मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि बजेट अभाव

|

धनगढी : सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र रूपमा थालिएको छ। प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयहरूले आसन्न स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेका हुन्।

प्रदेशका ८८ स्थानीय तहका १ हजार १३५ मतदानस्थलमा २ हजार १०३ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था मिलाउन थालिएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले बताए। ‘३० गते हुने निर्वाचनका लागि प्रदेशका सबै निर्वाचन कार्यालयले वैशाख ८ गते बिहीबार जिल्लाका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै छन्’, उनले भने, ‘अहिले निर्वाचनका लागि आवश्यक सामग्री मतदान केन्द्रमा पुगाउने काम भइरहेको छ।’

प्रदेशमा रहेका ८८ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित ७३४ वडाध्यक्ष र २ हजार ९३६ वडा सदस्यका लागि हुने निर्वाचनबाट कुल ३ हजार ८४६ जना जनप्रतिनिधि निर्वाचित हुनेछन्। सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी मतदाता र मतदान केन्द्र रहेका छन्। कैलालीका १३ पालिकामा ६१९ मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक चार हजारभन्दा बढी कर्मचारी खटिनेछन् भने कञ्चनपुरका ९ पालिकाका ३४१ मतदान केन्द्रमा १ हजार ८ सयभन्दा बढी कर्मचारी खटिने छन्।

कञ्चनपुरमा पनि निर्वाचनको तयारी तीव्र भइरहेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका सूचना अधिकारी भानबहादुर महराले बताए। ‘कञ्चनपुरमा पनि बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम छ’, उनले भने, ‘निर्वाचन सामग्री चार पालिकामा पुगाउने काम भएको छ भने बाँकीमा आजसम्म पुर्‍याउँछौँ।’

निर्वाचन आयोगको कार्यतालिकाअनुसार बाजुरा जिल्लामा पनि सबै पालिकाको केन्द्रमा बिहीबार नै मतदान अधिकृतको कार्यालय स्थापना गर्ने तयारी छ। मतदान अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचन सामग्री र सुरक्षाकर्मीसमेत निर्वाचन अधिकृतको कार्यालयमा खटिने जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताए। ‘बाजुराका ९ स्थानीय तहका निर्वाचन केन्द्रको अनुगमन सम्पन्न भएको छ’, उनले भने, ‘हामीले निर्वाचन सामग्री खरिद गरिसकेर मतदान केन्द्रमा पुर्‍याउँदै छौँ।’

सुदूरपश्चिममा यो वर्ष १६ लाख ३२ हजार १५० मतदाताले स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका छन्। तीमध्ये ८ लाख ३१ हजार ४७० महिला, ८ लाख ६६२ पुरुष र १८ जना तेस्रो लिङ्गी रहेका छन्।

मत बदर बढ्ने चिन्ता
सुदूरपश्चिममा मतदाता शिक्षाको अभाव सधैँ देखिने गरेको छ। विगतमा सम्पन्न विभिन्न निर्वाचनमा मत बदर भएका थिए। मतदाता शिक्षाको कमीले नै ती मत बदर हुने गरेको छ।

विगतमा निर्वाचन आयोगले नै गाउँगाउँमा स्वयंसेवक खटाएर मतदाता शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको थियो तर वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आयोगले उक्त कार्यक्रम सञ्चालन नगरेपछि मत बदर हुने आशंका बढेको नेपाली कांग्रेस कैलालीका सचिव केशव मिश्रले बताए।

‘मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न आवश्यक थियो’, उनले भने, ‘अब हामी गठबन्धनको तालमेल पूरा भएपछि चुनाव चिह्नसहित मतदाता शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्छौं।’

यो वर्ष निर्वाचन आयोगले पनि मतदाता शिक्षा कार्यक्रम स्थगित गरेको छ तर दलहरूले यस विषयमा ध्यान दिन सकेका छैनन्। त्यसकारण पनि आउने निर्वाचनमा मत बदर हुने आशंका गरिएको छ। मत माग्न मात्रै केन्द्रित हुने राजनीतिक दलले मतदाता शिक्षा सम्बन्धी आमनागरिकलाई अहिलेसम्म पूर्ण ज्ञान दिन सकेका छैनन्। पार्टीको घरदैलो कार्यक्रमा पनि मतदाता शिक्षा सम्बन्धी प्रचार हुने गरेको छैन।

दलहरूले भने यस विषयमा आ–आफ्नै दाबी गरेका छन्। नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतन थापाले उम्मेदवार तयार भएपछि घरदैलो कार्यक्रम शुरु गर्ने बताए। ‘निर्वाचन आयोगले पनि यो कार्यक्रम चलाउने हो तर सरकार र निर्वाचन आयोग चुनाव गर्न तयार छैन’, उनले भने।

यता विगतका निर्वाचनमा घरदैलोसहित उक्त कार्यक्रम गर्दै आएको निर्वाचन आयोगको दाबी भने फरक छ। मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा समस्या नहुने भनाइ निर्वाचन आयोगको छ।

उक्त कार्यक्रम सञ्चालनका लागि बजेट अभाव भएको बताइएको छ तर नमुना मतदान, प्रचारप्रसार गरेर निर्वाचन आयोगले आफ्नो जिम्मेवारी पूरा गरिरहेको आयोगका प्रदेश प्रमुख प्रेमराज भट्टले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.