|

म्याग्दी : म्याग्देली महिलाहरुको राजनीतिमा सहभागिता बढ्दै गएपनि उपल्लो तहका पद हरुमा भने पुरुषहरुकै वर्चश्व कायम रहेको छ।

हाल जिल्लाको पाँचवटा स्थानीय तहका प्रमुखमा पुरुष र उपप्रमुखमा मात्र महिलाहरु रहेका छन्। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भने महिलाहरुले प्रमुख पद पाउनुपर्ने दावी गर्दै आएका छन्।

म्याग्दीमा सक्रिय ठूला राजनीतिक दलका नेतृत्व तहमा महिलाको संख्या पर्याप्त छैन। नीति निर्माणको तह र समतामूलक समाज निर्माणमा पनि समस्या देखिएको महिला अधिकारकर्मीहरूको भनाइ रहेको छ।

राजनीतिमा महिला सहभागिता बढ्दै गए पनि मूल नेतृत्वमा महिलाहरूको सहभागिता क्लस्टरमा मात्रै सीमित रहने गरेकोले आशातीत परिणाम दिन नसकिएको रघु गंगा गाउँपालिका उपप्रमुख कमला तिलिजाले बताइन्।

म्याग्दीको मालिका गाउँपालिका– ५ की वडा अध्यक्ष पिपला बूढा जिल्लाका ४५  वटै वडामध्ये एक्ली महिला वडा अध्यक्ष हुन। कोटा निर्धारण भएअनुसार नै महिलाहरूलाई ठाउँ दिइने गरेको नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित बूढाले बताइन्।

त्यसैगरी मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमाया बिटालु खारिएकी राजनीतिक नेतृतमा पर्छिन।  उनले भनिन् ‘म गाउँपालिका अध्यक्षमा उठ्ने सोच बनाएकी छु, पार्टीले न्याय गर्छ भन्ने विश्वासमा छु।’

पछिल्लो समय जिल्लाको राजनीतिमा महिलाहरुको प्रभाव बढ्दै गएको छ। संघ सरकारमा महिला तथा बालबालिका मन्त्री भैसकेकी थममाया थापा र गण्डकी प्रदेश सरकारमा सामाजिक विकास मन्त्री भएकी नरदेवी पुन हुन।

पालिका तहमा धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन, नेपाली कांग्रेसकी नेतृ विमला गौचन, बिना खड्का, अमृत देवी बानियाँ, मनकुमारी विसी, बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवाल लगाएतका महिलाहरुको जिल्लामा राम्रो प्रभाव रहेको छ।

उसो त २०७४ सालको स्थानीय तह निर्वाचनमा विभिन्न दलबाट निर्वाचित मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमाया बिटालु, मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, रघुगंगा गाउँपालिकाकी कमला तिलिजा र अन्नपूर्ण गाउँपालिकाकी केशमाया मगर र बेनी नगरपालिकाको उपप्रमुखमा सञ्जु बरुवालको राजनीति प्रभाव र कार्यशैली सन्तोषजनक देखिए पनि दलहरुले भने प्रमुखमा हत्तपत्त विश्वास गरिहाल्ने मनसाय भने देखिदैन।

जिल्लाको मालिका गाउँपालिकाकी उपप्रमुख  खरमाया बिटालु आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुखको दाबेदार रहेको बताउँछिन्। उनले भनिन् ‘पार्टीभित्र गाउँपालिका प्रमुखको टिकट ल्याउन संघर्ष जारी छ। पाँच वर्ष उपप्रमुखको हैसियतमा काम गरेँ, अब प्रमुखको लागि दाबी हो।’

बिटालुले नेकपा एमालेबाट चुनाव जितेकी हुन्। महिलाहरूको अधिकार स्थापित गर्नका लागि महिलाहरूको नेतृत्व आवश्यक छ भन्ने कुरा यहाँका महिला मतदाताहरूले बुझिसकेको उनको भनाइ छ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष केशमाया मगरले पनि आफू अध्यक्षको उम्मेदवार रहेको दाबी गर्छिन्। कांग्रेसबाट निर्वाचित मगर भन्छिन् ‘उपाध्यक्ष भएर काम गर्दा नेतृत्वमा महिला नभएर धेरै समस्या खेप्नु पर्याे।

महिलाको लागि कार्यक्रमहरू ल्याउन पनि सकस भयो। त्यसैले आफूले अध्यक्षको लागि पार्टीमा कुरा उठाउँदै आएकी छु।’म्याग्दीमा पुरुषको तुलनामा महिला मतदाताहरूको संख्या बढी छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार म्याग्दीमा आगामी चुनावमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी मतदाता कायम भएको छ।

जिल्लाको ६ वटै स्थानीय तह र ४५ वटा वडामा जनप्रतिनिधि चुन्नका लागि मतदान गर्न ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

विभेदकारी सोच भएको समाजलाई समतामूलक बनाउनको लागि स्थानीय तहहरूमा महिला नेतृत्व आवश्यक भइसकेको छ नेपाली कांग्रेस म्याग्दीकी नेतृ बिमला गौचनले बताइन्।

उनले भनिन् ‘पार्टीमा महिलाहरूको योगदान पनि उत्तिकै हुन्छ। महिलालाई नेतृत्वका लागि टिकट दिन कञ्जुस्याइँ गरिनु हुँदैन।’ समावेशीताका हिसाबले महिलाहरूलाई ठाउँ दिइँदै आएकाले मुख्य जिम्मेवारी प्रदान गर्न पार्टीले निर्णय गर्ने नेपाली कांग्रेस म्याग्दीका उपसभापति के वि भण्डारीले बताए।

यता, नेकपा एमालेले पनि संविधानले अधिकारको प्रत्याभूत गरेको हुनाले महिलाहरूलाई पनि अवसर दिने बताएको छ।‘मुख्य पदमै भन्ने छैन, महिलाहरूलाई छुटाइँदैन,’नेकपा एमाले म्याग्दीका एक नेताले भने।

म्याग्दीको स्थानीय तहको चुनावमा महिलाहरू नै निर्णायक रहेको आँकलन गरिएको छ। कामको सिलसिलामा पुरुषहरू बाहिर रहेका हुनाले मतदान गर्ने महिलाहरूको सहभागिता बढी हुने गरेकाे छ।

२०७४ सालको  स्थानीय तह निर्वाचनमा महिलाको राजनीतिक समावेशीकरणको अनुसन्धान विषयक संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को रिपोर्टमा मेयर, वडाध्यक्ष जस्ता प्रमुख पदमा दुई प्रतिशत मात्रै महिला प्रतिनिधित्व भएको देखाएको छ।

तर वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भने नेतृत्व तहमा नै महिलाहरुको दाबी बढी हुने देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.