगर्न अनुरोध गरेका छन्।

त्यस्ता खालको काम गरे प्रचलित कानुन: मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२० को दफा २४१ चोरी गर्न नहुने कसुरमा पक्राउ गरी अनुसन्धान गरिने उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.