|

म्याग्दी : देशमा भएको राजनीतिक परिवर्तनपछि गति लिएको विकास निर्माणले धौलागिरि क्षेत्रको पर्यटन विकास तीव्र गतिमा अघि बढेको छ।

करिब  डेढ दशकअघिसम्म लाहुरेहरूको पौरख र कला संस्कृतिको विरासतले परिचित धौलागिरि क्षेत्रको परिचय अहिले भने यतिमा मात्र सीमित नभएर उत्कृष्ट पर्यटकीय गन्तव्यको क्षेत्र भनेर पनि चिनिन थालेको छ।

साविकको धौलागिरि अञ्चलका म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लामा पछिल्लो एक दशकमा दुई दर्जनभन्दा बढी मानव निर्मित र प्राकृतिक पर्यटकीयस्थल पहिचान, व्यवस्थापन र निर्माण भएपछि यस क्षेत्रले पर्यटन विकासमा फड्को मार्दै जान थालेको हो।

कास्की जिल्लाको नयाँ पुल तर्नेबित्तिकै शुरु हुने धौलागिरि क्षेत्रमा अहिले दुई दर्जनभन्दा बढी पर्यटकीयस्थलले आन्तरिक तथा वाह्य पर्यटकको ध्यान खिच्न सफल भएका छन्।

राउण्ड अन्नपूर्णको चर्चित पर्यटकीयस्थल घोडेपानीदेखि लिएर म्याग्दीको टोड्के, खयरवराह, करवाकेली, राम्चे, लभ्लीहिल, गलेश्वर, महारानीथान, तातोपानी कुण्डहरू, ताकमकोट, ज्यामरुककोट, डढेकोट, जगन्नाथ, झाँक्रीपानी, पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने गरी निर्माण भएको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प यसका उदाहरण हुन्। अझ विश्वको दोस्रो लामो जिपलाइन गुप्तेश्वरधामलगायत बागलुङ र मुस्ताङका दर्जन बढी पर्यटकीयस्थलमा पूर्वाधार निर्माण र चुस्त व्यवस्थापनले पर्यटक आकर्षित भएका हुन्।

त्यसैगरी बागलुङ कालिका, विश्वकै लामो झोलुंगे पुल, पञ्चकोट, सालग्राम संग्रहालयजस्ता मानवनिर्मित धार्मिकस्थल तथा आध्यात्मिक केन्द्रको रहरलाग्दो व्यवस्थापन र प्रचारप्रसारले पनि धौलागिरि क्षेत्रको मुहार उजिल्याउन सहयोग पुगेको छ।

मुस्ताङ जाने बाटोमै विश्वकै अलौकिक तीर्थस्थल गलेश्वरधाम, म्याग्दीको दानास्थित रुप्से झरनाले पनि पर्यटकलाई लोभ्याउने गरेका यस क्षेत्रका पर्यटन व्यवसायीको भनाइ छ।

त्यसैगरी हिमालपारिको जिल्ला भनेर चिनिएको मुस्ताङको विविधतायुक्त भूगोल, हिमश्रृङ्खला, ढुम्बा ताल, कागबेनी र हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ र यहाँका रमणीय स्थलले धार्मिक र यायावरि पर्यटकहरूको ध्यान खिच्न सफल भएको छ।

यानीमाया, सुनिमाया, सालैजो, झ्याउरे गीत र विभिन्न संस्कार तथा संस्कृतिले चिनिएको यस क्षेत्रलाई अब धार्मिक तथा पर्यटकीय गन्तव्यले पनि चिनाउन थालेको बागलुङका सक्रिय पत्रकार डम्मरबहादुर बूढामगरले बताए।

पर्यटकीय क्षेत्रमा विकासका पूर्वाधार बनेपछि पर्यटकको आगमनसमेत उत्साहपूर्ण छ। यसले व्यवसायीलाई पनि उत्साहित बनाएको छ। करिब डेढ वर्ष कोरोनाका कारण बन्द भएका यी गन्तव्य पुनः तंग्रिन थालेका छन्। कोरोनाका बीचमा पनि धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रमा संरचना निर्माण भएका छन्। लगानीकर्ताले पनि यो समय पर्यटन क्षेत्रमा धेरै लगानी गरेका छन्।

करिब २ वर्षअघि सञ्चालनमा आएको पर्वतको सदरमुकाम कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीको खोँचमा बनेको विश्वकै अग्लो बञ्जीजम्प धौलागिरि क्षेत्रको पर्यटन विस्तारमा कोसेढुंगा साबित भएको छ।

बञ्जीजम्पमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको र संरचना निर्माण गर्न झण्डै ४८ करोड खर्च भएको थियो। कालीगण्डकीदेखि पुलको उचाइ २ सय २८ मिटर छ। द क्लिप प्रालिको यो परियोजनापछि स्विट्जरल्यान्डलाई पछि पार्दै यो विश्वकै अग्लो बञ्जीजम्पका रूपमा स्थापित भएको सञ्चालकको दाबी छ। कोरोनाले गर्दा बाह्य पर्यटक भित्रिन नसकेको भन्दै आन्तरिक पर्यटकको भने चहलपहल बढ्दै गएको छ।

