बिमाबापत ३९ प्रतिशतले लिए सेवा

|

काठमाडौं : नेपालमा हालसम्म  ५३ लाख नेपाली स्वास्थ्य बिमामा आबद्ध भएका छन्। सरकारी तवरबाट ६ वर्षअघि सुरु गरिएको स्वास्थ्य बिमामा हालसम्म ५३ लाख ४ हजार २७० जना नेपाली आबद्ध भएका हुन्।

सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न २०७२ चैत २५ बाट स्वास्थ्य बिमा कार्यक्रम संचालन गरेको थियो।

कैलालीबाट सुरु गरिएको यो कार्यक्रम अहिले ७७ जिल्ला र ७४५ स्थानीय तहमा यो सुरु भइसकेको छ। काठमाडौं र ललितपुरका गरी विभिन्न आठवटा स्थानीय तहमा भने यो स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छैन।

३९ प्रतिशत बिमितले लिए स्वास्थ्य सेवा

स्वास्थ्य बिमा कार्यक्रमको वार्षिकोत्सवको पूर्व-सन्ध्यमामा आज काठमाडौंमा आयोजित कार्यक्रममा बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले स्वास्थ्य बिमामा आवद्ध भएका मध्य  ३९ प्रतिशत अर्थात् २० लाख ८९ हजार ५९९ जना बिमितले सेवा लिएको बताए।

‘हालसम्म ३९ प्रतिशत बिमितले बिमा गरेबापत उपचार सेवा लिनुभएको छ' उनले भने।

हालसम्म देशका २० प्रतिशत जनसंख्या स्वास्थ्य बिमामा आबद्ध भइसकेको समेत उनले बताए। उनले ६ लाख ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध रहेको बताए।

उनले सबैभन्दा बढी प्रदेश एकमा ३७ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशमा ४.९३ प्रतिशत मात्र नागरिक स्वास्थ्य बिमामा आबद्ध भएको सुनाए।

बिमामा आबद्ध हुने संख्या बढे पनि गुणस्तरीय सुविधाका लागि भने केही चुनौती रहेको उनले बताए। ‘हामीले सीमित पूर्वाधारसहित यो कार्यक्रम संचालन गरिरहेका छौँ जसले गर्दा पनि हामीलाइ सेवा दिन गाह्रो भएको छ' कार्यकारी निर्देशक बसौलाले भने।

४ अर्ब दाबी भुक्तानी बाँकी

बिमा कार्यक्रम सुरु भएको ६ वर्षको अवधिमा हालसम्म १६ अर्बभन्दा बढी दाबी भुक्तानी भएको समेत निर्देशक बसौलाले बताए।

‘हाल ४ सय ४१ वटा स्वास्थ्य संस्थाबाट बिमाबापत सेवा लिन पाइन्छ यसरी बिमितहरूलाई सेवा दिएबापत हालसम्म अस्पतालहरूलाई हामीले १६ अर्बभन्दा बढी भुक्तानी गरिसकेका छौँ भने ४ अर्ब दाबी भुक्तानी गर्न बाँकी छ’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.