मुख्यमन्त्रीले गरे अनुगमन

|

धनगढी :  धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खुलेको छ। संघीय सरकारले योजना कार्यालय स्थापना गर्दै निर्माण गरिरहेको सडकको ट्रयाक निर्माण शुरु भएको १४ वर्षपछि खुलेको हो। धनगढीदेखि दिपायलसम्म ८५ किलोमिटर ट्रयाक खोलिएको योजना प्रमुख लक्ष्मण रावलले बताए।

‘मोड सुधार र केही ठाउँमा ग्रेडको काम मात्रै बाँकी छ’, रावलले भने, ‘धनगढीदेखि दिपायलसम्म फास्ट ट्रयाक नै भएर गाडी चलाउन मिल्ने गरी सडक तयार भइसकेको छ।’ उनका अनुसार अहिले पनि ८ वटा ठेक्का चालू अवस्थामा छन् भने केहीको अवधि सकिएको छ।

‘६ वटा ठेक्कामार्फत सडक सुधारको काम भइरहेको छ भने बाँकी दुई ठेक्कामार्फत कालोपत्रेको काम थालिएको छ’, उनले भने, ‘धनगढीदेखि कैलाली खण्डमा १३ किलोमिटर र डोटीमा ९ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का भइसकेको हो।’

१४ वर्षमा पूरा हुँदै सडक सपना

२०६५ सालमा धनगढीका केही युवाले विभिन्न संस्थाको सहयोगमा कैलालीको खुटियादेखि दिपायल जोड्ने सडकको सर्भे गरे। धनगढी–डडेल्धुरा–डोटीको सडकभन्दा आधा छोटो हुने देखिएपछि द्रुतमार्गको रूपमा अगाडि बढाउने योजना भयो। उपभोक्ता समितिमार्फत उक्त सडक निर्माण गर्न सम्भव नभएपछि नेपाल सरकारले नै २०६६।०६७ बाट वार्षिक नीति तथा कार्यक्रम र त्यसपछि बजेटमा उक्त योजनालाई समावेश गरेको थियो। त्यसयताका अधिकांश वार्षिक नीति, कार्यक्रम तथा बजेटमा उक्त योजनाले स्थान पायो तर कामले भने गति लिन सकेन।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५।०७६ को बजेट भाषणमा पनि खुटिया–विपीनगर–दीपायल सडक अटायो। बजेट भाषणको १६९ नम्बरमा भनिएको थियो, ‘खुटिया–विपीनगर–दिपायल सडकसहित देशका सातवटा लोकमार्ग सर्वेक्षण गरी सुरुङमार्ग निर्माण प्रारम्भ गरिनेछ।’

सुरुङमार्गको योजना अगाडि नबढे पनि द्रुतमार्गअन्तर्गत ट्रयाक खुलेपछि कैलालीको पहाडी क्षेत्र, डोटी, अछाम, बाजुराका बासिन्दालाई सहज हुने अपेक्षा गरिएको छ। ट्रयाक खुलेसँगै कैलाली र डोटीमा द्रुतमार्गको सपना बुन्दै बनाएका बगैँचामा फलेका कृषि उपजले बजार पाउने अपेक्षा पनि गरिएको छ।

यद्यपि सडक निर्माणका क्रममा पटकपटक स्वामित्व विवाद पनि देखिएको थियो। संघीय सरकारले ०७५ मंसिर ४ गते सडक निर्माणको जिम्मा प्रदेश सरकारलाई दिएको थियो तर त्यसको दुई महिनापछि माघ २१ गते संघीय सरकारले उक्त योजना खोसेको थियो।

मुख्यमन्त्रीले गरे अनुगमन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी–दिपायल द्रुतमार्गको अनुगमन गरेका छन्। द्रुतमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिका-१ क्षेत्रमा मुख्यमन्त्री भट्टले सडकको अनुगमन गरेका हुन्। सो क्रममा स्थानीयसँग कुराकानी गर्दै मुख्यमन्त्री भट्टले ट्रयाक खोल्ने काम सम्पन्न भएको बताउँदै भने, ‘चौडा बनाउँदै सडक व्यवस्थित गर्ने काम छिट्टै हुन्छ।’

उनले गत वर्ष नै ट्रयाकको काम सम्पन्न भइसक्नुपर्नेमा केही ढिलाइ भएको बताए। यसअघि मुख्यमन्त्री भट्टले ०७५ कात्तिकमा पनि द्रुतमार्गको अनुगमन गरेका थिए। ‘नेपाल सरकारले राष्ट्रिय गौरवको योजनामा राख्दै पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने हो’, ०७५ कात्तिकमा द्रुतमार्गको कैलाली खण्ड अनुगमन गर्ने क्रममा मुख्यमन्त्री भट्टले भनेका थिए, ‘आगामी जेठ महिनाभित्रै धनगढीदेखि दिपायलसम्म यातायात सञ्चालन हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.