झोलुंगे पुलको आकर्षण

बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै लामो दाबी गरिएको झोलुंगे पुल सञ्चालनमा आएपछि पर्यटकहरूको आकर्षण बढेको छ। यो पुल ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर अग्लो रहेको छ। पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण कालीगण्डकी करिडोरको केन्द्रमै पर्ने यो पुल आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। पुलमा दैनिक सयौँ आन्तरिक पर्यटकको आगमन हुने गरेको छ भने फाट्टफुट्ट बाह्य पर्यटकसमेत आउने गरेको स्थानीयको भनाइ छ।

पुल ७ करोड ९७ लाख ८६ हजार रूपैयाँ लागतमा निर्माण भएको थियो। झोलुंगे पुल सञ्चालनमा आएपछि पर्यटन व्यवसाय फस्टाउन थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताए।

घोडेपानी पुनहिलमा बढ्यो चहलपहल

मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरधाममा जस्तै, अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ।

कोरोना संक्रमणको बढ्दो जोखिमसँगै विसं २०७७ चैतदेखि घोडेपानी, पुनहिल क्षेत्र सुनसान भएको थियो। अघिल्ला दुई वसन्त र शरद याम कोरोना संक्रमणले सुनसान बनाएको थियो।

घोडेपानी टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजाले दुई वर्षपछि विदेशी पर्यटक आउन थालेका बताए। ‘वसन्तको शुरूवातसँगै घोडेपानी र पुनहिल भ्रमणमा आउने पर्यटकको चहलपहल बढेको छ’, उनले भने, ‘केही दिनयता दैनिक २० जनाको हाराहारीमा विदेशी र ६० जनाको हाराहारीमा आन्तरिक पर्यटक यहाँ आएका छन्।’ पर्यटक आगमन बढ्न थालेकोमा खुशी लागेको उनको भनाइ छ।

अध्यक्ष गर्बुजाका अनुसार वसन्तको समयलाई पर्यटक आउने मौसमको रूपमा लिइन्छ। यो समयमा यहाँको पर्यटकीय क्षेत्रहरूमा भीड लाग्ने गर्छ। व्यवसायीले पनि राम्रो आम्दानी गर्छन्। तर, कोरोना संक्रमणको जोखिम बढेसँगै दुई वर्षदेखि होटेल तथा पर्यटन व्यवसाय धरापमा परेको छ। यस वर्षदेखि भने पर्यटकको सङ्ख्या बढ्दै जाने र होटेल तथा पर्यटन व्यवसाय लयमा आउने अनुमान गरिएको छ।

समुद्र सतहदेखि ३ हजार २ सय मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, हिमाल र लालीगुराँसको जङ्गल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन्।

अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुद्र सतहदेखि २ हजार ८ सय मिटरको उचाइमा अवस्थित छ। घोडेपानीदेखि ३० मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ। चैत–वैशाखमा वरपरका पाखामा फूलेको लालीगुराँसको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, नीलगिरि, गुर्जा, मनास्लु, माछापुच्छ्रे, मानापाथीलगायत १६ वटा हिमालको अवलोकन गर्न सकिन्छ।

यस क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छ। घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले आफू पर्यटकको पर्खाइमा रहेको बताइन्। स्वदेशी पर्यटक आकर्षित गर्न सहुलियतको व्यवस्था मिलाएको उनले बताइन्। उपसमितिको बैठकले घोडेपानीमा रहेका २७ वटा होटललाई सुविधा र पूर्वाधारको आधारमा दुई समूहमा वर्गीकरण गरेको छ। ११ होटललाई (क) र १६ लाई (ख) समूहमा वर्गीकरण गरेर फरक–फरक दररेट बनाइएको हो। 

मुस्ताङमा पर्यटकको बढ्यो चहलपहल

हिमालपारिको जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ। कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटनले फेरि गति लिन थालेको हो। केही दिनयता म्याग्दी हुँदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको चाप बेनी–जोमसोम सडकमा बढेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोमस्थित कार्यालयका प्रमुख ऋषि बरालले अहिले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिए।

‘सडक र हवाईमार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ’ उनले भने, ‘थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको उपस्थिति बढेको छ।’ म्याग्दी भएर दैनिक ५० बस, १ सय ५० जिप र २ सयका दरले मुस्ताङमा पर्यटकका सवारीसाधन भित्रने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी प्रमुख इन्द्रबहादुर नेपालीले बेनीको कालीपुल पोष्ट र भुरुङ तातोपानीस्थित सीमा प्रहरी चौकीले मुस्ताङ भित्रने र बाहिरिने सवारीसाधनको अभिलेख राख्ने गरेको बताए।

कोरोनाविरुद्धको खोपको पहुँच बढेपछि संक्रमण घटेको, पर्यटकीयस्थलमा लगाइएको प्रतिबन्ध हटाएर खुला गरिएको र अनुकूल मौसमका कारण पनि पर्यटकको चहलपहल बढेको हो। मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, लेतेलगायत पर्यटकीयस्थलमा अहिले पर्यटक जमघट देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.