|

दाङ : आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलले तालमेल गरेर जाने भन्ने केन्द्रीय तहमा समझदारी भएपछि जिल्लामा पनि दलहरूले सोही तयारी गर्न थालेका छन्।

जिल्लाका १० स्थानीय तह मध्ये २०७४ सालको निर्वाचनमा नेकपा एमालेले ६ वटा, नेपाली कांग्रेसले ३ र नेकपा माओवादी केन्द्रले १ स्थानीय तहमा जितेका थिए।

आउँदो वैशाख  ३० गते हुन लागेको निर्वाचनमा केन्द्रको निर्णयअनुसार नै जिल्लामा तालमेल गरेर जाने गठबन्धनमा सहभागी रहेका दलहरूले बताएका छन्। 

हामी केन्द्रको निर्णय अनुसार जान्छौँ : नेकपा माओवादी

नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटी अध्यक्ष खुशीराम चौधरीले केन्द्रमा तालमेल गर्ने निष्कर्षमा पुगेपछि आफूहरू पनि त्यही अनुसार जाने बताए। 

उनले भने, ‘निर्वाचनमा कांग्रेस र एकीकृत समाजवादी लगायत पाँच पार्टीसँग तालमेल हुँदा एक अर्का पार्टीका कार्यकर्ताहरूले भोट नदिने भन्ने पनि शंका छ यद्यपि यो गठबन्धन सरकारसँग जोडिएको विषय हो। यहाँसम्म आइपुग्दा पनि विभिन्न शङ्काको बीच मै आइएको छ तर पनि हामी तालमेल गर्ने पक्षमा छौँ’।

निर्वाचनमा आम मतदाताहरूले उम्मेदवार हेर्ने भएकाले पनि भोट पाउने र अहिलेसम्म गठबन्धन हुँदा कसैले धोका नदिएको पनि उनले बताए। उनले भने, ‘भर्खरै तुलसीपुरमा २ वटा खानेपानी संस्थाको निर्वाचनमा गठबन्धन भएको थियो र त्यसमा गठबन्धनले सजिलै जित हासिल गरेका छन्। ’

केन्द्रको कार्यविधि अनुसार अगाडि बढ्छौँ : कांग्रेस

नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीले केन्द्रमा पाँच दलले बनाएको कार्यविधि अनुसार नै जिल्लामा अगाडि बढ्ने बताए। उनले हालसम्म पार्टीबाट जिल्लामा कसरी जाने भन्ने निर्देशन नआएको र त्यस अनुसार नै आफूहरु अघि बढ्ने जानकारी दिए। 

उनले भने, ‘पाँच दलको तालमेल गर्ने केन्द्रमा सहमति बनेको छ तर हाम्रो पार्टीले जिल्लामा कसरी जाने भन्ने निर्देशन दिइसकेको छैन्। निर्देशन अनुसार नै हामी यहाँ चुनावमा जाने हो। अहिले नै जिल्लामा यसरी जान सकिन्छ, भन्ने अवस्था छैन्।’

त्यस्तै, नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले जिल्लाको निर्देशन अनुसार नै गठबन्धन गरेर जाने बताए। उनले गठबन्धन गरेर जाने वा नजाने र कुन तहमा गर्ने भन्ने जिम्मा जिल्ला कार्यसमितिलाई भएको हुँदा त्यसै अनुसार आफुहरु पनि जाने जानकारी दिए।

त्यस्तै उनले पार्टीले निर्देशन गरेपछि पाँच दलसँगको गठबन्धनमा नेपाली कांग्रेसका मतदाताले धोका नदिने समेत बताए। उनले यसअघि भएको राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन हुँदा आफ्नो पार्टीबाट पनि मत दिएको र अरु पार्टीबाट पनि मत आएको भन्दै यसमा धोका कसैले नदिने जिकिर गरे।​

गठबन्धन ब्यक्तिगत नभई मुलुकको आवश्यकता होः  नेकपा एस

पाँच दलको गठबन्धन ब्यक्तिको लागि नभई मुलुकको आवश्यकता रहेको  नेकपा (एकीकृत समाजवादी )का जिल्ला उपसचिव जानका रेग्मीले बताइन्।

उनले मुलुकको आवश्यकता अनुसार नै अहिले पनि गठबन्धन अगाडि बढेको भन्दै नेतृत्व तहमा एक खालको समस्या हुँदा पनि देश, नागरिक र संविधानको संरक्षणको लागि भएको भन्दै आफूहरू पार्टीको निर्देशन अनुसार नै स्थानीय तहमा काम गर्ने बताइन्।  

‘हाम्रो पार्टी छुट्टै तरिकाले अगाडि बढ्दैन, एक खालको शक्तिले जुन अराजकता पैदा गर्न खोजेको छ। त्यसका लागि नै गठबन्धन हुने हो। हामीलाई सबै मतदाताहरूले साथ दिनुहुने छ ’ उनले भनिन्।

त्यस्तै पार्टीका जिल्ला प्रचार विभाग प्रमुख दीपक कुमालले पनि केही दिन अगाडि जिल्ला कमिटीको बैठक बसेर पाँच दल बीच गठबन्धन गरेर जाने कुरा भएको बताए।

उनले तालमेल गर्ने विषयमा नगर तथा पालिका स्तरीय कमिटीलाई जिम्मा दिएको पनि जानकारी दिए।  

त्यस्तै उनले नेकपा एमालेबाट फुटेर आएपछि जिल्लामा पनि आफ्नो पार्टी बलियो हुँदै गएको भन्दै जिल्लाको १० स्थानीय तह मध्ये केही तहमा आफूहरूले पाउनै पर्ने समेत दाबी गरे। 

उनले  भने,‘ जिल्लाका केही तहमा हामी एक्लै लडेर जित्न सक्ने अवस्था छ।  अहिले हाम्रो पार्टीको संगठन बलियो हुँदै गएको छ। त्यसैले केन्द्रको सर्कुलर अनुसार  गठबन्धन भएपछि हामीलाई जुन पालिका जिम्मा आउँछ, त्यसै अनुसार अगाडि बढ्छौँ। ​

हामीले जित्ने ठाउँमा एक्लै लड्छौँ, नजित्नेमा तालमेल हुन्छ : जसपा

जनता समाजवादी पार्टी नेपालका तुलसीपुर नगर अध्यक्ष टोप बहादुर महताराले पार्टीको निर्देशन अनुसार नै गठबन्धन हुने बताए।

उनले पार्टीले स्थानीय तहलाई पूर्णरुपमा गठबन्धन गर्ने जिम्मेवारी दिएको भन्दै आवश्यकता अनुसार गठबन्धन गरेर जाने जानकारी दिए। उनले आफ्नो पार्टीका उम्मेदवारहरूले एक्लै जित्ने ठाउँहरुमा गठबन्धन गर्ने भन्दै अन्य आवश्यक पर्ने ठाउँमा पाँच दलको गठबन्धन बनाएर जाने पनि उल्लेख गरे।

 त्यस्तै उनले गठबन्धनमा कुनै पनि पार्टीका उम्मेदवारहरू समाजले पत्याउने खालको र काम गर्न सक्ने हुनु पर्ने बताए।

उनले भने, ‘गठबन्धनको नाममा पाँच दलको साझा उम्मेदवार काम गरेर देखाउन सक्ने हुनुपर्छ। जस्तो पाए त्यस्तै ब्यक्ति आएमा हामी मान्दैनौँ। हामीले गठबन्धन गर्दा पनि जसपाको चुनावी चिन्ह छाता लिएर गर्छौँ। हामी हाम्रै चिन्हबाट चुनावमा लड्छौँ।’ 

त्यस्तै उनले जसपाले उम्मेदवार उठाउँदा समाजले पत्याउने व्यक्तिलाई मात्र प्राथमिकतामा राख्ने बताए। ​

अहिलेको गठबन्धन अपवित्र होः एमाले

नेकपा एमाले तुलसीपुरका नगर अध्यक्ष माधव वलीले पाँच दलको गठबन्धन अपवित्र भएको बताए। उनले यो गठबन्धन नैतिक हिसाबले पनि अनैतिक भएको भन्ने आम जनताले बुझेकाले आफूहरु नै पहिलो पार्टी हुने दाबी गरे। 

उनले भने, ‘यो गठबन्धन गर्ने दलहरु झूटका शक्ति हुन्।  सत्य एमाले एक्लैले बोकेको छ। यो सत्यका विरुद्ध लड्नलाई आएको गठबन्धन हो। यसलाई कुनै पनि विवेकी जनताले साथ दिँदैनन्।’ 

उनले केन्द्र वा जिल्लामा कुनै पनि पार्टीसँग गठबन्धन गरेर जानु भन्ने आधिकारिक कुरा नआएको बताए। 

आफूहरू एकल रुपमा निर्वाचनमा जाने भएता पनि भूगोल विशेषमा कहीँ कतै त्यस्तो ठाउँमा वामपन्थी दलसँग एकता गरेर जाने कुरा आएमा त्यही अनुसार हुन्छ। 
नत्र एकल रुपमा चुनाव लड्ने योजना रहेको उनको भनाइ छ। ‘अहिलेसम्म हामीलाई कुनै निर्देशन आएको छैन, हामी एकल रुपमा निर्वाचनमा जाने र जित्ने मनस्थितिमा छौँ।’  

तुलसीपुर उपमहानगरमा अहिले पनि आफूहरू पहिलो पार्टी रहेको र अहिले  एमालेप्रति जनताको आकर्षण बढ्दो भएका कारण फेरि पनि पहिलो पार्टी नै बन्ने दाबी गरे।

त्यस्तै उनले नेकपा एस  पार्टीले आफूहरुलाई थोरै असर गर्ने भन्दै एकाध नेताहरु यता उता भएको समेत बताए। 

एमालेले हाल राम्रो काम गरेका जनप्रतिनिधिहरूलाई पुनः दोहोर्याउँदा राम्रो हुन्छ, भन्ने स्थिति रहेको भन्दै उनले नयाँ  अनुहारलाई पनि ठाउँ दिने जानकारी दिए त्यस्तै, गठबन्धनले आफूहरुलाई घाटा भन्दा पनि फाइदा पुग्ने र उम्मेदवारको नाम पनि सर्वसम्मत ढंगले नै सिफारिश गर्ने उनले दाबी गरे। 

नेकपा एमालेका तुलसीपुर ५ का वडाध्यक्ष पदम पोखरेलले आउँदो बैशाख ३० गते हुन लागेको निर्वाचनको भव्य तयारीमा आफूहरू जुटेको बताए। उनले अहिले एमालेमा जनलहर बढेको भन्दै आफूहरू नै विजयी हुने जिकिर गरे।

त्यस्तै उनले पाँच दलले आफूहरुलाई कमजोर ठानेर गठबन्धन गरेको भन्दै आफूहरू एकल लडेर नै जित्ने दाबी गरे। 

उनले पार्टीको माथिल्लो निकायबाट अन्य दलहरूसँग गठबन्धन गरेर जाने निर्णय आएपछि मात्र त्यही अनुसार जाने र नत्र एकल लड्ने तयारी भएको जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.